राजनीति

माओवादीबाट विजयी धनकुटाका दुई वडाध्यक्ष पार्टीबाट निष्काशित

इकागज |
कात्तिक २४, २०७८ बुधबार १८:४७ बजे

धनकुटा – नेकपा माओवादी केन्द्रबाट विजयी धनकुटाको धनकुटा नगरपालिका र महालक्ष्मी नगरपालिकाका एक, एक जना वडाध्यक्ष पार्टीबाट निष्काशित भएका छन् । माओवादी केन्द्रले धनकुटा नगरपालिका ९ बेलाहाराका वडाध्यक्ष मनोज रायमाझी (सन्दीप) र महालक्ष्मी नगरपालिका ३ का वडाध्यक्ष भरत थापालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको हो ।

रायमाझी र थापा दुवै अन्य पार्टी प्रवेश गरेका कारणले पार्टीको विधानको धारा ५७ को (ञ) अनुसार पार्टीबाट निष्काशन गरिएको माओवादी धनकुटाका संयोजक ऋषिराम ढुंगानाले बताए । उनीहरूलाई वडाअध्यक्ष पदबाट पनि हटाउन जिल्ला कमिटीले गरेको सिफारिस प्रदेश कमिटीमार्फत केन्द्रमा पुगेपछि निर्वाचन आयोगलाई जानकारी गराइने र आयोगले उनीहरूको पद खारेज गर्ने कानुनी व्यवस्था छ ।


पार्टीविरोधी गतिविधि गरेपछि पटक–पटक लिखित स्पष्टीकरण लिइएको तर पार्टी विरोधी गतिविधि नरोकिएपछि विधि प्रक्रिया पूरा गरेर पार्टीबाट निष्काशनको निर्णय गरिएको जिल्ला संयोजक ढुंगानाले जानकारी दिए । महालक्ष्मी ३ का वडाध्यक्ष थापा ९ कात्तिकमा एमाले प्रवेश गरी एमाले महालक्ष्मी नगर कमिटीको सचिव बनेका छन् भने धनकुटा ९ वडाध्यक्ष रायमाझी एमालेको गतिविधिमा सक्रिय रहेका छन् ।


 


Author

थप समाचार
x