राजनीति

एमाले महाधिवेशनमा प्रदेश २ बाट यी हुन् उम्मेदबार

सुभाष कर्ण |
मंसिर ९, २०७८ बिहिवार १५:५३ बजे

जनकपुरधाम –  शुक्रबारदेखि चितवनमा सुरु हुन लागेको नेकपा एमालेको १० औं महाधिवेशनमा प्रदेश २ बाट पनि कार्यसमितिमा उम्मेदबारहरू अघि आएका छन् ।यसअघि प्रदेश २ बाट केन्द्रीय कार्यसमितिमा मधेशी मूलका व्यक्तिहरूलाई एकदमै न्यून संख्यामा राख्ने गरेको थियो । तर यस पटक प्रदेश २ बाट पदाधिकारीदेखि सदस्यसम्मको पदमा उम्मेदबारी दिइने छ ।

प्रदेश २ बाट एक दर्जनभन्दा उम्मेदबारहरूको नाम आएको छ । तर तिनीहरू खुलेर घोषणा चाहिरहेको छैन । केहीले उम्मेदबारी दिने अनौपचारिक रूपमा बताए पनि अधिकांशले चितवनमै गएर निर्णय गर्ने भन्ने बताएका छन् ।


गत ८ वर्षपछि भएको महाधिवेशनमा उम्मेदबारहरूले जोडतोडका साथ प्रचार प्रसार गरिए पनि आगामी १० औं महाधिवेशनमा उम्मेदबार महाधिवेशनकै दिन खुलेर आउने सोचमा छन् । यस पटक नेतृत्व चयनमा सर्वसम्मत नभए पनि गुट उपगुट खासै देखएको छैन ।

यस पटक प्रदेश २ बाट दुई/दुई जना सचिव पदमै भिड्ने छ भने अन्य सदस्यहरूमा लडनेछ । प्रदेशका धनुषाबाट रघुवीर महासेठ र रौतहटबाट प्रभु साह सचिव पदका उम्मेदबार हुन । दुवै केपी शर्मा ओली नजिककै मान्छे हुन । महासेठ एमाले पुरानो नेता हुन भने साह नेकपा विभाजनपछि माओवादी केन्द्रबाट आएका हुन ।

महासेठ ओलीका प्रिय पात्र भए पनि साह पनि माओवादी छाडेर आएको कारण ओली धेरै नै नजिकिएका छन् । दुवै मध्ये कसलाई रोज्ने ओलीका लागि समस्या बनेको एमालेका पुराना नेता सत्यनारायण मण्डलले बताए । महासेठले आफ्नो उम्मेदबारी प्रष्ट रूपमा नभने पनि उनका निकटका नेताहरूले सचिव पदका उम्मेदबार हुन स्पष्ट पारेका छन् । साहले आफू सचिव पदको उम्मेदबार रहेको भन्ने बताएका छन् ।

साह र महासेठ बाहेक प्रदेशका धनुषाबाट महासेठका श्रीमति जुली महतो, हरिनारायण महतो, राजकिशोर यादव, रामचन्द्र मण्डल, महोत्तरीबाट टेक बहादुर बलमपाकी, रामदयाल मण्डल, सरोज यादवको नाम चर्चामा रहेको छ ।

त्यस्तै सिरहाबाट लीलानाथ श्रेष्ठ, सप्तरीबाट सुमन प्याकुरेल, उत्तम गौतम, सुवोध यादव, सर्लाहीबाट राजनारायण साह, बाराबाट बलवीर चौधरी, पर्साबाट प्रभु हजरा, बसरूद्दिन अन्सारी लगायतका नेताहरू रहेका छन्् । यी नेताहरूले केन्द्रीय सदस्यका लागि निर्वाचन लड्ने बताइएको छ । नेकपा एमाले दसौं महाधिवेशनका लागि प्रदेश २ बाट २ सय ३२ जना प्रतिनिधि छानिएको छ ।

एमाले प्रदेश २ का सचिव मनोज खड्काले भने अहिलेसम्म मोटामोटी २ सय ३२ जना महाधिवेशन प्रतिनिधि छनाेट गरिएको यसमा थपघट हुन सक्नेछ । उनले दिएको जानकारीअनुसार धनुषाबाट ५३, महोत्तरीबाट ३२, सर्लाहीबाट १३, सिरहाबाट २२, सप्तरीबाट २०, रौतहटबाट २७,  बाराबाट ३८ र पर्साबाट २७ जना महाधिवेशन प्रतिनिधि छनाेट गरिएको छ ।

उनकाअनुसार प्रदेश कमिटीबाट ५ जना मनोनीत गरिएको छ भने मजदुरबाट ७ जना महाधिवेशन प्रतिनिधि छनाेट गरिएको हो ।  नयाँ नेतृत्व चयनका लागि यही मंसिर १० शुक्रबार देखि १२ गतेसम्म चितवनमा महाधिवेशन हुन गइरहेको छ । 


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x