राजनीति

राष्ट्रिय सभाको निर्वाचनमा जनमोर्चाबाट राजेश विश्वकर्मा उम्मेदवार

इकागज |
पुस १९, २०७८ सोमबार १४:४९ बजे

काठमाडौँ – माघ १२ गते हुने राष्ट्रिय सभा सदस्यको निर्वाचनमा राष्ट्रिय जनमोर्चाले उम्मेदवारको टुंगो लगाएको छ ।  आज सोमबार बसेको सत्तारुढ गठबन्धनको बैठकले जनमोर्चालाई दलित कोटामा एक सिट दिने निर्णय गरेपछि जनमोर्चाले राजेश  विश्वकर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको अध्यक्ष चित्रबहादुर केसीले इकागजलाई जानकारी दिए ।  

सोमबार बसेको गठबन्धन बैठकले भागबण्डा टुंग्याएको हो ।  जनमोर्चा उपाध्यक्ष दुर्गा पौडेलका अनुसार खाली हुने पदमा जसको खाली हुने हो सोही पार्टीको उम्मेदवारलाई गठबन्धनले सघाउने निर्णय भएको छ । एमालेको खाली आठ सिटमा भने गठबन्धनबीच भागबण्डा भएको पौडेलले जानकारी दिइन् । जसमा कांग्रेसले तीन सिट, जसपाले दुई सिट, नेकपा माओवादी र नेकपा (एस)ले एक/एक सिट लिने सहमति बनेको उनको भनाइ छ । 


आगामी फागुनदेखि चारवर्षे कार्यकाल पुरा गरेका राष्ट्रियसभाका २० सांसद बिदा हुँदैछन् । एमालेबाट आठजना, माओवादी केन्द्रबाट चार, नेकपा एकीकृत समाजवादीबाट चार, कांग्रेसबाट तीन र मनोनीत एकजना सांसद बिदा हुने क्रममा छन् ।

कांग्रेसले ६ सिटमा प्रतिस्पर्धा गर्ने छ भने माओवादी र नेकपा एसले पाँच/पाँच सिटमा प्रतिस्पर्धा गर्न पाउने भएका छन् । २० मध्ये १९ जना निर्वाचनबाट चुनिएर आउने छन् भने एक जनालाई मनोनीत गरिनेछ । 


Author

थप समाचार
x