राजनीति

प्रदेश २ : आठौं अधिवेशन मंसिर २९ गते, प्रदेशको नाम र राजधानीको विषय टेबुल हुने

सुभाष कर्ण |
मंसिर ८, २०७८ बुधबार १७:१९ बजे

जनकपुरधाम -  प्रदेश २ प्रदेश सभाको आठौं अधिवेशन मंसिर २९ गतेका लागि आव्हान गरिएको छ । प्रदेश सभाको आठौं अधिवेशन मंसिर २९ गतेका लागि आह्वान  गरिएको पत्र सरकारले पठाएको प्रदेश सचिव रञ्जित यादवले जानकारी दिए ।

प्रदेश सरकारले गत २ दुई दिनअघि निर्णय गरे पनि हिजो प्रदेश सभा सचिवालयमा जानकारी सहितको पत्र पठाएको सचिव यादवले भने । चार दलीय गठबन्धनको प्रदेश २ मा सरकार बनेपछि पहिलो पटक प्रदेश सभाको अधिवेशन डाकिएको हो । दलीय विवादका कारण नियमित र लामो समयदेखि प्रदेश सभाको बैठक बस्‍न नसक्दा प्रदेशको नाम र राजधानी टुंगो लाग्न सकेको छैन ।


प्रदेश सरकारसँग अहिले दुई तिहाइभन्दा बढी बहुमत रहेको कारण प्रदेशको नाम र राजधानी टुंगो लाग्ने अनुमान ‍गरिएको जनता समाजवादी पार्टीका प्रमुख सचेतक शैलेन्द्र यादवले बताउँछन् । उनले भने प्रदेशको नाममा सरकार आबद्ध दलबीच एकमत नरहे पनि राजधानी जनकपुरधाम हुनेमा टुंगो लाग्ने निश्चित छ ।

सरकारमा सहभागी दलबीच नाम र राजधानीको विषयमा औपचारिक सहमति नभए पनि राजधानी जनकपुरधाम बनाउनुपर्नेमा सबै एकमत छन् । प्रदेश सरकारका प्रवक्ता शैलेन्द्र साहले प्रदेशको नाम र राजधानी टुंगो लगाउन धेरै ढिलो भएको कारण प्रदेश सभाको आगामी बैठकमा यही विषयवस्तुलाई अघि बढाउने सरकारको तयारी रहेको बताए ।

सत्तारुढ दल कांग्रेस संसदीय दलका नेता एवं भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादवले पनि प्रदेश सभाको बैठकमा पहिलो विषयवस्तु प्रदेशको नाम र राजधानी बारे छलफल अघि बढाउने गरी आफूहरूको तयारी रहेको बताएका छन । उनले भने प्रदेश सरकारको ४ वर्ष बित्न लागेको छ अब एक साल भित्र पनि टुंग्याइएन भने प्रदेश सरकार नै असफल हुनेछ ।

प्रदेशको नाम र राजधानीका लागि सभामुख सरोज कुमार राय यादवले सातौँ अधिवेशनमा प्रदेश सरकारलाई रुलिंग गरेका थिए । प्रदेशको नामकरण र राजधानी तोक्न प्रदेश सरकारले प्रदेश सभामा प्रस्तुत गरेको प्रस्ताव एक पटक असफल भइसकेको छ भने अर्को प्रस्ताव पनि गएको वैशाख महिनामै दर्ता भएको छ ।

प्रदेश सरकारका नेतृत्व दल जनता समाजवादी पार्टी (जसपा), सत्तारुढ दल माओवादी केन्द्र र प्रमुख प्रतिपक्षी दल प्रदेशको नाम मधेश प्रदेश राख्नेमा एकमत छन् भने सत्तारुढ दलकै कांग्रेस मिथिला भोजपुरा, प्रतिपक्षी दल एमाले र सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी)ले जानकी प्रदेशको नामअघि सारेका छन् । सत्तारुढ दल जसपा र कांग्रेसका केही सदस्य विरगंज हुनुपर्ने भन्ने प्रस्ताव दर्ता गराएको छ ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x