राजनीति

चितवनमा नेपाल

एमालेको महाधिवेशनमा जाने फुर्सद छैन : माधव नेपाल

इकागज |
मंसिर ३, २०७८ शुक्रबार १५:३५ बजे

चितवन - नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले नेकपा एमालेको महाधिवेनमा जानका लागि आफूसँग समय नभएको बताएका छन । जिल्ला पार्टी कार्यालय उद्घाटन र कार्यकर्ता प्रशिक्षणका लागि शुक्रबार चितवन आएका नेपालले भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै यस्तो बताएका हुन् ।

एमालेले चितवनमा आयोजना गर्न लागेको १० औं महाधिवेशनको तयारी गरिरहेका बेला  चितवन आएका नेपालले एमालेको महाधिवेशनबारे टिप्पणी गरेका हुन् ।एमालेले केही दिनअघि माधव नेपाल र उनको पार्टी एकीकृत समाजवादीलाई एमालेको महाधिवेशनमा निम्तो नदिएपछि नेपालले यसको प्रतिक्रिया दिएका हुन् । ‘एमालेको महाधिवेशनमा पाहुना भएर जान हामीलाई समय पनि छैन । हामी डेमोक्रयाटिक पद्धतिबाट अघि बढ्ने मान्यता राखेको मान्छे । सबैको मान र सम्मान हुनुपर्छ भन्ने मान्यता राखेको मान्छे । त्यसो हुनाले नबोलाएको ठाउँमा पाहुना बन्नु हुँदैन,’ नेपालले भने, ‘कसैको पाहुना हुनुपर्ने केही चासो छैन, मतलब पनि छैन । हामी आफ्नै काममा यति व्यस्त छौं कि फुर्सदै छैन ।’ 


नेपालले एमाले इतिहास बन्न लागेकोसमेत टिप्पणी गरेका छन् । आगामी निर्वाचनमा कसले कसलाई पछार्छ भन्ने कुरा राष्ट्रिय सभाको चुनावमा देखिसकेको उनले बताए । आगामी चुनावमा पनि मिलेरै जाने उनको भनाइ छ ।

‘कतिपय पार्टी र नेताको सातो गइसकेको छ । होस् गुम भइसकेको छ’, उनले भने, ‘समाजवादीको नाम सुन्ने बित्तिकै काम्छन् । कसले कसलाई पछार्छ भन्ने कुरा त अस्तिकै राष्ट्रिय सभाको चुनावमा देखिसक्यो । पहिल्यै परीक्षण भइसकेको छ । एमाले इतिहासको विषय बन्दै छ ।’

नेकपा एमालेका अध्यक्ष केपी ओलीले १५ कात्तिकमा चितवन आएर पाँच दलीय गठबन्धनलाई एमालेले धोबीले लुगा पछारेझैँ पछार्नुपर्ने बताएका थिए । ओलीको सो अभिव्यक्तिको जवाफ दिँदै नेपालले एमालेलाई एकीकृत समाजवादीले निक्कै पछि पार्ने दाबी गरे ।

नेपालले हाल सर्वोच्च अदालतमा देखिएको विषय र प्रधानन्यायाधीशका विषयमा केही बोलेनन् । सर्वोच्च अदालतमा देखिएको समस्याको समाधान अदालतले नै गरोस् भनेर गठबन्धनले धारणा बनाएको उनले बताए । त्यस्तै प्रधानमन्त्रीले पनि चासो राखेर सम्बन्धित निकायका प्रतिनिधिसँग छलफल गरि निकास निकाल्ने उनको भनाइ छ ।


Author

थप समाचार
x