राजनीति

‘परमादेश जारी गर्ने प्रधानन्यायाधीश र सबै न्यायाधीशको अनुहार उस्तै’

इकागज |
कात्तिक ८, २०७८ सोमबार २०:२९ बजे

बिर्तामोड – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानन्यायाधीशमात्र नभएर परमादेश जारी गर्ने सबै न्यायाधीशको अनुहार उस्तै रहेको तर्क गरेका छन् ।सोमबार गृहजिल्ला झापाको गौरादहमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् । 

पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले जनताले न्याय पाउने सर्वोच्च निकाय सर्वोच्च अदालत गुटबन्दीको अखडा भएको भन्दै दुःख व्यक्त गरे । ‘न्यायाधीशहरू आफैं गुट, उपगुट, आरोप र प्रत्यारोपमा उत्रिएर दुनियाँमा कहीँ नभएको जात्रा देखाइरहेका छन् । सर्वोच्च अदालत सट्टा पट्टामा चलेको छ,’ ओलीले भने, ‘प्रधानन्यायाधीशले कहिले परमादेश जारी गरेर दुनियाँमा नभएको जात्रा देखाइरहेका छन् । कहिले गुटबन्दी, कहिले सट्टापट्टाको कुरा सुनिन्छ। हामी सबैले विश्वास गर्ने, कोही भएन भने न्याय पाउँछौं भनी विश्वास गर्ने ठाउँमा न्यायाधीश आफैं आरोप–प्रत्यारोपमा छन् ।’


ओलीले प्रधानन्यायाधीशले सत्ता गठबन्धनसँग मिलेर न्यायको हुर्मत लिइएको आरोपसमेत लगाए ।  ‘प्रधानन्यायाधीशले सत्ता गठबन्धनसँग मिलेर अदालतको हुर्मत लिने काम भइरहेको छ,’ उनले भने, ‘न्यायलाई सट्टापट्टाको अखडा बनाएपछि जनताको आँखामा अदालतको सम्मान घटेको छ ।’


Author

थप समाचार
x