राजनीति

शेखर कोइराला समूहको भर्चुअल बैठक

सभापतिले सत्तागठबन्धनमा एकलौटी छलफल गरेको भन्दै शेखर समूहको आपत्ति

स्थानीय तहको निर्वाचन वैशाखमै हुनुपर्ने र कांग्रेस एक्लै चुनावमा जानुपर्ने अडान

इकागज |
माघ १०, २०७८ सोमबार १८:१ बजे

काठमाडौँ – नेपाली कांग्रेसका नेता डा.शेखर कोइराला समूहले सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनको विषयमा पार्टीमा छलफल नगरी सत्ता गठबन्धनमा कुरा गरेको भन्दै आपत्ति जनाएको छ । आज डा.शेखर कोइरालाले आह्वान गरेको भर्चुअल बैठकमा छलफल गर्दै सो समूहका शीर्ष नेताले पार्टीभित्र छलफल नगरी, साझा धारणा नबनाइ एकलौटी गरेको भन्दै आपत्ति जनाएका हुन् ।  

‘सभापतिले पार्टीभित्र छलफल नै नगरी गठबन्धनका नेतासँग स्थानीय तहको निर्वाचनबारे छलफल गरेको गलत छ,’ भर्चुअल बैठकमा कोइरालाले भने, ‘पार्टी भित्र साझा धारणा बनाएर मात्रै अन्य पार्टीसँग छलफल गर्नुपर्थ्यो । न्यायीक साझेदारी भएन । सभापतिले गठबन्धनका नेतासँग एक्लै एक्लै–एक्लै भेटेर आफू अनुकल कुरा गर्न हुँदैन ।’ 


छलफलमा सहभागी नेताहरुले स्थानीय तहको निर्वाचन बैशाखमै हुनुपर्ने पनि बताए । त्यस्तै स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस एक्लै चुनावी मैदानमा जानुपर्ने निष्कर्ष पनि आजको छलफलले निकालेको छ ।  यसको लागि सभापति देउवालाई दबाब दिने भनिएको छ । देउवाले पार्टीभित्र पेलेर जाने रणनीति बनाएकोले त्यसलाई स्वीकार नगर्ने पनि आजको छलफलले निर्णय गरेको छ ।  

‘सभापति अहिले पेलेर जाने देखियो यो स्वीकार गर्न सकिँदैन,’ कोइरालाले भने, ‘स्थानीय तहको निर्वाचन बैशाखमै गर्नुपर्ने, पार्टीभित्र एकता कायम गरेर एक्लै निर्वाचनमा जानुपर्ने, न्यायालय अनिर्णयको बन्दी भयो यसमा एक्सन लिनुपर्नेलगायतका विषयमा दबाब दिइनेछ ।’ 

उक्त भर्चुअल बैठकमा स्थानीय तहको निर्वाचन सार्नै नहुने र यसका लागि सभापतिलाई दबाब दिने विषयमा पनि कुरा भएको थियो ।  ‘निर्वाचन सार्ने कुरा पार्टीभित्र कुरा हुँदैन, समाचारमा सुनिन्छ निर्वाचन सार्ने भनेर,’ कोइरालाले भने, ‘सभापतिले केन्द्रीय समितिको बैठक नबोलाउने, एक्लै एक्लै निर्णय गर्ने, छलफल गर्ने गरेकोप्रति हाम्रो आपत्ति छ ।’ 
उक्त समूहले सभापति देउवा आफ्नो समूहलाई पेलेरै जाने गरी अघि बढेको भन्दै आपत्ति जनाएको छ । डा.कोइरालाले डाकेको भर्चुअल बैठकमा नेताहरु अर्जुननरसिंह केसी, रामशरण महत, बलबहादुर केसी, महामन्त्री गगनकुमार थापा, मिनेन्द्र रिजाल, चन्द्र भण्डारीलगायतका नेता सहभागी थिए । उपसभापति धनराज गुरुङ र सहमहामन्त्री बद्री पाण्डे भने राष्ट्रिय सभाको निर्वानको लागि जिल्ला गएकोले आजको छलफल सहभागी नभएको बताइएको छ ।   
 


Author

थप समाचार
x