नेपालसँग राजनीतिक विश्वास विस्तार गर्न उच्चस्तरीय भ्रमण : चीन
बेइजिङ : चीनले नेपालसँग राजनीतिक विश्वास विस्तारका लागि उच्चस्तरीय राजनीतिक मण्डलको भ्रमण भएको बताएको छ । भ्रमण रणनीतिक तथा सहकार्य मुलुक साझेदारीमा केन्द्रित रहेर भएको चीनको भनाइ छ । नेपाल एक असल छिमेकी मुलुक, सच्चा साथी र राम्रो साझेदार भएका कारण नेपालका राजनीतिक दलसँग चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)ले मजबुद सम्बन्ध राख्दै आएको पनि बताएको छ ।
बेइजिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा चीनले नेपालको पछिको राजनीतिक घटनाक्रमबारे उल्लेख नगरिकन भनेको छ, ‘आपसी राजनीतिक विश्वास बढाउन, सरकार-सरकारबीचको मित्रतालाई गहन पार्न, सरकारहरूबीच व्यावहारिक सहयोग प्रवर्धन गर्न यस्ता भ्रमण हुनगर्छन ।’
अन्तर्राष्ट्रिय विभागको प्रतिनिधि मण्डल अर्थात विशेष राजनीतिक कार्यदल काठमाडौँमा भेटघाटमा व्यस्त रहिरहँदा बेइजिङमा विदेश मन्त्रालयका प्रवक्ता चाओ ली च्येनल यस्तो धारणा सार्वजनिक गरेका हुन् । नेपाल भ्रमण आपसी राजनीतिक विश्वास बढाउन तथा आपसी मित्रतालाई मजबुत बनाउनका लागि केन्द्रित रहेको पनि उनले बताए ।
नेपाल मात्र होइन कुनै पनि सार्वभौम मुलुकमाथि चीनले हस्तक्षेपकारी भूमिका निर्वाह नगर्ने नीति रहेको पनि बताए । सत्तारुढ नेकपा भित्र उत्पन्न संघर्षका कारण संसद नै विघटन भई राजनीतिक संकट उत्पन्न भएका बेला चीनले मित्रता र सहकार्यको लागि भन्दै राजनीतिक कार्यदल नै पठाएको छ ।
‘मित्रता तथा सहकार्यका विषयमा विचार विमर्शका लागि राजनीतिक भ्रमण भएको हो,’ उनले भने, ‘सीपीसीले अर्काको आन्तरिक मामिला, स्वतन्त्रता, समानता, आपसी सम्मानलगायतमा हस्तक्षेपको सिध्दान्त कहिल्यै अपनाउँदैन ।’
बेइजिङमा रहेका भारतीय पत्रकारले चिनियाँ मण्डलको नेपाल भ्रमणबारे जिज्ञासा राखेका थिए । प्रवक्ता चाओले दुई मुलुकको परम्परागत मित्रतालाई मजबुत बनाउन यसप्रकारको भ्रमण स्वभाविक रहेको बताउँदै भने, ‘कोभिड-१९ को रोकथाम तथा नियन्त्रण, सुशासन, विकास र आपसी साझा चासोका विषयमा छलफल गर्न चिनियाँ टोली काठमाडौँ पुगेको हो ।’
टोलीले सबै राजनीतिक दलसँग छलफल गर्नेछ । दुवै मुलुकको जनताको हितका लागि सहकार्य र सझोदारी गर्नेसमेत उनले बताए । प्रवक्ता चाओले चिनियाँ कम्युनिस्ट पार्टीले सबै प्रमुख राजनीतिक दलहरूसँग समान र मैत्रीपूर्ण सम्बन्ध कायम राखेर नै सहकार्य अघि बढ्ने पनि बताएको छ । त्यही अनुरुपको भेटघाट पनि हुनेछ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया