राजनीति

बागमतीमा मुख्यमन्त्री दाबीका लागि बिहीबार ३ बजेसम्मको समयसीमा

राजेन्द्र पाण्डेद्वारा सांसदबाट हस्ताक्षर लिन सुरु

इकागज |
कात्तिक १०, २०७८ बुधबार १६:३८ बजे

हेटौंडा - बागमती प्रदेशमा नयाँ मुख्यमन्त्री दाबीका लागि बिहीबार ३ बजेसम्मको समयसीमा तोकिएको छ । नयाँ सरकार गठनका लागि बिहीबार दिउँसो ३ बजेसम्म मुख्यमन्त्री पदमा दाबी गर्न प्रदेश प्रमुख यादवचन्द्र शर्माले आह्वान गरेका छन् ।

मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बुधबार पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख शर्माले बहुमत सांसद्को दाबीसहति नयाँ मुख्यमन्त्रीलाई सरकार गठनका लागि आह्वान गरेका हुन् । नेकपा एमालेका तर्फबाट २ भदौमा मुख्यमन्त्री नियुक्त शाक्यले ७१ दिनपछि बुधबार पदबाट राजीनामा दिएकी हुन् । बागमती प्रदेशमा नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्र पाण्डे मुख्यमन्त्री बन्ने चर्चा छ ।


बागमतीमा अब संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त हुनेछन् । बागमती प्रदेशमा स्पष्ट बहुमत नरहेको अवस्थमा प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रदेश सभा सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्रीमा नियुक्त गर्ने कानुनी व्यवस्था छ । 

बागमती प्रदेशमा केन्द्रमा जस्तै नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीको गठबन्धन छ । गठबन्धनको तर्फबाट एसका पाण्डे मुख्यमन्त्री बन्ने सम्भावना छ । मुख्यमन्त्रीमा समर्थनका लागि पाण्डेले सांसदहरूको हस्ताक्षर संकलन सुरु गरेका छन् । बागमती प्रदेश सभामा कांग्रेसका २२, नेकपा एसका १३ र माओवादीका २३ गरी ५८ जना सांसद छन् ।


Author

थप समाचार
x