मुख्यमन्त्री देवको धारणाबारे डेस्क प्रमुखसँग बुझ्दै राजदूत आचार्य
बुझेर प्रस्ट्याउने भारतको जवाफ
काठमाडौँ : नेपालको सम्बन्धमा भारतीय सत्तारुढ दलका नेताले दिएको आपत्तिजनक पुरानो अभिव्यक्ति सार्वजनिक भएसँगै दिल्लीस्थित नेपाली दूतावासले भारत सरकारको ध्यान खिचेको छ । भारतको उत्तरपूर्वी राज्य त्रिपुराका मुख्यमन्त्री विप्लव देवले तत्कालीन भारतीय जनता पार्टीका अध्यक्ष अमित शाहलाई जोडेर नेपालका सम्बन्धमा दिएको आपत्तिजनक अभिव्यक्तिप्रति दूतावासले भारत सरकारको ध्यानाकर्षण गराएको हो ।
राजदूत नीलाम्बर आचार्यले भारतीय विदेश मन्त्रालयका नेपाल डेस्क हेर्ने सहसचिव अरन्दिम बाग्छीलाई फोन गरेर त्रिपुराका मुख्यमन्त्री देवको अभिव्यक्तिबारे चासो देखाएका हुन् । भाजपाका तत्कालीन अध्यक्ष शाहले नेपाल र श्रीलंकामा पनि भाजपाको सरकार बनाउने योजना रहेको बताएको धारणा देवले गत शनिबार सार्वजनिक गरेका थिए ।
यतिबेला भारतीय गृहमन्त्री रहेका शाहले नेपाल र श्रीलंकामा समेत बीजेपीको सरकार विस्तार गर्ने योजना बनाएको विवादास्पद अभिव्यक्ति दिएको देवले बताएका थिए । अगरतालाको एउटा पार्टी बैठकमा बीजेपी अध्यक्ष रहेका बेला शाहले त्यस्तो योजना सुनाएको उनले बताएका हुन् ।
आन्तरिक छलफलमा बीजेपीको उत्तरपूर्व क्षेत्रका सचिव अजय जमवालले आफ्नो पार्टीले भारतका धेरै राज्यहरूमा सरकार बनाउन सफल भएको बताएपछि त्यसको जवाफमा शाहले अब श्रीलंका र नेपालमात्र बाँकी रहेको भन्दै त्यहाँ पनि हाम्रो सरकार बनाउन पर्ने बताएको धारणा सार्वजनिक भएको थियो । भारतीय सञ्चार माध्यममा नै उक्त धारणा आएपछि आचार्यले देवको अभिव्यक्तिका बारेमा भारतीय पक्षलाई प्रस्ट पारिदिन भनेको दूतावास स्रोतले बतायो ।
त्रिपुराका मुख्यमन्त्रीको अभिव्यक्तिप्रति दुःख व्यक्त गर्दै जतिसक्दो छिटो यो विषयलाई प्रष्ट पार्ने धारणा सहसचिव बाग्छीले दिएका थिए । यसैगरी देवको अभिव्यक्तिप्रति श्रीलंकाले परराष्ट्र मन्त्रालयले कूटनीतिक नोट नै लेखेर यस्तो धारणा व्यक्त गरेको भए पनि नेपालले भने आफ्नो दूतावासमार्फत डेस्क प्रमुखलाई जानकारी गराउँदै त्यो विषय सोधेको हो ।
परराष्ट्र मन्त्रालयले यस विषयमा कुनै धारणा बाहिर ल्याएको छैन । भारतको विपक्षी पार्टी भारतीय राष्ट्रिय कांग्रेसले पनि देवको भनाइप्रति आपत्ति जनाइसकेको छ । कांग्रेसले यस किसिमका अभिव्यक्तिले नै भारतको छिमेकीहरूसँगको सम्बन्ध खराब बन्न पुगेको समेत जनाएको छ ।
‘यस्तै मानिसहरूको बेवकुफीपूर्ण बयानकै कारण आज छिमेकीहरूसँग भारतको सम्बन्ध सबैभन्दा खराब अवस्थामा आइपुगेको छ’, कांग्रेसले सोमबार साँझ ट्वीट गर्दै भनेको छ । साथै उसले यस किसिमका अभिव्यक्ति दिएर भाजपाले जनतालाई मूर्ख बनाउने काममात्र गरिरहेको भन्दै आलोचना गरेको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया