राजनीति

युवा संघको भेलामा तनाव : थापा समूहले गर्‍यो बहिष्कार, वीरु भन्‍छन्- ओली समूहले एकलौटी गरे

जीवन कुँवर |
माघ २७, २०७७ मगलवार ९:५५ बजे

काठमाडौँ : नेकपा ओली समूहमा विवाद सुरु भएको छ । एकता प्रक्रिया नै नटुंगी ओली समूहले युवा संघको भेला राखेको भन्दै चर्को विवाद सुरु भएको छ । आइतबार र सोमबार भएको युवा संघको भेला गृहमन्त्री रामबहादुर थापा समूहले बहिष्कार गरेको छ ।

गृहमन्त्री थापा निकट युवा वीरु तामाङका अनुसार ओली समूहले गरेको भेलामा थापा समूहको कोही पनि सहभागी भएनन् । ओली समूहले मिटिङ बोलाएर प्रशिक्षण कार्यक्रम गर्ने भनेर केन्द्रीय कमिटीलाई बोलाएर कमिटी नै घोषणा गरेको तामाङको आरोप छ ।


'अगाडि एउटा सल्लाह गरेर ओली समूहले अर्कै गर्न खोज्यो' तामाङले इकागजसँग भने 'त्यसपछि हामी कार्यक्रमको भित्र पनि नछिरेर फर्कियौँ ।' तामाङका अनुसार सो भेलामा तनाव भएको बताए । 'उपगुटका नेता जुनियर (बचनबहादुर सिंह)लाई अध्यक्षको रुपमा प्यानल प्रस्ताव गर्नु भएछ' तामाङले इकागजसँग भने 'त्यसपछि त्यहाँ झडप भयो, हानाहान भयो र विरोध भएपछि एकलौटी घोषणा गरेर उहाँहरू हलबाट निस्किएर हिड्‍नु भएछ ।'

यो कमिटीलाई पार्टीले वैधानिकता दियो भने हामी बाध्य भएर नयाँ कमिटी घोषणा गर्छौँ- तामाङ
'खासमा भेला भनेर डाकिएको थिएन् । पछिल्‍लो पटक पार्टी ध्रुवीकरण भएपछि केपी शर्मा ओली समूह, थापा समूह एकातिर र प्रचण्ड-माधव नेपाल एकातिर भइसकेपछि दुवै समूहमा रहेका जनवर्गीय संगठनको ध्रवीकरण तयारी अगाडि बढेको थियो । पार्टी एकता प्रक्रिया नटुंगिएकाले साविक वाइसियल र युवा संघको पनि एकता प्रक्रिया टुंगिएको थिएन् ।

त्यसकारण केन्द्रीय कमिटीमा भएका साथीहरूको एउटा मिटिङ बोलाएर प्रशिक्षण मुलक कार्यक्रम गरौँ भनेर कुरा भएकाले त्यही अनुसारको मिटिङको तयारी हामीले गरेका थियौँ । साथीहरूले हामीलाई थाहै नदिइ राजनीतिक प्रतिवेदन बनाउनेदेखि विधान संशोधनदेखि लिएर भित्रभित्रै उहाँहरूले एकलौटी तरिकाले तयारी गर्नुभएछ । कमिटी घोषणा गरेर जाने पनि तयारी गर्नु भएछ । त्यो कुरा हामीले थाहा पाएपछि पार्टीका नेताहरूसँग २/३ चरण कुरा गर्‍यौँ ।'

ध्रुवीकरणभन्दा अगाडिको इन्चार्ज महेश बस्‍नेत जी हुनुहुन्थ्यो । उहाँसँग पनि हामीले बसेर छलफल गर्‍यौँ । पूर्व युवा संघका नेतृत्वसँग बसेर पनि हामीले छलफल गर्‍यौँ । बोलाइ हालियो बोलाएपछि व्यवस्थित गरेर टुंग्याएर जाउँ भन्‍दा उहाँहरू एकलौटी ढंगले टुंग्याएर जाने कुरा गर्नुभयो । टोपबहादुर रायमाझी जनवर्गीय संगठनको इन्चार्ज हुनुहुन्छ ।'

रायमाझीले उहाँसँग सल्लाह गरेर कमिटी घोषणा गरेर जाँदा ठिक हुन्छ भनेपछि हामीले पनि तयारी गरेका थियौँ । तर महेश बस्‍नेतले उहाँको कमिटीमा मिलाउनु सक्‍नु भएन् । त्यहाँ तीन/चार वटा गुट मिसिए । ति गुटको इन्ट्रेस्ट उहाँले पूरा गर्न नसकेकाले उहाँले डिसिजन लिन सक्‍नु भएन । त्यसपछि हामीले भन्यौँ अब यो प्रस्ताव पार्टीमा लिएर जानुस् लिडरसिपले मिलाउनु हुन्छ त्यसलाई हामीले मानेर अगाडि बढौँ भनेर भन्यौँ । उहाँ पार्टीमा छलफलमा लानु भएन ।'

उहाँहरुले यति गरेपछि हामी हलभित्र पनि प्रवेश गरेनौँ । असहमति रह्यो फर्कियौँ हामी । उहाँहरूले एकलौटी कमिटी घोषणा गर्नु भएछ । त्यसमा पनि उपगुटका नेता जुनियर (बचनबहादुर सिंह)लाई अध्यक्षको रुपमा प्यानल प्रस्ताव गर्नु भएछ । त्यसपछि त्यहाँ झडप भयो, हानाहान भयो र विरोध भएपछि एकलौटी घोषणा गरेर उहाँहरू हलबाट निस्किएर हिड्‍नु भएछ । उहाँहरूले ५०/६० जनालाई कागजमा पदाधिकारी बनाएर बाहिर रिलिज गर्नु भएको छ । एउटा गुटले घोषणा गरेको कमिटीलाई पार्टीले वैधानिकता दिनु भएन । यदि दियो भने हामी पनि बाध्य भएर नयाँ कमिटी घोषणा गर्छौँ ।'

र, यो पनि
- ओली समूहको युवा संघको अध्यक्षमा सिंह चयन, जेठसम्‍म मात्रै कार्यकाल

भेलामा विवाद भएको भिडियो


Author

जीवन कुँवर

राजनीति तथा समसामयिक विषयमा कलम चलाउने कुँवर सिनियर करेस्पाेन्डेन्ट तथा डेस्क संयोजक हुन् ।


थप समाचार
x