राजनीति

आम हड्ताल गराउन कर्णालीका मुख्यमन्त्री र मन्त्री पनि सडकमा

लक्ष्मी भण्डारी |
माघ २२, २०७७ बिहीबार २०:३ बजे

सुर्खेत : नेकपाका दाहाल–नेपाल समूहले आह्वान गरेको आमहड्ताललाई साथ दिन कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाही पनि सडकमा आएका छन् ।
दाहाल-नेपाल समूहका कार्यकर्ताले विरेन्द्रनगरस्थित मंगलगढी चोकमा गरेको प्रदर्शनमा पुगेका हुन् । मुख्यमन्त्री शाहीसहित कर्णाली प्रदेशका भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्री बिमला केसी र पयर्यटनमन्त्री नन्दसिंह बुढा र अन्य  सांसद तथा नेताहरु पनि सडकमा आएका हुन् ।  

शाहीले त्यहाँ पुगेर प्रदर्शनमा सहभागी दाहाल–नेपाल समूहका कार्यकर्ताहरुलाई सम्बोधन समेत गरेका थिए । प्रचण्ड–नेपाल समूहले सरकारलाई दबाव दिनका लागि शान्तिपूर्ण हड्ताल गरेको शाहीको भनाइ छ ।  उनले प्रधानमन्त्री केपी शर्मा ओलीको कदमकाविरूद्ध देशभर हड्ताल भएको बताए । ‘अहिलेको यो अवस्थामा प्रधानमन्त्रीले चालेको कदमविरुद्ध आन्दोलन गर्नुपरेको हो,’  शाहीले भने, ‘यस्ता खालका कदमविरुद्ध हाम्रो आन्दोलन जारी छ ।’


उनले संविधानको रक्षा गर्न सडकमा आउन बाध्य भएको पनि बताए ।  ‘नेपालमा लोकतान्त्रिक व्यवस्था ल्याउने क्रममा जीउ ज्यानको आहुति दिएर कति घाइते पनि छन्,’ शाहीले भने, ‘यसरी नागरिकको बलिदानबाट प्राप्त भएको संविधान र लोकतान्त्रिक व्यवस्थाको रक्षा हामी गर्छौं ।’ आन्दोलनबाट जनतालाई आवतजावत गर्न तथा विकास निर्माणमा पर्न गएको असरलाई समस्याको रूपमा बुझ्‍न नहुने मुख्यमन्त्री शाहीको भनाइ छ । प्रधानमन्त्रीले चालेको प्रतिगमनविरुद्ध र सरकारलाई दबाब दिनकै लागि नेपाल बन्द गरेर आन्दोलन गर्नुपर्ने अवस्था आएको उनको भनाइ थियो । 


Author

थप समाचार
x