राजनीति

महाधिवेशनका मलिन अनुहार

'माधव नेपाल पार्टी छोडेर त्यसै जानु भएको होइन रहेछ'

विनोद देवकोटा |
मंसिर १३, २०७८ सोमबार १५:९ बजे

सौराह - ‘म धेरै अघि बढिसकेको छु । मलाई पछाडि फर्किन गाह्रो छ,’ एमाले अध्यक्ष केपी शर्मा ओलीले बन्द सत्रमा दाबेदारी फिर्ता लिन गरेको अन्तिम आग्रहको उपाध्यक्ष भीम रावलले इन्कारी घोषणा गरे ।

रावलको इन्कारी घोषणासँगै ओलीले पदाधिकारीको नाम वाचन गरे । अध्यक्षः केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्षः ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल ...। केन्द्रीय सदस्यको सूची ओलीले यसअघि नै वाचन गरिसकेका थिए । हलको गड्गडाहट तालीले पारित गरेको उनको घोषणामा पूर्ण विराम भने लाग्न सकेन । निरन्तर प्रश्न उठे ।


बन्द सत्र हलमैसमेत केहीले होहल्ला गरे । उनकै विश्वास पात्र भनिएका कतिपय मलिन अनुहारमा बाहिर निस्कए । पदाधिकारी मात्रै होइन, केन्द्रीय समितिमासमेत धेरैको असन्तुष्टि रह्यो । सोलुखुम्बुका एक जनाले पनि केन्द्रीय सदस्य पाएनन्,, कर्णालीमा पदाधिकारी शून्य भयो । चितवनका दस जना केन्द्रीय समितिमा अटाए । टिप्पणी र आलोचना सुरु भयो ।

ओलीको घोषणासँगै सुनिन थाले असन्तुष्टिका स्वरहरू । प्रतिनिधिका अनुहारका भावभंगीले पनि मौन असन्तुष्टि जनाइरहे । गेटमा पूगनेवित्तिकै कतिपयले मिडिया गुहारे । त्यसैमध्येकी एक थिइन् बैतडीकी मञ्जु मलासी । बन्दसत्रबाट निस्केलगत्तै सोमबार बिहान साढे तीन बजे उनले इकागलजसँग भनिन्, ‘भागवण्डा लगाउने हो भने इमान्दारले अवसर कहिले पाउने ? माधव नेपालले त्यसै पार्टी छोडेर जानु भएको होइन रहेछ । त्यत्रा नेता यही दम्भका कारण पार्टी छोडेर गए । सर्वसम्मत भन्या यही हो ?’ असन्तुष्टि उनको मात्रै थिएन । असन्तुष्टिका स्वरहरू बढ्दै गए । कतिले व्यक्त गरे । कतिले गरेनन् ।

नेता लालबाबु पण्डितले कार्यकारी भूमिकाबाट बिदा मागे । ओलीले प्रस्तावित गरेको सूचीमा पण्डित पदाधिकारीको सूचीमा नसमेटिएपछि उनले कार्यकारी भूमिकाबाट बिदा मागेको बुझ्न सकिन्छ । आइतबारसम्म पनि पण्डितले आफूले उपाध्यक्षमा दाबी नछाड्ने बताउँदै आएका थिए ।

अध्यक्षमै सर्वसम्मति नभएपछि सर्वसम्मतीको रटानले काम गरेन । सोमबार बिहान साढे तीन बजे नेकपा एमालेको दसौं महाधिवेशन निर्वाचनमा गयो । राति नै आकांक्षीहरूले मनोनय पत्र खोजे । फारम भरे । कतिले पाएनन् । निर्वाचन आयोगका पदाधिकारी घरि कोठा बन्द गरेर निस्किन्थे, घरि खोल्थे । आइतबार बिहान ९ बजेदेखि कुरेर बसेको प्रतिनिधि सोमबार बिहान ४ बजेसम्म थकित थिए । उनीहरू बासस्थानतर्फ लम्किए । चार घण्टा पनि नसुकेतका प्रतिनिधि सोमबार बिहानै महाधिवेशनस्थल अइपुगे । निर्वाचनको माहौल बन्यो । अध्यक्षका उम्मेदवार भीम रावल समर्थकहरू बन्द सत्र बाहिर भोट माग्दै गरेको देखिए । उपाध्यक्षका दाबेदार घनश्याम भुसालका समर्थनहरू पनि मत मागिरहेको थिए ।

सचिवमा टंक ढकालले मनोनयन दर्ता गरे । उनी पनि भोट  मग्दै थिए । सदस्यमा आकांक्षीको लर्को नै छ । बन्दसत्र स्थलभित्र घनश्यम भुसाल मत माग्दै गरेको देखिए । ‘हरेक चोरले आफूलाई नैतिक देख्छ, किनभने उसले आफूभन्दा महाचोरसँग तुलना गर्छ,’ सोमबार बिहान इकागजसँग भुसालले दार्सनिक प्रतिक्रिया दिए । उनको संकेत कता थियो प्रष्ट पारेनन् । तर, सबै सर्वसम्मत भयो भन्छन् नि ? भन्ने प्रश्नमा उनले जवाफ दिएको हुनाले लख काट्न सकिन्थ्यो । उनले भीम रावललाई साथ दिनकै लागि उम्मेदवारी दिएको बताए । आफ्नो साथ भीम रावलाई रहेकोसमेत उनको भनाइ छ ।

आइतबार दिनभरी ओलीबाहेक कसैलाई नेतै नमान्ने अड्डी लिएका नेता सुवास नेम्वाङ बिहान उपाध्यक्ष भएर डुलिरहेका थिए । उनी ओलीसहित र्इश्वर पोखरेललाई पनि नेता मान्न तयार भए । सोमबार बिहान भने उनी फेरिइसकेका थिए । आइतबार दिनभर आएका समाचारबारे उनले अनविज्ञता प्रकट गरे । सर्वसम्मत हुन नसकेकोलाई उनले पार्टीभित्रको सुन्दर लोकतन्त्रका रूपमा व्याख्या गरे । ‘एमालेलाई पार लगाउन ओलीको नेतृत्व आवश्यक छ । ओलीको नेतृत्व अपरिहार्य छ,’ उनले भने, ‘व्यापक सहमति भयो । हलले थपडी पनि बजायो । धेरै प्रतिनिधि एक ठाउँमा उभिए । तर, केही साथी यसको विपक्षमा उभिए । एमालेमा यही त हो लोकतन्त्र । यति राम्रो लोकतन्त्र अरू कुनै पार्टीमा होला त ?’

आइतबार अबेरसम्म पनि महासचिव वा उपाध्यक्षका दाबेदार पृथ्वीसुब्बा गुरुङले उपमहासचिव पाए । उनी त्यसमा पनि सन्तुष्टि देखिए । अध्यक्षको प्रस्तावलाई सहर्ष स्वीकार गरेको उनले स्वीकारे । उनको अन्तिम आसा चुनाव हुँदैन भन्ने थियो । ‘मबाट अरूले पनि अनुसरण गर्नुपर्छ । एकताको लागि अध्यक्षले प्रस्ताव गर्नुभयो । मैले सहर्ष स्वीकार गरें,’ इकागजसँग उनले भने, ‘अन्तिम नामावली नआएसम्म चुनाव निश्चित हुँदैन ।’


Author

विनोद देवकोटा

समसामयिक/राजनीतिक विषयमा कलम चलाउने देवकोटा सिनियर करेस्पोन्डेन्ट हुन्।


थप समाचार
x