राजनीति

समाचार टिप्पणी

कसले फर्काउला मधेशमा नेपाली कांग्रेसको साख ?

पुष्पराज आचार्य |
पुस १५, २०७८ बिहीबार ९:५० बजे

काठमाडौँ – नेपाली कांग्रेसको स्थापनादेखि नै मधेश उर्बरभूमिका रूपमा थियो । प्रतिबन्धित अवस्थामा कांग्रेसका नेता तथा कार्यकर्ता फारबिसगन्ज, मुजफ्फरपुर, लखनउ, दिल्ली र बनारसमा बस्थे भने राणा विरोधी र पछि पञ्चायत विरोधी क्रियाकलापहरू भारतीय सीमाबाट नजिकक तराई भूभागमा गरिन्थे । एक त नेपाली कांग्रेसका संस्थापक बीपी कोइरालाको परिवार विराटनगरमा रहेकाले पनि विराटनगर नेपाली कांग्रेसको राजनीतिको मुकाम थियो । बीपी कोइराला, महेन्द्रनारायण निधि, शेख इदृश, महेश्वरप्रसाद सिंह लगायत थुप्रै नेताको राजनीतिमा उदय मधेशबाट भएको देखिन्छ । पञ्चायतकालमा महन्थ ठाकुर, सरोज कोइरालाहरूले मधेशबाट नै पञ्चायत विरोधी आन्दोलनलाई तीव्र पारेका थिए । 

२०१५ सालको आम निर्वाचनमात्र होइन, पञ्चायती व्यवस्थाको अन्त्यपछि २०४८, २०५१ र २०५६ मा नेपाली कांग्रेस नै मधेशमा सबैभन्दा धेरै सीट जित्ने पार्टी थियो । मधेशका नेता भनेर चिनिने गजेन्द्रनारायण सिंहले पनि आफ्नो राजनीतिक जीवनको शुरुवात नेपाली कांग्रेसमा रहेरै गरेपनि पछि उनले मधेशलाई केन्द्रित गरेर सद्भावना पार्टी बनाए । उक्त पार्टीमा धेरै जुटफुट चलिरहेकै परिप्रेक्ष्यमा २०६२/६३ को परिवर्तनपछि मधेशमा थुप्रै पार्टीहरूको उदय भयो । सुरुवातमा उपेन्द्र यादव नेतृत्वको मधेशी जनाधिकार फोरम अगाडि आयो, त्यसपछि हृदयेश त्रिपाठीले नेपाली कांग्रेसका नेता महन्थ ठाकुरलाई लिएर तराई–मधेश लोकतान्त्रिक पार्टी स्थापना गरे । ठाकुर लगायत नेपाली कांग्रेसका नेताहरू शरतसिंह भण्डारी, जयप्रकाश गुप्ता, विजयकुमार गच्छदार मधेशवादी पार्टीमा समाहीत भए । नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) राष्ट्रिय राजनीतिमा दुई ठूला दल भएपनि एमालेले मधेशमा संगठन बनाउन सकेन । नेपाली कांग्रेसबाट सीधै मधेशको राजनीति मधेशवादी दलहरूको पोल्टामा गयो । 


नेपाली कांग्रेसले आफ्नो गढ (आधार इलाका) मान्ने मधेशमा थुप्रै मधेशवादी पार्टीहरू स्थापना भएर उसको संगठन कमजोर हुने स्थिति किन आयो ? नेपाली कांग्रेसका नेता महेश आचार्यको दृष्टिमा मधेशले आर्थिक विकास खोजिरहेको छ र त्यो परिवर्तन खोज्ने क्रममा पुराना नेता र दलबाट भएन, अब नयाँबाट हुन्छ कि भन्ने स्वभाविक आकर्षण देखिएको हो । ‘तर अब उनीहरूमा मधेशकेन्द्रित दलहरूको पनि भरोसा टुटेकाले मधेशमा नेपाली कांग्रेसको साख फर्काउने समय हो,’ उनले भने, ‘कांग्रेसले त्यसका लागि मधेशी जनतालाई भरोसा दिलाउन सक्नुपर्छ ।’ 

