राजनीति

पाेखरामा दाहाल-नेपालकाे आम हड्ताल

बन्दकर्ताले छाडा गाली गरे, लात्तीले हाने

अनिष भट्टराई |
माघ २२, २०७७ बिहीबार १८:४३ बजे

पोखरा :  बिहीबार रानीपौवाबाट नदीपुर जाँदै गरेका राजेश घलेलाई महेन्द्रपुलमा एक हुलले रोक्न खोज्यो । उनी सिधै अघि बढ्न खोजे । हुल एक्कासि त्यहाँ बाक्लियो र घल दम्पत्तीमाथि छाडा शब्दमात्रै प्रहार भएन स्कुटरमा लात्तीले हाने । छेउमैभएका प्रहरीले एकछिन ‘वाच’ गरेपछि हुललाई हटायो र घलेलाई जान दियो । 
घले क्रुर देखिन्थे । आफूलाई बिनाकारण दुख दिएकोमा उनको अनुहार रिसले रातो भयो । ‘म साधारण जनता हुँ, उनीहरु जुनै पार्टीका किन नहुन्, जनतालाई बिनाकारण दुख दिन पाइँदैन,’ उनले भने । 

घलेलाई छिटै बेलायत फर्किनु छ । त्यसैले आफन्त भेटिरहेका छन् । बिहीबार श्रीमती ज्योतिसहित ससुराली नदीपुर जान निस्केका थिए । आफू कुनै पार्टीमा आस्था नराख्‍ने र राख्‍नेले पनि जनतालाई नभई रिस उठेका नेतासँग झगडा गर्नुपर्ने उनले बताए । भने, ‘रिस जोसँग हो, उसैलाई देखाउने हो, जनतालाई दुख दिने बन्द, बन्द गर्नुपर्छ ।’


घलेले बन्द गर्ने शैली गलत भएको बताए । कुनै दिन अहिले विरोध गर्नेहरु शक्तिमा पुगेपछि अर्को समूहले दुख दिने थाल्ने र जनताको दुख नसक्किने टिप्पणी उनको थियो । ‘आज यिनोरले गरे, भोलि अर्कोले गर्छ । दिनहुँ आखिर दुख पाउने हामी जनता नै हौं नि !’ उनले भने । 

सरकार, प्रहरी प्रशासन सबैले जनताकै करले गुजारा चलाएपनि बन्द जनतालाई नै मार्न गरिएको उनले बताए । बाटो सबैको साझा भएको र बाटो बन्द गरेर आफ्नो हक छेक्ने काम भएको उनको गुनासो थियो । ‘बाटो त हाम्रै करको पैसाले बनाएको हो नि । बाटोमा हिँड्न पाउँदैनस् भन्छन्, उनोरले भाडामा लेको हो र बाटो ?’ उनले प्रश्न गरे । आन्दोलनकारीलाई कसैले दिमाग भरिदिएको भएर त्यस्तो काम गरेको उनको कटाक्ष थियो । ‘आफ्नो दिमाग भएको भए त्यस्तो हुँदैनथ्यो, अरुले दिमाग भरिदिएको भएर हो,’ उनले भने । 

आन्दोलनकारीभन्दा प्रहरी प्रशासनले बन्द रोक्न पहल लिनसक्नुपर्ने उनको सुझाव थियो । ‘गल्ती उनीहरुको मात्र होइन, प्रहरी प्रशासनको पनि हो । बन्द रोक्न सक्नुपथ्र्यो, हाम्रो सुरक्षा गर्नुपर्‍याे नि’ उनले भने । 

बाटो देखाइदिने बन्दकर्ता 

बिहीबार महेन्द्रपुलमा गाडी रोक्ने, सोधपुछ गर्नेको हुलमा थिए- अभिषेक कँडेल । उनी आफूलाई नेकपा कार्यकर्ता बताउँछन् । कार्यकर्ता भएपनि उनी महेन्द्रपुलसम्म आएका गाडी, बाइक, स्कुटरलाई चल्न दिएका थिए । ‘नडराउनुस् है, आत्तिन पर्दैन, यताबाट जानुस्,’ उनले चालकलाई भन्दै थिए । उनले कुनै चालकलाई पनि फर्किन अह्राएनन् । 

‘मेरो नामसाम केही नहाल्नु होला, पार्टी भन्दैमा जनतालाई दुख दिन मलाई मन पर्दैन,’ उनले भने । उनकै अनुरोधमा परिवर्तित नाम प्रयोग गरिएको छ । हरेक मानिस कामले नै हिँड्ने र उनीहरुमाथि दमन गर्नु अमानविय चरित्र रहेको उनको टिप्पणी थियो । दलको नाममा जनतालाई दुख दिनु गणतन्त्रको विरोध भएको उनले सुनाए । ‘दल होला, तर दल भन्दैमा जनतालाई दुख दिन थाल्यो भने गणतन्त्रको विरोध हुन्छ, सबैको आआफ्नो समय हो, रोक्नछेक्न मलाई मन पर्दैन,’ उनले थपे ।

प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेर गल्ती गरेपनि उनको गल्तीको सजाय जनताले पाइरहेको उनले सुनाए । एकको गल्तीको विरोधमा हजारौंलाई सजाय दिइनु अप्रजातान्त्रिक हुने उनको टिप्पणी थियो । 

नेकपा प्रचण्ड-माधवसमूहले गरेको हड्तालमा बिहीबार कास्कीमा १ जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । महेन्द्रपुलका विनायक तिमिल्सिनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । कास्की प्रहरी प्रवक्ता सुवास हमालका अनुसार तिमिल्सिनालाई ५ बजेपछि छाडिसकेको छ । हमालले कास्कीमा कुनै भौतिक तथा मानवीय क्षति नभएको जानकारी दिए । 


Author

थप समाचार
x