राजनीति

इकागज स्कुल

प्रतिनिधि सभा विघटनपछि विधेयक निष्क्रिय भए, अब बस्‍ने राष्ट्रिय सभा बैठकले के गर्छ ?

इकागज |
पुस १६, २०७७ बिहिवार ८:४१ बजे

राष्ट्रिय सभा बैठक शुक्रबारदेखि बोलाएको छ । प्रतिनिधि सभा विघटनको सरकारको प्रस्ताव सदर गरेकी राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिशमा राष्ट्रिय सभाको बैठक बोलाएकी हुन् । सरकारले सदनमा पठाउने विधेयक राष्ट्रिय सभा र प्रतिनिधि सभा दुवैतर्फ दर्ता गर्न सक्‍छ । तर प्रतिनिधि सभा नभएको अवस्थामा विधेयक निष्क्रिय हुन्‍छ । अनुमोदन हुँदैन । अब बस्‍न लागेको राष्ट्रिय सभा बैठकको विजनेस (काम) के हुन्‍छ भन्‍ने सम्बन्धमा यहाँहरूको जानकारीका लागि प्रस्तुत इकागज स्कुल : 

राष्ट्रिय सभा भनेको के हो ? 
संघीय संसद (व्यवस्थापिका) का दुई सदनका रूपमा प्रतिनिधि सभा र राष्ट्रिय सभा रहन्‍छन् । राष्ट्रिय सभालाई माथिल्लो सदन पनि भनिन्‍छ । यसलाई स्थायी सदन भनिन्‍छ । 


राष्ट्रिय सभा कसरी गठन हुन्‍छ ? 
राष्ट्रिय सभामा ५९ सदस्य रहन्‍छन् । प्रदेश सभा सदस्य, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख रहेको निर्वाचक मण्डलले संघीय कानुन बमोजिम प्रदेश सभाका सदस्य, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिका प्रमुख र उपप्रमुखको मतको भार फरक हुनेगरी प्रत्येक प्रदेशबाट कम्तीमा तीन जना महिला, एक जना दलित र एकजना अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यक सहित आठ जना गरी ५६ जना निर्वाचित हुन्‍छन् । त्यसका अतिरिक्त नेपाल सरकारको सिफारिशमा राष्ट्रपतिबाट मनोनीत कम्तीमा एक जना महिलासहित तीन जना राष्ट्रिय सभाको सदस्य रहन्‍छन् ।

राष्ट्रिय सभा स्थायी सदन हो भने निर्वाचित भएकाहरू कसरी बाहिरिन्‍छन्, नयाँ कसरी आउँछन् ? 
राष्ट्रिय सभाका एक तिहाई सदस्यको पदावधि प्रत्येक दुई वर्षमा समाप्त हुन्‍छ । तर २०७२ मा संविधान जारी भएपछि पहिलोपटक राष्ट्रिय सभा गठन हुँदा एक तिहाइ सदस्यको पदावधि कायम गर्दा गोलाप्रथाद्वारा एक तिहाईको दुई वर्ष, अर्को एक तिहाईको चार वर्ष र बाँकी एक तिहाइको ६ वर्षको हुने गरी पदावधि कायम गरिएको छ । त्यसकारण राष्ट्रिय सभा कहिले पनि रिक्त हुँदैन । सोही कारण यसलाई स्थायी सदन पनि भनिन्‍छ । रिक्त हुन आएमा स्थान पूर्ति गर्दा रिक्त गर्ने सदस्यको निर्वाचन वा मनोनयन जुन तरीकाले भएको थियो सोही तरिकाले बाँकी अवधिका लागि गरिन्‍छ । 

राष्ट्रिय सभाको सदस्य बन्‍न के योग्यता चाहिन्‍छ ? 
३५ वर्ष उमेर पूरा भएको नेपाली नागरिक राष्ट्रिय सभाको सदस्य बन्‍न योग्य हुन्‍छ । नैतिक पतन देखिने फौजदारी कसूरमा सजाय नपाएको, कुनै संघीय कानुनले अगोग्‍य नभएको र कुनै लाभको पदमा बहाल नरहेको व्यक्ति राष्ट्रिय सभाको सदस्य बन्‍न योग्य हुन्‍छ । लाभको पद भन्‍नाले सरकारी कोषबाट पारिश्रमिक वा आर्थिक सुविधा पाउने अन्य पदलाई भन्‍न खोजिएको हो । राष्ट्रिय सभामा बहाल भएको दिनदेखि उक्त व्यक्तिको राजनीतिक पद रहनेछैन । ऊ/उनी राष्ट्रिय सभा सदस्यमात्र रहने व्यवस्था छ । 

