राजनीति

बागमती प्रदेशकी मुख्यमन्त्री शाक्यद्वारा संसद्‌मै राजीनामाको घोषणा

इकागज |
कात्तिक १०, २०७८ बुधवार १४:२५ बजे

 


काठमाडौँ – बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पदबाट राजीनामा दिएकी छन् । आजको बागमती प्रदेश सभाको बैठकलाई सम्बोधन गरेर शाक्यले राजीनामा घोषणा गरेकी हुन् ।    


‘नेकपा एमालेको अल्मतकै सरकार भए पनि केही विकासका काम गरेका छौँ । सबैले यो ठाउँसम्म, छोटो समयमा पनि उपलब्धीमुलक काम गर्न सहयोग गर्ने सभामुख, उपसभामुख, मन्त्रीहरु, राजनीतिक दलका सबै नेता, प्रदेश सभाका सदस्य, सुरक्षा निकायका सबै, राष्ट्रसेवक कर्मचारी, सञ्चारकर्मी, संघ संस्था सबैलाई यति बेला सम्झना गर्छु । हृदयदेखि नै धन्यावाद दिन चाहन्छु’ उनले भनिन्, ‘नेपालको संविधान १६९ (१) (क) अनुसार मैले आज मुख्मन्त्रीको नाताले मार्ग प्रशस्त गरेको छु ।’ शाक्य भदौ २ गते बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त भएकी थिइन् । 

उनले आजै प्रदेश प्रमुखसमक्ष राजीनामा पत्र बुझाउने बताइएको छ । आजको बैठकमा मुख्यमन्त्रीले संसद्मा दर्ता गरेको विश्वासको मतमाथि मतदान हुने कार्यसूची थियो । तर, शाक्यले मतदानअघि नै राजीनामाको घोषणा गरेकी हुन् ।  ‘दोस्रो कार्यसूची रहेछ यहाँ किन जानुपर्याे । हामी संस्कार बनाऔँ’ उनले भनिन् ।  

उनले समृद्ध नेपाल र सुखी नेपाली बनाउने अभियानमा सबै राजनीतिक दल मिल्नुको विकल्प नभएको उनको भनाइ छ । ‘समृद्ध नेपाल र सुखी नेपाली बनाउनको लागि हामी नमिली सुखै छैन । त्यसैले हामी मिलेर अघि बढौँ,’ उनले भनिन्, ‘अहिले परिस्थिति विथोलिन, लोकतन्त्र कमजोर बन्न खोजेको प्रश्न जनताको मनमा पनि हाम्रो मनमा पनि छ ।  हामीले यो संसद्को गरिमालाई बचाउन जरुरी छ ।’ 

उनले आफू राजनीतिक आन्दोलनमा होभिएको दिनको सम्झना गर्दै अहिलेको राजनीतिक उपलब्धी महत्वपूर्ण भएको पनि बताइन् । ‘म ०३६ सालमा आफ्नो सबै कुरा, घर परिवार, पढाइ छोडेर, परिवर्तनको लागि त्याग गरेर आन्दोलनमा लाग्नुपर्छ भनेर होभिएको हुँ । आज त्यो दिन झलझली याद आउँछ । त्यो त्याग खेर गएको छैन । हामी सबैको यस्तै त्यागले हामी यो ठाउँमा आइपुगेका हौँ’ उनले भनिन् । 

शाक्यको सम्बोधनपछि सभामुखले प्रदेश सभा बैठक अर्को सूचना जारी नहुन्जेलका लागि प्रदेश सभा बैठक स्थगित भएको बताए ।


Author

थप समाचार
x