राजनीति

खेलकुदका कार्यक्रमलाई अघि बढाउन सरकारलाई सुझाव

इकागज |
फागुन ३, २०७८ मगलवार १७:४८ बजे

काठमाडौं–शिक्षा तथा स्वास्थ्य समितिले खेलकुदका कार्यक्रमहरुलाई तीव्र गतिमा अघि बढाउन सरकारलाई सुझाव दिएको छ ।

मंगलवार सिंहदरवारमा भएको समितिको बैठकले अन्तर्राष्ट्रिय स्तरमा नेपाललाई चिनाउनका लागि खेल क्षेत्र महत्वपूर्ण रहेको भन्दै खेलकुदका कार्यक्रमहरुलाई तीव्र गतिमा अघि बढाउन सरकारको ध्यानाकर्षण गराएको हो।


बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद योगेश भट्टराईले खेलकुद मन्त्रालयको मध्यकालीन समीक्षा लज्जास्पद भएको बताए। उनले मध्यकालसम्म आइपुग्दासमेत मन्त्रलयले २ प्रतिशत पनि पुँजीगत खर्च गर्न नसक्नु अयोग्यताको पराकाष्ठा भएको बताए। 

सरकारले समेत १४ प्रतिशतभन्दा बढी पुँजीगत खर्च गर्न नसक्नु भनेको सरकारको अयोग्यताको प्रमाण रहेको उनको भनाई थियो।

बैठकमा नेकपा (माओवादी केन्द्र)का सांसद गिरिराजमणि पोखरेलले नेपाली खेलहरूको संरक्षण गर्न आवश्यक रहेको भन्दै मन्त्रालयको ध्यानाकर्षण गराए। उनले कोभिडको कारणले रोकिएका खेलकुदका गतिविधिलाई अघि बढाउने, खेलहरुको आयोजना गर्ने र पूर्वाधार निर्माणको कुरालाई अघि बढाउन पनि मन्त्रालयसँग आग्रह गरे।  

त्यस्तै नेकपा एमालेकी सांसद मनकुमारी जिसीले खेलकुद मन्त्रालयले संरचनागत रुपमा बजेट चलाउँदा राम्रो हुने बताइन्। सरकार नियुक्ति भएकालाई बदर गर्ने, अदालतले फेरि ठहर गर्ने, काममा मात्रै व्यस्त भयो भन्ने कुरा भन्दा माथि उठेर खेलकुदको जग बसाल्नुपर्ने उनको भनाइ थियो। 

त्यस्तै नेकपा एमालेकै सांसद खगराज अधिकारीले मन्त्रीहरुले अदालतले कामका लागि पठाएका कर्मचारीहरुलाई काम गर्न नदिएर थर्काउँदै बेइज्जती हुन शोभा नदिने बताए। 

त्यस्तै नेकपा (माओवादी केन्द्र) का सांसद सुरेशकुमार राईले खेलक्षेत्रलाई जनतासँग जोड्न आवश्यक रहेको बताए । सांसदहरु जनतासँग जोडिए पनि काठमाडौं आएपछि बिर्सिने गरेको भन्दै पालिकास्तरको खेलग्रामका कार्यहरु अघि बढाउनु पर्ने उनको भनाइ थियोे ।

त्यस्तै नेकपा (एकीकृत समाजवादी) का सांसद जीवनराम श्रेष्ठले खेलकुद मन्त्रालय सामाजिक, राजनीति र आर्थिक हिसावले महत्वपूर्ण भएपनि सरकारभित्रको प्राथमिकतामा पर्न नसकेको बताए। मन्त्रालयले युवावर्गहरु लगभग ४१ प्रतिशत जनसंख्यालाई प्रभावित पार्न सक्ने भएपनि विनियोजन भएको बजेट चिन्ताजनक रहेको उनले भनाइ राखे ।


Author

थप समाचार
x