राजनीति

‘प्रधानन्यायाधीशलाई अब सर्वाेच्चमा प्रवेश दिइनुहुँदैन’

सन्तोष अधिकारी |
कात्तिक ९, २०७८ मगलवार १६:३८ बजे

काठमाडौँ – नेपाल बार एसोसियसनको सल्लाहकार समितिको बैठकले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले राजीनामा नदिए बहसमा सहभागी नहुने निष्कर्ष निकालेको छ । आज बसेको समितिको बैठकले प्रधानन्यायाधीशको पदमा राणा कुर्सीमा रहुन्जेल बहस नगर्ने निर्णय गरेको वरिष्ठ अधिवक्ता शम्भु थापाले जानकारी दिए । 

‘उहाँ प्रधानन्यायाधीश रहुन्जेल हामी बहस गर्दैनौँ । सर्वाेच्चभित्र राजनीतिक भित्र्याउने, राजनीति गर्ने त प्रधानन्यायाधीश नै हुन् नि,’ थापाले भने, ‘अलि पहिले सर्वाेच्च बारले सोध्दा गजेन्द्र हमाल कांग्रेसबाट हो मैले सिफारिस गरेको होइन भनेर कसरी भन्नु भयो उहाँले ? कसरी थाहा भो उहाँ मन्त्री बन्न लागेको कुरा ? त्यसैले साँठगाँठ भएको हामी व्यवसायीहरुको ठहर छ ।’   


त्यस्तै अर्का कानुन व्ययसायी टिकाराम भट्टराईले बार सल्लाहकार बैठकमा ऐतिहासिक एकता कायम भएको पनि बताए । उनले सल्लाहकार समितिको बैवठकमा बोल्ने ३७ मध्ये ३६ जना अधिवक्ताले प्रधानन्यायाधीशले राजीनामा गरेर मार्ग प्रशस्त गर्नुपर्ने भनाइ राखेको जानकारी दिए । ‘आज बोल्ने ३७ जनामध्ये ३६ जनाकै प्रधानन्यायाधीशले न्यायपालिकाको प्रतिष्ठा गिराएकाले अविलम्ब राजीनामा गर्ने सुझाब रह्यो,’ भट्टराईले भने, ‘बारको सुझावअनुसार राजीनामा गर्नु भएन भने देशव्यापी आन्दोलन गर्ने सुझाव सल्लाहकार समितिले नेपाल बारलाई दिएको छ ।’

त्यस्तै अर्का अधिवक्ता ओमप्रकाश अर्यालले त प्रधानन्यायाधीशलाई अदालतभित्र प्रवेश नै दिन नहुने बताए । ‘उहाँलाई अब अदालतभित्र प्रवेश दिइनु हुँदैन । उहाँले बद्नियत राखेर पेसी तोकियो भने त्यहाँ बस्नु हुन्छ त ?,’ अर्यालले भने, ‘अरु न्यायाधीशले भागबण्डा मागेको होइन नि । भागशान्ति त प्रधानन्यायाधीशले गरेको हो नि । संवैधानिक इजलास पनि त्यस्तै बन्धक बनाउने उहाँ हो नि ।’

अर्यालले प्रधानन्यायाधीश राणालाई पदमुक्त मात्रै होइन अनुसन्धान गरी कानुनी कठघरामा उभ्याउनुपर्ने पनि बताए । ‘पदमुक्त मुक्तमात्रै होइन उहाँमाथि अनुसन्धान गरेर कानुनी कठघरामा उभ्याउनुपर्ने भयो,’ आजको बैठकपछि उनले भने, ‘अधिवक्ताहरु इजलासमा बहसका लागि छैनौँ भनेपछि हामी अब सडकमा छौँ । देशभर जहाँबाट अनुकुल हुन्छ त्यहीबाट भद्र आन्दोलन गर्छाैँ ।’   
 


Author

सन्तोष अधिकारी

अधिकारी राजनीति तथा अन्य समसामयिक विषयमा कलम चलाउँछन् ।


थप समाचार
x