आचार्यका अनुसार गिरिजाप्रसाद कोइराला मधेशका टोलबस्तीमा पुग्दा उनीहरू अनेकन माग लिएर आउँथे– सिंचाई, मलखाद, बाटोघाटो लगायत यावत् ध्यानाकर्षण पत्रका चाङ लाग्थे । ‘गिरिजाबाबु त्यसप्रति गम्भीर हुनुहुन्थ्यो, हामीलाई छिटो काम गर । प्रशासनिक झञ्झटमा नअल्झ, सबै जिम्मेवारी म लिन्छु भन्नुहुन्थ्यो,’ उनले भने, ‘मधेशले खोजेको आर्थिक–सामाजिक रूपान्तरणलाई मूर्त रूप दिन उहाँ तल्लीन हुनुहुन्थ्यो ।’ 

वास्तवमै मधेशको राजनीति आफ्नो हातबाट कसरी गुम्यो भन्नेमा नेपाली कांग्रेसले आत्मसमीक्षा गर्नुपर्ने र सोही अनुसार मधेशी जनतालाई विश्वास दिलाउन सक्नुपर्ने उनको भनाइ छ । 

२०६२/६३ पछि नेतासँगसँगै कांग्रेसले मधेशमा कार्यकर्ताको आधार पनि गुमायो । सबैले पार्टी छाडेर गएपछि विमलेन्द्र निधि नेपाली कांग्रेसमा मधेशको हर्ताकर्ता नेता बने । निधिले मधेशमा नेपाली कांग्रेसको साख फर्काउन सकेनन् । गच्छदारले मधेशी जनाधिकार फोरम (लोकतान्त्रिक) लाई नेपाली कांग्रेससँग एकता त गराए तर पुरानो साख फर्काउन सकेनन् । गच्छदार आफैं ललिता निवासको जग्गा हिनामिना प्रकरणमा तानिए । १४औं महाधिवेशनमा उपसभापतिको उम्मेदवार बनेका गच्छदार आफैं धनराज गुरुङ्गसँग झिनो मतान्तरले पराजित भए । 

नेपाली कांग्रेसका नेता अमरेशकुमार सिंह निधिको कटु आलोचक हुन् । उनी भन्छन्, ‘मधेशले विमलेन्द्र निधिलाई पार्टीको उपसभापतिसम्म बनायो । १४औं महाधिवेशनमा सभापतिमा पनि प्रतिस्पर्धा गर्नुभयो । तर मधेशमा उहाँले नेपाली कांग्रेसलाई झनै कमजोर बनाउनुभयो ।’ 

सिंहले निधिको नेतृत्वमा मधेशमा कांग्रेस ‘गाई चराउने मोटाउने तर गाई दुब्लाउने’ भनेजस्तो अर्थात् राजनीति गर्नेले पार्टीमा र सरकारमा ठूलो पद पाउने तर पार्टी झन कमजोर हुने स्थिति भएको बताए । ‘मधेशको सबाल आउनेबित्तिकै शेरबहादुर दाई, रामचन्द्र दाईहरू आफू नहेर्ने, यो विमलले गर्छ/उसले हेर्छ भनेर जिम्मा लगाउने गर्न थाल्नुभयो,’ उनले भने, ‘एउटा व्यक्तिलाई नेपाली कांग्रेसको मधेशको राजनीति जिम्मा लगाउँदा उहाँको महत्वाकांक्षा त बढ्यो, तर कांग्रेसलाई घाटामात्र भयो ।’ 

नेपाली कांग्रेसले १४औं महाधिवेशन संघीय विधान अनुसार पहिलोपटक पार्टीको महाधिवेशन गरेको छ । जसमा मधेशी लगायत आठओटा क्लस्टरबाट सहमहामन्त्री चुनिएका छन् । पदाधिकारीमा सबै क्लस्टरको प्रतिनिधित्व गराउन सह–महामन्त्रीमा यो व्यवस्था गरिएको हो भने केन्द्रीय सदस्यहरूपनि विभिन्न क्लस्टरबाट निर्वाचित गराउने व्यवस्था गरिएको छ । 

यसपटक सभापतिमा विमलेन्द्र निधिले प्रतिस्पर्धा गरेपनि उनी सफल हुन सकेनन् । उपसभापति र महामन्त्रीमा पनि मधेशी नेताहरू छैनन् । सह–महामन्त्रीमा मधेशी क्लस्टरबाट महेन्द्र यादव निर्वाचित भए । यसपटक सह–महामन्त्रीको भन्दा पनि धेरै केन्द्रीय सदस्यमा विभिन्न क्लस्टरबाट प्रत्यक्षतर्फ निर्वाचन लडेका महिला, मधेशी र आदिवासी जनजातितर्फका उम्मेदवारहरूको बढी चर्चा भयो । 

