राजनीति

खानेपानी योजनाका प्रमुखहरू गैरजिम्मेवार हुँदा सभापतिले बैठकमै हप्काइन्

इकागज |
पुस ३०, २०७८ शुक्रवार १८:५५ बजे

फाइल तस्वीर

काठमाडाैँ – खानेपानी व्यवस्थापन र वितरणको जिम्मेवारी पाएका खानेपानी योजनाका प्रमुखहरू गैरजिम्मेवार भएर संसद्को विकास तथा प्रविधि समितिमा प्रस्तुत हुँदा सभापतिको खप्की खानु परेको छ । 

शुक्रबार प्रतिनिधि सभा अन्तर्गतको विकास तथा प्रविधि समितिको बैठकमा खानेपानी मन्त्री, सचिव र मन्त्रालय अन्र्तगतका आयोजना प्रमुखहरूलाई बोलाएको थियो। छलफलमा खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक तिरेश खत्री, मेलम्ची खानेपानी आयोजना विकास समिति कार्यकारी निर्देशक बासुदेव पौडेल, खानेपानी आयोजना कार्यान्वयन निर्देशनालय निर्देशक कमलराज श्रेष्ठ, काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्ड प्रमुख संजिव विक्रम राणा र काठमाडौं उपत्यका खानेपानी लिमिटेडका प्रमुख मिलन शाक्यले समिति बैठकमा खानेपानीमा भएका समस्या, चुनौती वा कुनै आगामी योजनाका विषयमा कुरा नराखेपछि समिति सभापतिले हप्काएकी छन् ।


उनीहरूसँग समितिले अहिले भइरहेका आयोजनाको वर्तमान अवस्था र आगामी दिनमा सरकारले खानेपानी क्षेत्रमा गर्नुपर्ने विषयमा छलफल गर्न बोलाएको थियो । अझ उपत्यका खानेपानी लिमिटेड र ढल व्यवस्थापन अन्य विभागभन्दा पनि मेलम्ची खानेपानी आयोजनाले आगामी दिन कसरी अगाडि बढ्दै छ र सरकारले के गर्नु पर्छ भन्ने विषय महत्वका साथ उठ्ने समितिले अपेक्षा गरेको भन्दै पूर्वसूचना गरे पनि पदाधिकारीहरू त्यसै बैठकमा उपस्थित भएका थिए । 

खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक तिरेश खत्रीले विभाग अन्तर्गत १० वटा शाखा रहेको बताए। उनले विभागले सहरी खानेपानी तथा सरसफाइ आयोजनाको काम गर्दै आएको बताए । खत्रीले भने,‘ यो विभाग अन्तर्गत १० वटा शाखा रहेका छन्। जसमा २ वटा महाशाखा र ८ वटा शाखा रहेका छन । त्यहीबाट सहरी खानेपानी तथा सरसफाइ आयोजनाका काम गरिहेका छौं । एसियाली विकास बैंकको सहयोगमा सञ्चालन गरेका आयोजनाहरूलाई कार्यन्वयन गर्ने काम गरेको छ । विभागले केन्द्रिय स्तरका आयोजनामा निर्माणको काम गर्दै आएको छ। अहिलेसम्म केन्द्रीय स्तरका २४ आयोजनामा १० निर्माण भइसकेका छन्।’

त्यस्तै मेलम्ची खानेपानी आयोजना विकास समितिका कार्यकारी निर्देशक बासुदेव पौडेलले मेलम्चीको भौतिक प्रगति ९५ प्रतिशत भएको बताए । उनी मेलम्चीको पानी काठमाडौंमा ल्याएर ती महिना परिक्षणसमेत गरेको बताए ।  पौडेलले भने,‘मेलम्ची खानेपानी गत आर्थिक वर्षमा सुरुङ र टनेलको काम ९५.५ प्रतिशत काम सम्पन्न गरेर तीन महिना काठमाडौं उपत्यकामा पानी पठाएका थियौं । मेलम्ची हेड बक्सको ९५ प्रतिशत काम सकिएको थियो। काठमाडौंमा मेलम्चीको पानी ल्याएर परिक्षण समेत सकिएको थियो । सामाजिक उत्थान कार्यक्रम भनेर सिन्धुपाल्चोक जिल्लाका साविकका ३० गाविस र काभ्रे जिल्लाका ५ गाविस गरी ३५ गाविसमा मेलम्ची खानेपानी आयोजनाले आर्थिक आयआर्जन र रोजगारीका कार्यक्रमहरू गदै आएको छ। मेलम्ची खानेपानी आयोजनाले मुआब्जा परक्षपन गरेको ९२ करोड १० लाख मध्येमा अहिलेसम्म ८४ करोड ५६ लाख वितरण गरिएको छ ।  गत असार १ गते मेलम्चीमा आएको बाढीको कारण २७ किलो सडक ८ किलोमिटर सडक पूर्णरुपमा क्षति भएको छ ।’ 

