राजनीति

एमाले महाधिवेशन लम्बियो, खाना खर्च कसले ब्यहोर्छ ?

इकागज |
मंसिर १३, २०७८ सोमबार १४:४९ बजे

चितवन - नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा सहभागी महाधिवेशन प्रतिनिधि, अतिथि र स्वयंसेवकलाई सौराहामा खान र बस्नको व्यवस्था गरिएको छ । महाधिवेशन सुरू हुनुअघि नै एमालेले सौराहाका हाेटलमा ३५ सय बेड बुकिङ गरेको हो । 

सम्झौताअनुसार प्रतिनिधिलाई हाेटलले तीन छाक खाना खुवाउने थियो । खाना र बेडको लागि एमालेले होटल व्यवसायीसँग एक करोड ९० लाख रूपैयाँमा सम्झौता गरेको थियो । ११ र १२ मंसिरमा सकिने भनिएको महाधिवेशनको बन्दसत्र भने लम्बिएको छ । अध्यक्षलगायत केही पदमा चुनाव हुने निश्चित भएको छ । निर्वाचनका लागि उम्मेदवारहरूले मनोनयन पत्र दर्ता गरिसके पनि मतदान सुरू भएको छैन ।


बन्दसत्र लम्बिएपछि एमालेले थप एक दिन खाना खुवाउन व्यवसायीहरूलाई आग्रह गरेको छ । आज (सोमबार) दिउँसो र बेलुकाको खाना, भोलि (मंगलबार) बिहानको ब्रेकफास्ट र बेडको व्यवस्था गर्नेगरी अर्को सम्झौता भएको क्षेत्रीय होटल व्यवसायी संघ सौराहाका अध्यक्ष दीपक भट्टराईले बताए ।

थप एक दिन खाना र बेडको लागि करिब ६५ लाख रूपैयाँमा सम्झौता भएको उनले बताए । ‘थप एक दिन खाना र बेडको व्यवस्था गर्नेगरी पार्टीसँग हाम्रो सम्झौता भएको छ,’ उनले भने । बन्दसत्र लम्बिएपछि केही प्रतिनिधिहरू भने फर्किसकेका छन् ।


Author

थप समाचार
x