राजनीति

खैरहनीमा एमाले विवाद मिल्यो, इच्छाकामना र रत्ननगरमा नेतृत्व चयन

इकागज |
कात्तिक १०, २०७८ बुधवार २०:१२ बजे

चितवन – नेकपा एमालेको १०औं महाधिवेशनअन्तर्गत चितवनका सात मध्ये छ पालिकामा अधिवेशन सम्पन्न भएको छ । तीन पालिकामा भने अझै पनि कमिटीको नेतृत्व चयन हुन सकेको छैन । खैरहनी नगरपालिकामा मंगलबार देखिएको विवाद बुधबार मिलेको छ ।

इच्छाकामना गाउँपालिका र रत्ननगर नगरपालिकामा एमालेले नयाँ नेतृत्व चयन गरेको छ । नेतृत्वका लागि सहमति हुन नसकेपछि रत्ननगरको अधिवेशन बुधबारसम्मको लागि स्थगित भएको थियो । इच्छाकामनामा बुधबार मात्रै अधिवेशन भएको हो । भरतपुर महानगरपालिकामा कात्तिक १५ गते अधिवेशन हुने छ ।


कालिका, राप्ती र माडी नगर कमिटीको नेतृत्वमा अझै पनि सहमति जुटेको छैन । जिल्ला स्तरका नेताहरू सहमति जुटाउने भन्दै लागि परेका छन् । माडीमा सम्भवतः शनिबारसम्म सहमति जुट्ने एमाले माडीका नेता श्याम विष्टले बताए ।

खैरहनीमा सहजीकरण कार्यदल संयोजक जेएन थपलियाले मंगलबार पूर्णबहादुर डल्लाकोटीको  नेतृत्वमा घोषणा गरेको नगर कमिटीले नै मान्यता पाएको छ । थपलियाले एकलौटी रूपमा कमिटी घोषणा गरेको भन्दै कार्यदलकै सदस्य केशव कँडेलको समूहले असन्तुष्टि जनाउँदै समानान्तर कमिटी घोषणा गरेको थियो ।

जिल्ला र स्थानीय तहका नेताहरूबीच आगामी दिनमा कमीकमजोरी नदोहोर्‍याउने सहमति भएपछि डल्लाकोटीको नेतृत्वकै कमिटीलाई मान्यता दिइएको कँडेलले बताए । ‘अधिवेशनको विधि प्रक्रिया पुरा नगरेपछि सौहार्द वातावरण बनाउन भन्दै साथीहरूले आवाज उठाउनुभएको थियो’, उनले भने, ‘मंगलबार देखिएका कमीकमजोरी नदोहोर्‍याउने विषयमा जिल्ला र स्थानीय तहका नेताबीच सहमति भएपछि विवाद मिलेको छ ।’

खैरहनी नगर कमिटीको उपाध्यक्षमा छत्र सुवेदी र सचिवमा गोपाल परियार रहेका छन् । दुई जना सहसचिवपछि थप गर्नेगरी ५७ सदस्यीय नगर कमिटी बनाइएको हो ।रत्ननगर नगर कमिटीको अध्यक्षमा ईश्वरीप्रसाद अर्याल चयन भएका छन् । ७५ सदस्यीय नगर कमिटीको उपाध्यक्षमा पुष्प जोशी, सचिवमा शिवराज सुवेदी तथा सहसचिवमा सागर मिश्र र अरुणा कट्टेल चयन रहेका छन् । एमाले इच्छाकामना गाउँ कमिटीको अध्यक्षमा कृष्णप्रसाद सिलवाल चयन भएका छन् । ७५ सदस्यीय कमिटीको उपाध्यक्षमा नरबहादुर नेपाल, सचिवमा अञ्जना अधिकारी, सहसचिवमा बोधबहादुर गोले र लक्ष्मण चेपाङ रहेका छन् ।


Author

थप समाचार
x