राजनीति

एमाले पाँचथर स्थानीय तहको अधिवेशन सम्पन्न

निर्वाचन र सहमतिबाट नेतृत्व चयन

इकागज |
कात्तिक २६, २०७८ शुक्रबार १५:४० बजे

पाँचथर– पाँचथरमा निर्वाचन र आपसी सहमतिका आधारमा नेतृत्व चयन गर्दै नेपका एमाले स्थानीय तहको अधिवेशन सम्पन्न भएको छ । जिल्लको आठमध्ये एक स्थानीय तहमा निर्वाचन र अन्यमा सहमतिबाट नेतृत्व चयन गर्दै एमालेले स्थानीय तह अधिवेशन सम्पन्न गरेको हो ।

एमालेले देशव्यापी रूपमा कात्तिक दोस्रो सातामा पालिका अधिवेशन सक्ने जनाए पनि बाढी र पहिरो प्रकोपका कारण पाँचथरमा अधिवशन हुन सकेको थिएन । एमाले पाँचथरले मंगलबारदेखि स्थानीय तहको अधिवेशन थालेर शुक्रबार सम्पन्न गरेको हो । जसमध्ये एक स्थानीय तहको नेतृत्व चयनमा मात्रै मतदान भएको छ । बाँकी सबै स्थानीय तहमा सहमतिमा नयाँ नेतृत्व चयन भएको एमाले पाँचथर जिल्ला कमिटीका उपसचिव नरबहादुर गुरुङले जानकारी दिए । 


एमालेले कुम्मायक गाउँपालिकामा निर्वाचनमार्फत नयाँ नेतृत्व चयन गरेको छ । गाउँपालिका कमिटीको अध्यक्ष पदमा सहमति जुट्न नसकेपछि आयोजक कमिटीका अध्यक्ष मेघराज निरौला र कुम्मायक गाउँपालिका-४ का वडाध्यक्ष पूर्णकुमार खड्काबीच चुनावी प्रतिस्पर्धा गरेको थियो । गाउँपालिका कमिटीको अधिवेशनमा भाग लिएका एक सय २० जना प्रतिनिधि मतदानमा सहभागी थिए । मतदानमा निरौला ९७ मत ल्याई विजयी भएका छन् भने खड्काले २३ मत प्राप्त गरेका छन् । अध्यक्ष बाहेकका पदाधिकारीमा भने सहमति भएको छ । जसअनुसार गाउँपालिका कमिटीको उपाध्यक्षमा रिजवन सम्बाहाम्फे, सचिवमा रुपेश शेर्मा र उपसचिवद्वयमा छवीकुमारी ढकाल र इन्द्र चेम्जोङ निर्वाचित भएका छन् । 

फिदिममा एमालेले जलकुमार तामाङको अध्यक्षतामा ७५ सदस्यीय नयाँ नगर कमिटी चयन गरेको छ । बिहीबार सम्पन्न अधिवेशनबाट उक्त कमिटीको उपाध्यक्षमा हेमबहादुर फागो, सचिवमा दीपेन्द्र तुम्बापो र उपसचिवद्वयमा दीपेन्द्र थापा मगर र सुमन चापागाइँ छन् । एमाले स्थायी कमिटीका सदस्य समेत रहेका संविधानसभाका अध्यक्ष एवं एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको प्रमुख आतिथ्यतामा अधिवेशन उद्घाटन भएको थियो । 

हिलिहाङ गाउँपालिकामा मदन गौतमको अध्यक्षतामा एमालेको ५१ सदस्यीय गाउँपालिका कमिटी निर्वाचित भएको छ । उक्त कमिटीको उपाध्यक्षमा दीपक सुहाङ, सचिवमा भीमप्रसाद हेम्ब्या र उपसचिवद्वयमा शिवप्रसाद दंगाल र वीरेन्द्र मंग्राती छन् । यस्तै, फालेलुङ गाउँपालिकामा नन्दकुमार आङ्थुपोको अध्यक्षतामा ५१ सदस्यीय गाउँपालिका कमिटी निर्वाचित भएको एमाले पाँचथरका उपसचिव गुरुङले जानकारी दिए । उक्त कमिटीको उपाध्यक्षमा हरिप्रसाद चौहान, सचिवमा पुष्प तिम्सिना र उपसचिवद्वयमा पनिता राई र मानबहादुर खड्का छन् ।

फाल्गुनन्द गाउँपालिकामा एमालेले विनोद आङदेम्बेको अध्यक्षतामा ५१ सदस्यीय गाउँपालिका कमिटी निर्वाचित गरेको छ । उक्त कमिटीको उपाध्यक्षमा पूर्णकुमार नेम्वाङ, सचिवमा सन्दीपविक्रम नेम्वाङ र उपसचिवमा विकास चेम्जोङ छन् । एमालेले तुम्बेवा गाउँपालिकामा डिल्लीराम बुढाथोकीको अध्यक्षतामा ५१ सदस्यीय गाउँपालिका कमिटी चयन गरेको छ । कमिटीको उपाध्यक्षमा तेजचन्द्र सम्बाहाम्फे, सचिवमा कमल थापा र उपसचिवद्वयमा इन्द्र कुरुम्बाङ र गणेश सम्बाहाम्फे चयन भएका छन् ।

मिक्लाजुङ गाउँपालिकामा फणिन्द्र घिमिरेको अध्यक्षतामा एमालेको ४८ सदस्यीय गाउँपालिका कमिटी निर्वाचित भएको छ । बिहीबार राति सम्पन्न बन्दसत्रबाट मिक्लाजुङ–६ का वडाध्यक्ष घिमिरेको अध्यक्षतामा सहमतिमा नयाँ कमिटी चयन भएको हो । कमिटीको उपाध्यक्षमा सन्दीप राई, सचिवमा दिनेश खनाल र उपसचिवद्वयमा नरेन्द्र फियाक र मणि थेगिम छन् । 

याङवरक गाउँपालिकामा सन्तप्रसाद बेघाको अध्यक्षतामा एमालेको ५१ सदस्यीय गाउँपालिका कमिटी चयन भएको छ । शुक्रबार बिहान सम्पन्न अधिवेशनबाट सहमतिमा नयाँ नेतृत्व चयन भएको एमाले पाँचथरका सचिवालय सदस्य एवं याङवरक गाउँपालिका अध्यक्ष लेखनाथ घिमिरेले जानकारी दिए । नवनिर्वाचित कमिटीको उपाध्यक्षमा रामकुमार योङहाङ, सचिवमा डिल्ली सुवेदी र उपसचिवमा वुद्धि सेलिङ (अनिष) र नरबहादुर खड्का निर्वाचित भएका छन् । 

अधिकांश युवा

एमालेले स्थानीय तहको नेतृत्वका अधिकांश पदमा युवालाई स्थान दिएको छ । एमाले पाँचथर जिल्ला कमिटीमा हाल १ सय ९५ सदस्य छन् ।  तर, नवनिर्वाचित गाउँ तथा नगर कमिटीका अधिकांश पदाधिकारी उक्त जिल्ला कमिटीका सदस्यहरू हुन् । एकमात्रै संघीय निर्वाचन क्षेत्र भएकाले आगामी अधिवेशनबाट जिल्ला कमिटी ६५ सदस्यीय हुने भएपछि युवा गाउँ तथा नगरपालिकाको कार्यकारी जिम्मेवारीमा रहेका हुन् ।


Author

थप समाचार
x