राजनीति

चितवनबाट

पद गौण हो, सहमति गर्नुपरे सचिवको आकांक्षा छाड्छु : राई

अनिष भट्टराई |
मंसिर ९, २०७८ बिहीबार २०:५८ बजे

एमालेको दशौं महाधिवेशन सुरू भएको छ । एमालेमा विभिन्न पदाधिकारीमा उम्मेदवारीको घोषणा क्रम जारी छ । मनोनयन भने ११ मंसिरमा मात्र खुला हुनेछ । प्रदेश नम्बर एकका पूर्वमुख्यमन्त्रीसमेत भइसकेका पार्टी स्थायी कमिटी सदस्य शेरधन राई अहिलेको महाधिवेशनमा सचिवको आकांक्षी हुन् । तर सहमति जुटाउने बेला आफूले 'कम्प्रोमाइज' गर्नुपरे तयार रहेको राई सुनाउँछन् । पार्टीकाे आन्तरिक रस्साकसी र महाधिवेशनमा केन्द्रित रहेर इकागजका अनिष भट्टराईले राईसँग गरेकाे कुारकानीको सम्पादित अंश :

भोलिबाट महाधिवेशन सुरू हुँदैछ । तपाईं महाधिवेशनस्थल आइसक्नु भएको पनि छ । यहाँको माहोलले कत्तिको उत्साहित हुनुहुन्छ ? 


ऐतिहासिक राष्ट्रिय महाधिवेशन भएकाले ममात्रै होइन, सिंगो पार्टीं पंक्ति, कार्यकर्ताहरू सबै उत्साहित हुनुहुन्छ । महाधिवेशनले देशमात्रै होइन, संसारकै ध्यान खिचेको अवस्था छ । यो महाधिवेशनलाई हामीले एकता र सहमतिको महाधिवेशनका रूपमा सम्पन्न गर्ने संकल्प लिएका छौं । यही संकल्पलाई टिकाउने गरी सहमतिको प्रयास पनि भइरहेकै छ । तत्कालीन नेपाल कम्युनिस्ट पार्टी नेकपाकै निरन्तरताका रूपमा रहेको यस नेकपा एमाले अनि पूर्वमाओवादी साथीहरू जो एमालेमै हुनुहन्छ, उहाँहरूको व्यवस्थापन र १० बुँदे सहमति पक्षधर नेताहरूको व्यवस्थापन गरेर महाधिवेशनलाई हामी एकताको महाधिवेशन बनाउँछौं । महाधिवेशन एमालेका लागि ऐतिहासिक छ किनभने यस महाधिवेशन अरू महाधिवेशन भन्दा भिन्न हुनेछ । महाधिवेशनपछि एमालेमा कुनै धार, कुनै गुट रहने छैन । सबै कुरालाई समेटेर दशौं महाधिवेशनलाई एकता, सहकार्यको महाधिवेशन बनाएर सम्पन्न गर्ने तयारीमा छौं । मैले सचिव पदमा उम्मेदवारीको कुरा प्रस्तुत गरेको छु । यद्यपी औपचारिक रूपमा ११ गतेमात्रै मनोनयन खुला हुन्छ । अहिले पनि म पार्टीमै परामर्श गरिरहेको छु ।

 

महाधिवेशनपछि एमालेमा कुनै धार, कुनै गुट रहने छैन । सबै कुरालाई समेटेर दशौं महाधिवेशनलाई एकता, सहकार्यको महाधिवेशन बनाएर सम्पन्न गर्ने तयारीमा छौं ।

तपाईंले सचिवमा उठ्ने घोषणा गरिसक्नु भएको छ । यसमै उम्मेदवारी दिनुहुन्छ कि ब्याक हुनुहुन्छ ? सचिवमा तपाईंको इच्छाचाहिँ किन ? 

किनभने हामी पार्टीका युवा साथीहरू नेकपा एमालेको माथिल्लो तहमा समावेश हुन चाहन्छौं । यसलाई म स्वाभाविक पनि मान्छु किनभने युवासाथीहरूको प्रतिनिधित्वले मात्रै पार्टीमा नयाँ सन्देश दिन सक्छ । पार्टीमा मेरो भूमिका, मैले गरेको योगदानले पनि सचिव बन्न योग्य छु भन्ने लागेकाले मैले इच्छा गरेको हुँ ।

एमालेमा ३ धारकै नेताको व्यवस्थापन गर्नुपर्ने चुनौती छ । यो चुनौतीमाझ तपाईं पदाधिकारीमा अटाउँछु भन्ने लाग्छ ?

