राजनीति

कांग्रेसको प्रदेश अधिवेशन शुरु, कुन प्रदेशमा कसले संयोजन गर्दैछन् ?

इकागज |
मंसिर १६, २०७८ बिहीबार १०:१६ बजे

काठमाडौँ– नेपाली कांग्रेसको प्रदेश अधिवेशन आजदेखि शुरु भएको छ । आज र भोलि हुने प्रदेश अधिवेशनका लागि हरेक प्रदेशमा केन्द्रीय कार्यसमितिबाट नेताहरूले संयोजकको जिम्मेवारी पाएका छन् । 

प्रदेश १ को अधिवेशन गराउने जिम्मेवारी कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले पाएका छन् । उनी झापा जिल्लाका हुन् । प्रदेश अधिवेशनहरू प्रदेश राजधानीमा आयोजना हुँदैछन् । प्रदेश १ को अधिवेशन विराटनगरमा हुनेछ । 


त्यस्तै, प्रदेश २ मा रमेश रिजाल संयोजक छन् । रिजाल पर्सा जिल्लाका हुन् । प्रदेश २ को अधिवेशन राजधानी जनकपुरधाममा हुँदैछ । 

काठमाडौँ निर्वाचन क्षेत्र भएका नेता प्रकाशमान सिंहलाई बाग्मती प्रदेशको अधिवेशन गराउने जिम्मेवारी केन्द्रीय कार्यसमितिले दिएको छ । बाग्मती प्रदेशको अधिवेशन हेटौंडामा हुँदैछ । 

स्याङ्जा जिल्ला निर्वाचन क्षेत्र भएका नेता पूर्वउपसभापति गोपालमान श्रेष्ठलाई दिइएको छ । पोखरामा हुने गण्डकीको अधिवेशन गराउन श्रेष्ठ पोखरामा खटिएका छन् । 

रुपन्देही निर्वाचन क्षेत्र भएका कांग्रेसका केन्द्रीय सदस्य एवं गृहमन्त्री बालकृष्ण खाण लुम्बिनी प्रदेशको अधिवेशन गराउन बुटवल गएका छन् । त्यस्तै, हुम्ला निर्वाचन क्षेत्र भएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही कर्णाली प्रदेशको अधिवेशन गराउन खटिएका छन् । 

त्यस्तै, दार्चुला जिल्ला निर्वाचन क्षेत्र भएका कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडू सुदूरपश्चिम प्रदेश अधिवेशन गराउन धनगढी पुगेका छन् । 
प्रदेश अधिवेशन आयोजक समितिमा संयोजकको जिम्मेवारी पाएका केन्द्रीय नेताहरूका अतिरिक्त प्रदेश सभा संसदीय दलका नेता, प्रदेश सांसद, स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरूलगायत रहेका छन् । 

मुलुक संघीय संरचनामा प्रवेश गरेसँगै नेपाली कांग्रेसले पार्टीको संघीय विधान अनुसार पहिलोपटक प्रदेश अधिवेशन गर्न लागेको हो । यसअघि नेपाली कांग्रेसको महाधिवेशन २०७२ फागुनमा भएको थियो । 
 


Author

थप समाचार
x