राजनीति

चार पूर्वप्रधानन्यायाधीशविरुद्ध अवहेलना मुद्दा दर्ता

इकागज |
माघ १४, २०७७ बुधबार १४:१९ बजे

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेको विरोधमा विज्ञप्ती निकालेका चार पूर्वप्रधानन्याायधीशविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दर्ता भएको छ । अधिवक्ता धनजीत बस्‍नेतले पूर्वप्रधान्यायाधीशहरू मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दर्ता गरेका हुन् ।

सर्वोच्चका सञ्‍चारविज्ञ किशोर पौडेलका अनुसार मंगलबार पेस भएको अवहेलना मुद्दा बुधबार दर्ता भएको हो । अवहेलना मुद्दाको पेशी माघ १५ गतेलाई तोकिएको छ । चार पूर्वप्रधानन्यायाधीशले अदालतमा विचाराधीन मुद्दामाथि टिप्पणी गरेर न्याय सम्पादनमा हस्तक्षेप गरेको निवेदक बस्‍नेतले रिटमा आरोप लगाएका छन् ।


चार जना पूर्वप्रधान्यायाधीशले पुस २४ गते संयुक्त विज्ञप्ति निकालेर प्रतिनिधि सभा विघटन असंवैधानिक भन्दै विरोध गरेका थिए । उनीहरुविरुद्ध न्याय प्रशासन ऐन २०७३ को दफा १७ को उपदफा ४ बमोजिम सजाय माग गरिएको छ । अदालतको अवहेलना गरेको ठहर भएमा एक वर्षसम्म कैद वा दश हजार रुपैयाँ जरिवाना वा दुवै सजाय हुन सक्ने व्यवस्था छ । 
 


Author

थप समाचार
x