त्यस्तै काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्ड प्रमुख संजिव विक्रम राणाल बोर्डले उपत्यका खानेपानीमा रहेको सम्पत्ती सुरक्षाको काम गर्दै आएको बताए । उनले भने,‘हामीले काठमाडौं उपत्यकाको खानेपानी निर्माणको लागि रहेका सम्पत्तिको सुरक्षा गर्दै आएको छ। बोर्ड साना खानेपानी आयोजनाको काम गदै आएको छ। काठमाडौं उपत्यकाका खानेपानी व्यवस्थापन सहयोग गर्दै आएको छ।’

त्यस्तै काठमाडौै उपत्यका खानेपानी लिमिटेडका प्रमुख मिलन शाक्यले उपभोक्तालाई गुणस्तरिय र सर्वसुलव पानी दिने काम गर्दै आएको बताए। उनले पछिल्लो समय काठमाडौं  उपत्यकामा उपभोक्ताको माग अनुसार सबै जानकारी सामाजिक सञ्चाल मार्फत दिने गरेको बताए । शाक्यले भने,‘उपभोक्तालाई गुणस्तरिय र सर्वसुलव पानी दिने काम गर्दै आएको छ। अहिले मेलम्ची खानेपानी आएपछि पुराना बिग्रिएर पाइप लाइन मर्मत गर्ने काम भएको छ। चुहावट रोक्ने काम पनि निरन्तर रुपमा गरिहेका छौं । त्यस्तै अन्य खानेपानी वितरणमा देखिएका समस्या समाधान गर्दै खानेपानी वितरणको जानकारी दिने काम गरिएको छ । पछिल्लो समय काठमाडौं उपत्यकामा उपभोक्ताको मागअनुसार सबै जानकारी सामाजिक सञ्चालमार्फत दिने गरेका छौं ।’

बैठकमा विकास तथा प्रविधि समिति सभापति कल्याणी खड्काले बैठकमा यस अगाडि नै प्रस्तुत भएको विषय प्रस्तुत भएको भन्दै असन्तुष्टि जनाइन् । उनले मेलम्ची खानेपानी आयोजनाको विषयमा यस अगाडि नै जानकारी गराएको पुरानै विषय वस्तु भएको बताइन् । खड्काले समग्र खानेपानी क्षेत्रमा अहिले भएका र आगामी दिनमा सरकारले गर्नु पर्ने विषयमा जानकारी दिनु पर्नेमा त्यस्तो नभएको बताए । समिति सभापति खड्काले भनिन्,‘ पहिला नै प्रस्तुत भएको विषय प्रस्तुत भयो । समितिले यस्तो जानकारी चाहेको होइन । मेलम्ची खानेपानी आयोजनाको विषयमा यस अगाडि नै जानकारी गराएको पुरानै विषय वस्तु आयो । असारको बाढीले पुर्‍याएको क्षतिको विषयमा जानकारी दिनुपर्ने जरुरी थिएन । हामीले आज नै मन्त्रीपरिषद्मा खानेपानीको विषयमा पेश गर्न तयारीमा छौं । हामीले खानेपानीको लागि के गर्नु पर्ने एक दुई वटा विषय फाइनल गर्नु पर्ने भए पनि केही पनि आएन । समग्र खानेपानी क्षेत्रमा अहिले भएका र आगामी दिनमा सरकारले गर्नु पर्ने विषयमा जानकारी दिनु पर्नेमा त्यस्तो भएन। मन्त्रालय आफैले गर्नु पर्ने विषय  हो ।’ 


Author

थप समाचार
x