राजनीति

युक्रेनमा छन् स्थायी बसोबास गर्ने ३४ नेपाली, दूतावास भन्छ- उद्धार गर्नुपर्दैन

अतिन आचार्य |
फागुन १०, २०७८ मंगलबार १४:४९ बजे

काठमाडौँ- युक्रेनमा स्थायी रुपमा विभिन्न व्यवसाय गरी बसोबास गरिरहेका करिब ३४ जना नेपाली रहेका छन् । सन् २०२० मा त्यहाँको अध्यागमनको तथ्यांकअनुसार ३४ नेपाली स्थायी बसोबास गरिरहेका हुन् ।

दूतावासमा प्राप्‍त तथ्यांकअनुसार एक नेपाली अमेरिका गएको र अर्का भने नेपाल गएको जर्मनस्थित राजदूत रामकाजी खड्काले इकागजलाई जानकारी दिए । उनले युक्रेनमा रहेका नेपालीको अवस्था सामान्य रहेको बताए । विभिन्‍न मुलुक जान भनी पुगेका करिब डेढ सय नेपाली रहेको उनले जानकारी दिए ।


हालसम्म त्यहाँ रहेका नेपालीहरूलाई उद्धार गर्न आवश्यक नरहेको उनले बताए । विभिन्न मुलुक जान हिडेका करिब डेढसय जना नेपाली रहेको जानकारी प्राप्‍त उनको भनाइ छ । खड्काले भने,' सबैभन्दा बढी खार्कोभ क्षेत्रमा नेपाली रहेका छन् । ओडीसा, सोमे, किएभ र खार्कोभमा नेपाली रहेका छन् । त्यहाँ रहेका नेपालीहरूले नियमित रुपमा काम गर्न पाइरहेको खबर प्राप्‍त भएको छ ।'

डोनेस्क र लुहान्स्क क्षेत्रमा नेपाली नरहेको उनले जानकारी दिए । आत्तिनुपर्ने अवस्था नरहेको उनले प्रस्ट पारे । विभिन्न मुलुकका लागि अन्तर्राष्‍ट्रिय उडान बन्द भएको छ । युक्रेनको डोमेस्टिक उडान मात्र भइरहेको उनले बताए ।

महिला र बालबालिकालाई बाहिर निस्कन प्रतिबन्ध लगाइएको जानकारी प्राप्‍त भएको उनले बताए । राजनीतिक घट्नाक्रम बढिरहेको छ । केही ठाउँमा गोला-बारुद भइरहेको छ । रसियन नागरिकले केही ठाउँमा खुसीयाली स्वरुप आत्तिसबाजी गरेको समाचार प्राप्‍त भएको उनले जानकारी दिए ।

सोमबार रूसी राष्ट्रपति भ्लादमिर पुटिनले पूर्वी युक्रेनका दुई क्षेत्रलाई स्वतन्त्र राज्यको मान्यता दिएका छन् । रूस समर्थित पृथकतावादीको नियन्त्रणमा रहेका लाई पुटिनले डोनेस्क र लुहान्स्क क्षेत्रलाई स्वतन्त्र राज्यको मान्यता दिएका हुन् । दुई क्षेत्रका पृथकतावादी नेताहरूलाई सँगै राखेर पुटिनले उनीहरूलाई स्वतन्त्र राज्यको मान्यता दिने आदेशमा हस्ताक्षर गरेका हुन् । 

स्वतन्त्र राज्यको मान्यता दिएसँगै पुटिनले रूसी रक्षा मन्त्रालयलाई त्यहाँ शान्ति स्थापना गर्न सैनिक पठाउन निर्देशन दिएको अन्तर्राष्‍ट्रिय समाचार संस्थाले जनाएको छ।

 

 


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x