राजनीति

कांग्रेस अधिवेशन

कर्णालीका अधिकांश जिल्लामा संस्थापन समूहको वर्चस्व

लक्ष्मी भण्डारी |
मंसिर १४, २०७८ मंगलबार १२:२७ बजे

सुर्खेत- कर्णाली प्रदेशका सबै जिल्लामा नेपाली कांग्रेसको १४ औं अधिवेशन सकिएको छ । प्रदेशका १० जिल्लामध्ये अधिकांश जिल्लाहरुमा संस्थापन समूह विजयी भएको छ । १३ औं महाधिवेशनबाट चुनिएको जिल्लाको नेतृत्वमध्ये कर्णाली प्रदेशका हुम्ला बाहेक नौ वटा जिल्लामा पौडेल समूह हाबी थियो । 

अघिल्ला अधिवेशनहरुमा पौडेल पक्ष हाबी भएको कर्णाली प्रदेशमा अहिले संस्थापन अर्थात पार्टी सभापति शेरबहादुर देउवा समूहले वर्चस्व जमाएको छ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत कर्णालीमा सबैभन्दा पछि नेतृत्व चयन भएको सुर्खेत जिल्ला कार्य समितिको नतिजा पनि आइसकेको छ । नतिजा अनुसार सुर्खेत जिल्लाको कार्यसमितिमा संस्थापन समूह विजयी भएको छ । सभापतिमा संस्थापन पक्षका खड्ग पोखरेल एकल उम्मेदवार परेपछि निर्विरोध भएका हुन् । 


१४ औं महाधिवेशनमा कर्णालीका ६ वटा जिल्लामा देउवा समूहले नेतृत्व पाएको छ । दुईवटामा पौडेल समूहले नेतृत्व जितेको छ ।  दुईवटा जिल्लाका सभापतिहरू भने कुन पक्षमा भनेर खुलेका छैनन् । नखुलेका जिल्ला सभापतिहरुलाई संस्थापन पक्षले आफ्नो भएको दाबी गरेको छ । 

जिल्ला अधिवेशनबाट हुम्लामा मोहनविक्रम सिंह, डोल्पामा दीपेन्द्र शाही, मुगुमा ऐनबहादुर शाही, जुम्लामा कर्णबहादुर शाही र सल्यानमा केशबहादुर विष्ट देउवा पक्षबाट सभापति बनेका छन् । कालीकोटमा अम्ब बहादुर शाही र दैलेखमा मणिराम रेग्मीले पौडेल समूहबाट सभापति जितेका छन् । यीमध्ये कालीकोटमा सर्वसम्मत नेतृत्व चयन भएको थियो । 

तरूण दलका महामन्त्री भूपेन्द्रजंग शाहीको गृह जिल्ला कालीकोटमा वडादेखि जिल्ला तहसम्म सर्वसम्मत नेतृत्व चयन भएको हो । हुम्लामा भने एकलौटी जिल्लाको नेतृत्व घोषणा भएको थियो । यो जिल्लामा पौडेल पक्षले समानान्तर कमिटी समेत बनाएको छ । त्यसैगरी जाजरकोटका सभापति वेदराज सिंह, रूकुम पश्चिमका सभापति प्रेमप्रकाश वली भने कुन समूहमा भनेर खुलेका छैनन् । यी दुवै सभापतिहरु संस्थापन पक्षको सहयोगमा सभापति बनेका हुन् । 


Author

थप समाचार
x