मधेशी क्लस्टरबाट केन्द्रीय सदस्यमा दोस्रो उच्च मत ल्याएर निर्वाचित भएका उद्योगपति विनोद चौधरी क्लस्टर आरक्षणमात्र नभएर आफ्नो राजनीतिक स्वामित्वको सवाल भएको बताउँछन् । ‘म नवलपुरलाई आधार बनाएर काम गरें । त्यहाँ वडादेखि क्षेत्रीय प्रतिनिधि, अनि महाधिवेशन प्रतिनिधि निर्वाचित हुँदै आएको हुँ,’ उनले भने, ‘मधेशमा नेपाली कांग्रेसको साख फर्काउने संकल्पसहित राजनीतिमा आएको हुँ ।’ 

चौधरीसहित मधेशी कोटाबाट अजयकुमार चौरसिया, डा.चन्द्रमोहन यादव, दिनेशकुमार यादव र महेन्द्रकुमार राय निर्वाचित भएका छन् ।  यादव पूर्वराष्ट्रपति डा. रामवरण यादवका छोरा हुन् । पूर्वराष्ट्रपतिका छोरा भएपनि डा. चन्द्रमोहन मधेशको राजनीतिमा विमलेन्द्र निधिबाट पीडित भएको बताउने गर्छन् । उनका अनुसार मधेशमा नेपाली कांग्रेसको राजनीतिमा पार्टीभन्दा पनि व्यक्तिकेन्द्रित राजनीति विकराल समस्या बन्दै गएको छ । त्यस्तै अजयकुमार चौरसिया स्थापित नेता हुन् । आदिवासी जनजाति तथा महिला क्लस्टरमा पनि स्थापित नेताहरू नै निर्वाचन लड्नु गलत हो ? भन्ने प्रश्नमा चौधरी भन्छन् – ‘कसैलाई केही अनुहारहरूसँगै एलर्जी छ भने त्यसमा केही भनिरहने कुरा भएन । जुनसुकै समूह (क्लस्टर)बाट निर्वाचन लडेपनि प्रत्यक्षतर्फ मतदान गर्ने महाधिवेशन प्रतिनिधि तिनै हुन् ।’ 

उनले राजनीतिमा उद्यमी, व्यवसायी, पेशाकर्मीलाई विशेष व्यवस्था सहित दलहरूमा ल्याउने अभ्यास अन्यत्र भएपनि यहाँ प्रत्यक्ष निर्वाचितहरूमाथि समेत कसैको इसारामा आक्रमण (लाञ्छित) गर्ने काम भइरहेको बताए । 

चौधरीले आगामी दिनमा मधेशको राजनीतिमा आफूलाई सक्रिय गराउने संकेत दिएका छन् । राजनीतिमा उनी जम्छन् कि जम्दैनन् भन्ने सर्वथा उनले कसरी काम गर्छन् भन्नेमा निर्भर हुनेछ । मधेशमा कांग्रेसको गुमेको साख फर्काउने उनको संकल्पमा उनी कति सफल हुनेहुन्, त्यो त आगामी दिनले बताउनेछ । अन्य पेशा, व्यवसायमा सफल भएर राजनीतिमा आएकाहरू सफल भएका उदाहरण पनि छन्, कसैले बीचमै ‘नट माइ कप अफ टी’ (मेरो वशको वात होइन) भनेर छाडेका पनि छन् भने कतिपयलाई जनताले ‘वन साइज डज नट फिट्स अल’ (एक ठाउँमा सफल हुँदैमा सबै ठाउँमा सफल हुन्छ भन्ने छैन) भनेर विदा गरेका छन् । 

प्रत्यक्षतर्फ निर्वाचित भएर आफ्नो स्पष्ट संकल्पसहित राजनीतिमा आएका व्यक्तिलाई कामको आधार (गुण र दोष)का आधारमा मूल्यांकन गर्नु उचित हुन्छ । विनोद चौधरी मधेशमा कांग्रेसको गुमेको साख फर्काउन सफल होलान् या नहोलान्, त्यो त समयले नै बताउनेछ ।


Author

पुष्पराज आचार्य

अर्थराजनीति विषयमा कलम चलाउने आचार्य समाचार प्रमुख हुन् ।


थप समाचार
x