राजनीति

गृहमन्त्री खाण र अमेरिकी सहायक विदेशमन्त्री लुबीच भेटवार्ता

इकागज |
मंसिर ३, २०७८ शुक्रवार १६:२३ बजे

काठमाडौँ – गृहमन्त्री बालकृष्ण खाण र अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुबीच शुक्रबार शिष्टाचार भेटघाट भएको छ । गृह मन्त्रालयमा भएको भेटमा नेपाल र अमेरिकाको सम्बन्ध र विविध साझेदारीका विषयमा छलफल भएको छ । 

भेटमा कोभिड-१९ महामारीमा भएको सहकार्य, नेपालको विकासका प्राथमिकता, नेपालको सामाजिक तथा आर्थिक विकासमा अमेरिकाले पुर्‍याएको सहयोगलगायत विषयमा छलफल भएको छ । भेटमा सहायक विदेशमन्त्री लु र नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरी सहभागी थिए । नेपालको अर्थतन्त्रमा जलवायु परिवर्तनले पारेको असर र समाधानका लागि गर्नुपर्ने कामबारे पनि भेटमा छलफल भएको छ ।


भेटमा गृहमन्त्री खाणले कोभिडविरुद्ध नेपालको लडाइँमा सहयोग उपलब्ध गराएकोमा अमेरिकालाई धन्यवाद दिएका छन् । मन्त्री खाणले अमेरिकी सरकारले कोभिडपश्चात नेपालको अर्थतन्त्रको पुनः उत्थानमा पनि सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे । नेपाल भ्रमणका लागि सहायक विदेशमन्त्री लुलाई धन्यवाद दिँदै गृहमन्त्री खाणले यो भ्रमणले नेपाल र अमेरिकाबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने बताए । उनी दुईदिने नेपाल भ्रमणका लागि बुधबार काठमाडाैं आएका थिए ।


Author

थप समाचार
x