राजनीति

शेखरलाई सभापतिको उम्मेदवार घोषणा गर्न तयार भएका शशांक किन गए संखुवासभा ?

सन्तोष अधिकारी |
मंसिर १, २०७८ बुधबार १५:५ बजे

काठमाडौँ – मंगलबार साँझ ५ बजेदेखि ६ः१५ बजेसम्म नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइराला र केन्द्रीय सदस्य डा.शेखर कोइरालाबीच एक्लाएक्लै भेटवार्ता भयो । शेखर निवास बसुन्धरामा दुई दाजु भाइबीचको छलफलमा शेखर कोइरालालाई कांग्रेसको १४ औँ महाधिवेशनमा सभापति लड्न शशांकले सहयोग गर्ने बाचा दिए । हिजो (मंगलबार) शशांक आफैँले फोन गरेर शेखरलाई भेट्न गएका थिए ।    

छलफलपछि आज बिहान १०ः३० बजे पत्रकार सम्मेलन गरेर शेखरलाई सभापतिमा सहयोग गरेको घोषणा गर्ने वातावरण पनि बनेको थियो । उनीहरुले कोइराला परिवार एकढिक्का रहेको सन्देश दिनुपर्ने निष्कर्ष निकाल्दै त्यहीँबाट सुजता कोइरालालाई फोन गरे । सुजताले पनि शशांकले शेखरलाई समर्थन जनाउने प्रस्तावको खुलेरै प्रस्ताव गरिन् । आज बिहान ८ बजे शेखर भाइ (शशांक)लाई भेट्न उनको निवास महाराजगञ्ज गए । तर, शेखर जुन तयारीका साथ शशांक निवास गएका थिए सो अनुसार कार्यक्रम नहुने भयो । 


स्रोतकाअनुसार मंगलबार शेखर र शशांकबीच भएको सहमतिबारे शशांक निवासका एक सदस्यले बालुवाटारमा प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवालाई ब्रिफिङ गरिसकेका थिए । आज (बुधबार)नै शेखरलाई सभापतिमा सहयोग गर्ने र कोइराला परिवार एक रहेको सन्देश दिन पत्रकार सम्मेलन गर्न तयार भएका शशांकले बिहान शेखरसँग भने, ‘आज पत्रकार सम्मेलन नगरौँ । मलाई सभापतिले बालुवाटार बोलाउनु भयो । म उता जानुपर्ने भयो । अब आठ गतेमात्र पत्रकारसम्मेलन गरौँ ।’ बालुवाटार स्रोतका अनुसार शशांक बालुवाटार गएको रेकर्ड छैन । 

अहिले एकाएक शशांक संखुवासभामा पुगेका छन् । कोइरालालाई संखुवासभा कांग्रेस सभापति दीपक खड्काले हेलीकप्टरमा संखुवासभा लिएर गएका हुन् । खड्काले फेसबुकमार्फत बुधबार र बिहीबार कोइराला संखुवासभामै रहने पनि जानकारी दिएका छन् ।  ‘उहाँ (शशांक) संखुवासभा जानु भएको छ । कुनै कार्यक्रमको लागि जानु भएको होइन । रिफ्रेसका लागि जानु भएको हो,’ शशांकका स्वकीय सचिव भरत तिवारीले इकागजसँग भने । 

उनले शशांक कोइराला सभापतिको प्रतिस्पर्धाबाट बाहिर नभागेको पनि दाबी गरे । ‘डाक्टरसाप सभापति लड्ने तयारीमै हुनुहुन्छ । उहाँहरुको दाजुभाइ भेटघाट भएको हो भइरहन्छ । शेखर दाइले आफूलाई सभापतिमा सहयोग गर्न प्रस्ताव गर्नु भएको चाहिँ हो’ उनले भने ।  

‘हाम्रो पार्टीमा कोइराला परिवारको छुट्टै बिरासत छ नि । हामी केही दिनदेखि यसकै कसरतमा थियौँ तीन कोइराला एक भएको सन्देश कसरी दिने र मिलाउने भनेर,’ कांग्रेसका एक नेताले इकागजसँग भने, ‘आज पत्रकार सम्मेलन गर्नेसम्मको कुरा भइसकेको थियो । तर, एकाएक सचिवालयका सदस्यले कोइरालालाई एक हुन दिएनन् । सचिवालयमा बसेर नेता बिगार्ने, कांग्रेसको इतिहास बोकेको कोइराला परिवार बिगार्न त भएन नि ।’ 
 


Author

सन्तोष अधिकारी

अधिकारी राजनीति तथा अन्य समसामयिक विषयमा कलम चलाउँछन् ।


थप समाचार
x