कुनै व्यक्ति राष्ट्रिय सभा र प्रतिनिधि सभाको एकैपटक सदस्य बन्‍न सक्छ ? 
कुनै पनि व्यक्ति एकै पटक दुवै सदनको सदस्य बन्‍न पाउँदैन । प्रतिनिधि सभामा पराजित व्यक्तिहरूलाई तुरुन्तै राष्ट्रिय सभामा निर्वाचन र मनोनयनबाट ल्याएर जनअभिमतविरुद्ध काम गरेको भनेर दलहरू, सरकार र राष्ट्रपतिको समेत आलोचना भइरहेको छ ।

राष्ट्रिय सभाको अध्यक्ष र उपाध्यक्ष कसरी चयन हुन्‍छ ? 
सदन सञ्चालनका लागि प्रतिनिसभामा सभामुख र उपसभामुख भनेजस्तै राष्ट्रिय सभामा अध्यक्ष र उपाध्यक्ष रहन्‍छन् । राष्ट्रिय सभाको पहिलो बैठक प्रारम्भ भएको मितिले १५ दिनभित्र राष्ट्रिय सभाका सदस्यहरूले आफूमध्येबाट राष्ट्रिय सभाका अध्यक्ष र उपाध्यक्षको निर्वाचन गर्छन् । एक चौथाई सदस्य पनि नपुगेको खण्डमा गणपूरक संख्या पुग्दैन र त्यहाँ कुनै प्रश्न वा प्रस्ताव निर्णयका लागि प्रस्तुत गर्न पाइँदैन । 

प्रतिनिधि सभा नहुँदा विधेयक निष्क्रिय हुने भएपछि अहिले राष्ट्रिय सभाले के काम गर्छ ? 
राष्ट्रिय सभामा रहेका विधेयकमाथि छलफल गर्ने, सार्वजनिक महत्वका विषयमा छलफल गर्ने लगायतका काम गर्न सक्छ । प्रतिनिधि सभाबाट अनुमोदन भएर आएको विधेयक छ भने त्यो राष्ट्रिय सभामा  छलफल गरी अनुमोदन हुनसक्छ । तर पहिले राष्ट्रिय सभामा दर्ता भएको विधेयक छ भने त्यसलाई अनुमोदन  गरी प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पठाउने अधिकार राष्ट्रिय सभालाई छैन । प्रतिनिधि सभाले अनुमोदन नगरेको विधेयक राष्ट्रिय सभाले पहिले छलफल गरेपनि त्यी विधेयक पुनः प्रतिनिधि सभामा छलफल र अनुमोदन हुनुपर्छ । त्यपछि मात्र राष्ट्रपतिकहाँबाट प्रमाणीकरण भइ सरकारले पठाएका विधेयकले कानुनी मान्यता पाउँछन् । 

प्रतिनिधि सभा विघटनको विषय राष्ट्रिय सभामा छलफल गर्न मिल्छ कि मिल्दैन ? 
राष्ट्रिय सभाले प्रतिनिधि सभा विघटनको संवैधानिकताका विषयमा छलफल गर्न सक्छ । तर विघटित प्रतिनिधि सभाका विषयमा राष्ट्रिय सभामा छलफल गरे पनि त्यसको कुनै अर्थ देखिन्‍न ।

राष्ट्रिय सभाले के अधिकार प्रयोग गर्न सक्छ ?
संकटकालीन अवस्था घोषणा भयो भने प्रतिनिधि सभा विघटन भएको अवस्थामामा संघीय संसद्‍ले प्रयोग गर्ने अधिकार राष्ट्रिय सभाले प्रयोग गर्ने संविधानमा व्यवस्था छ ।

र, यो पनि
- इकागज स्कुल : अदालती प्रक्रियाबारे अलमल छ ? पठनीय छन् यी सात प्रश्‍नोत्तर

 


Author

थप समाचार
x