सहमतिमै सबै पदाधिकारीको नाम टुंग्याउने हाम्रो प्रयास जारी हुनेछ, अन्तिम दिन सम्मपनि । सबै भावनालाई समेट्ने हाम्रो प्रयासमा हामी सफल हुन्छौं भन्ने पनि लाग्छ । तीन धारकै भावनालाई यस महाधिवेशनले समेट्छ । समेट्नुपर्छ । नेकपा एमाले यस देशको सबैभन्दा ठूलो पार्टी हो ।  लोकतान्त्रका लागि लडेको आधारमा होस् वा राष्ट्रिय राजनीतिमा उपस्थितिका हिसाबले होस् एमाले देशै सबैभन्दा ठूलो पार्टी हो । सिंगो देशलाई लिड गर्ने पार्टी भएकाले देशको भूगोल, जाति, सदमुदाय, वर्ग सबैलाई समेटेर लैजाने क्षमता एमालेसँग मात्र छ र एमालेले समेट्छ पनि ।

अध्यक्षमा भीम रावलले उम्मेदवारी दिने भनिसक्नु भएको छ । यसले तपाईंहरूको सहमतिको महाधिवेशन बनाउने योजनालाई टुटाउन पनि सक्छ नि ? पदाधिकारीमा कुनै हालतमा पनि सहमति हुने देखिँदैन नि ?

त्यस्तो होइन । भीम रावलको उम्मेदवारीले अलिकति तरंग, अन्योल त उत्पन्न भएको छ । त्यो कति जायज, कति मौसमी कुरा थियो, त्यो आफ्नो ठाउँमा छ । तर उहाँले पनि परिस्थितिलाई ध्यानमा राखेर उहाँले आफ्नो उम्मेदवारी जुन औपचारीक रूपमा दर्ता भएको छैन, बस मिडियामा भन्नुभएको छ । उहाँले त्यो उम्मेदवारी फिर्ता गरेर सर्वसम्मतको एउटा वातावरण बन्न सक्छ र बनाउनु पर्छ । त्यसका लागि सबै महाधिवेशन प्रतिनिधिले दबाब दिनुहुन्छ ।

सहमति गर्दा तपाईंले आफैं पनि चाहेको पद छाड्नुपर्ने हुन सक्छ नि ?

अहिले नेकपा एमालेमा केपी ओलीको विकल्प छैन । यो महाधिवेशनले सर्वसम्मतबाट उहाँलाई निर्वाचित गर्छ । त्यसपछि पार्टीको लिड उहाँले गर्नुहुन्छ । अध्यक्षबाहेकका १४ पदाधिकारीमा सहमतिमा टुंग्याउने प्रयास उहाँले गर्नुहुन्छ । त्यसमा हाम्रो साथ रहन्छ । यसो हुँदा सहमतिका लागि जे कुरा प्रस्तावमा आउँछ, त्यो मलाई मान्य हुनेछ । पद मेरा लागि गौण हो । तर यदि लोकतान्त्रिक प्रक्रियाबाट चुनाव हुन्छ भने मेरो रोजाइ सचिवमा हो ।

तत्कालीन नेकपा ओलीकै कारण फुट्यो, ओलीकै कारण एमाले सबैतिर प्रतिपक्षीमा पुग्यो भनिन्छ । तपाईं पनि त्यसको सिकार त बन्नु भयो नि ?

यो गलत हो । सही अडान, सही विचार, सही नीतिका साथ अघि बढ्दै गर्दा गलत प्रवृत्तिहरूले घेराबन्दी गर्छन्, खुट्टा तान्छन्, आफ्नै वर्गीय दुश्मनहरूलाई सहयोग पुर्‍याउँछन्, पार्टीलाई कमजोर बनाउने, घात हुने काम भएपछि के लाग्छ त ? दुई पटक संसद विघटन गरेर गलत भयो भन्ने सुनिन्छ । तर त्यो सही थियो भन्ने वर्तमान सरकारले नै प्रमाणित गरिदिएको छ । सिंगो देशले महसुस गरेको छ । देशमा अहिले अराजकता छ, अन्योलता छ । कम्तिमा जनादेशमा गएर नयाँ म्यान्डेट लिएर आएको भए यस्तो देखिँदैनथ्यो नि ।

महाधिवेशनपछि तत्कालीन नेकपाको फुटको नियति दोहोरिँदैन भन्ने पक्का छ त ?

हुँदैन । अब नेकपा एमालेमा विगतका प्रवृत्ति दोहोरिँदैन । त्यस्ता कुनै घटनाको पुनरावृत्ति हुँदैन । 

आधारचाहिँ ?

आमकार्यकर्ता नै यसको आधार हुन् । यो राष्ट्रिय महाधिवेशन अघि गरिएको विधान महाधिवेशन पनि आधार हो । पालिका र वडामा भएका कमिटी चयन पनि अधिकांश ठाउँमा सर्वसम्मतिले भयो । अब पार्टी फुटको दिशामा जाँदैन भन्नुको मूल आधार यही हो । 


Author

अनिष भट्टराई

भट्टराई इकागजका संवाददाता हुन् ।


थप समाचार
x