राजनीति

कर्णाली प्रदेशमा मन्त्रीपरिषद् विस्तार लम्बियो

इकागज |
कात्तिक २९, २०७८ सोमबार १७:१० बजे

सुर्खेत – कर्णाली प्रदेशका मुख्यमन्त्री जीवन शाहीले मुख्यमन्त्री बनेको दुई साता बित्दासमेत मन्त्रीपरिषद् विस्तार गर्न सकेका छैनन् । आठ मन्त्रालय रहेको कर्णाली प्रदेशमा मुख्यमन्त्री शाहीले चार मन्त्रालय आफुसँगै राख्ने र सत्ता साझेदार दलहरू नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीलाई २, २ वटा मन्त्रालय दिने तयारी गरेपछि मन्त्रीपरिषद् विस्तार लम्बिएको हो ।

सत्ता साझेदार दल माओवादी केन्द्रले चार मन्त्रालय र नेकपा एसले तीन मन्त्रालय माग गरे पनि मुख्यमन्त्री शाही सत्ता साझेदार दलहरूलाई २, २ वटा मन्त्रालय मात्र दिन तयार भएका हुन् । प्रदेश सरकार सहमतिका आधारमा हस्तान्तरण गरेकाले आफूहरूले चार मन्त्रालय पाउनुपर्ने पूर्वमन्त्रीसमेत रहेकी माओवादी नेतृ सीता नेपालीले बताइन् ।


 ‘हामीले सहमति कार्यान्वयन गरेका छौं । कांग्रेसले मुख्यमन्त्री र एक मन्त्रालय मात्रै पाउनु पर्ने हो,’ उनले भनिन्, ‘हामीले चार मन्त्रालय र एकीकृत समाजवादीलाई दुई मन्त्रालय दिनुपर्ने हुन्छ । अहिले कुनै छलफल भएको छैन ।’ मन्त्रीपरिषद् विस्तार गर्न मुख्यमन्त्रीले चाहेमा जुनसुकै बेलामा पनि सत्ता साझेदारहरू मन्त्री हुने सांसदहरूको नाम दिन तयार रहेको उनले बताइन् । 
 
कांग्रेसले पार्टीको आन्तरिक विवाद मिलाउन मुख्यमन्त्रीसहित तीन वटा मन्त्रालय आफुसँग राख्न खोजेका कारण अहिले मन्त्रीपरिषद् विस्तार हुन नसकेको एसका एक सांसदले बताए । ‘खै किन हो ? उहाँ (मुख्यमन्त्री शाही)ले अहिलेसम्म औपचारिक रूपमा बैठक बोलाउनु भएको छैन । उहाँ कहिले अनुगमनका नाममा कहिले केही नाममा उहाँ घुमिरहनु भएको छ,’ उनले भने,  ‘मन्त्रीपरिषद् विस्तारमा उहाँले खासै चासो देखाउनु भएको छैन ।’ कर्णालीमा सबैभन्दा ठुलो दल माओवादी केन्द्र रहेको छ । शाहीले १६ कात्तिकमा मुख्यमन्त्रीको सपथग्रहण गरेका हुन् ।


Author

थप समाचार
x