बिहान ८ बजेसम्मको अपडेट :
कस्तो छ काठमाडौँमा आम हड्ताल प्रभाव ? अहिलेसम्म के-के भयो ?
काठमाडौँको न्यूरोड । तस्बिर : सुजल बज्राचार्य
काठमाडौँ : नेकपाको पुष्पकमल दाहाल र माधव कुमार नेपाल समूहले आज आम हड्ताल गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक निकायमा आफुखुशी नियुक्ती र शपथग्रहण गराएको भन्दै दाहाल-नेपाल समूहले बिहीबार आम हड्ताल गरेको हो ।
बन्दका कारण बिहानैदेखि सडकमा गाडी चलेका छैनन् । केही सार्वजनिक गाडी भने बिहानी समयमा चलेका थिए । एम्बुलेन्स, अस्पतालका बस, खाद्यान्न, दुध, औषधीका गाडी, सञ्चारकर्मीका सवारी साधन चलेका छन् । ठाउँ ठाउँमा बाक्लो रुपमा सुरक्षाकर्मी परिचालन गरिएको छ । कतिपय ठाउँमा प्रहरी र दाहाल-नेपाल समूहको घम्साघम्सी परेको छ ।
एकाबिहानै गोंगबुमा ट्याक्सी जलाए
दाहाल-नेपाल समूहका कार्यकर्ताले गोंगबुमा एक ट्याक्सीमा आगजनी गरेका छन् । गोंगबुमा रोकिराखेको कुम्भनारायण श्रेष्ठको प्रदेश ३-०१-००२ ज ५८८१ नम्बरको ट्याक्सीमा दाहाल-नेपाल समूहका कार्यकर्ताले आगजनी गरेका हुन् । बिहान ५ बजे ट्याक्सीमा आगजनी गरेका दुई जना फरार रहेका महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी अशोक सिंहले इकागजलाई बताए । ट्याक्सीमा लगाएको आगो दमकल बोलाएर निभाइएको सिंहले जानकारी दिए । ट्याक्सी जलाउनेको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
काठमाडौँबाट ७६ बढी पक्राउ
दाहाल-नेपाल समूहले आह्वान गरेको आम हड्तालमा बन्द गराउँदै हिडेका ७६ बढी जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँका विभिन्न ठाउँबाट प्रहरीले दाहाल-नेपाल समूहका ४० जना कार्यकर्तालाई पक्राउ गरेको जनाएको छ । दाहाल-नेपाल समूहले आह्वान गरेको हड्तालमा बन्द प्रभावकारी बनाउन ठाउँ ठाउँमा कमाण्डर नै तोकेको छ । तर गृह मन्त्रालयले बजार व्यवसाय खोल्न आग्रह गर्दै बाक्लो सुरक्षाकर्मी परिचालन गरेको छ । अनेरास्ववियू केन्द्रीय सदस्य रविनजंग बस्नेत विष्णु भट्टराई, तुलसी न्यौपाने, सिसम सुवेदी, दीपा जैसी, प्रदिप भण्डारी बागबजारबाट पक्राउ परेका छन् ।
कलंकीबाट अष्टलक्ष्मी शाक्यसहित कार्यकर्ता पक्राउ
दाहाल-नेपाल समूहका नेताहरु पक्राउ परेका छन् । बिहीबार बिहानै बन्द गराउँदै हिडेका नेकपा स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्य, हितमान शाक्यलगायतका नेताहरु पक्राउ परेका हुन् । नेकपाका नेता विष्णु रिजालका अनुसार उनीहरुलाई सडकबाटै प्रहरीले भ्यानमा राखेर लिएको हो । बन्द गराउँदै हिडेका दाहाल-नेपाल समूहका ५० भन्दा बढी नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।
दाहाल-नेपाल समूहले हड्ताल सफल बनाउन काठमाडौँका मुख्य स्थानका लागि कमाण्डर नै तोकेको छ । यो समूहले काठमाडौँका विभिन्न ११ स्थानका लागि स्थायी कमिटी सदस्यहरुलाई कमाण्डर तोकेको हो ।
को नेता कहाँ कमाण्डर ?
कलङ्की : युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य
बल्खु : बेदुराम भुसाल
सातदोबाटो : देव गुरुङ
पुल्चोक : पम्फा भुसाल
कोटेश्वर : लीलामणि पोखरेल
चाबहिल : वर्षमान पुन र हरिबोल गजुरेल
नारायणगोपालचोक महाराजगञ्ज : शक्ति बस्नेत
गोंगबु : भीम रावल
बालाजु : रघुजी पन्त
रत्नपार्क : प्रवक्ता नारायणकाजी श्रेष्ठ र जनार्दन शर्मा
प्रतिनिधि सभा विघटनविरुद्ध सडक संघर्षका कार्यक्रम गरिरहेको दाहाल-नेपाल समूहले बुधबार पत्रकार सम्मेलन गरेरै नेपाल बन्दको घोषणा गरेको हो । बन्दका कारण सबैभन्दा ठूलो मारमा विद्यार्थी र मजदुर परेका छन् । परीक्षा भएका कारणले बन्दले हिडेर परीक्षा केन्द्रसम्म पुग्न समस्या छ । दाहाल-नेपाल समूहका प्रवक्ता तथा संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले परिचय पत्रका आधारमा परीक्षा दिन हिडेका विद्यार्थीलाई हिड्न दिने बताएका छन् ।
दाहाल-नेपाल समूहले नेपाल बन्दको आह्वान गरेपछि यसको चौतर्फी आलोचना भइरहेको छ । गृह मन्त्रालयले भने बन्द नगर्न आग्रह गरेको छ । तर दाहाल-नेपाल समूहले कमाण्डर नै तोकेर बन्द प्रभावकारी बनाउने जनाएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया