राजनीति

अदालतले सही फैसला गर्छ भन्‍नेमा विश्‍वास छ : दाहाल

इकागज |
फागुन ११, २०७७ मंगलबार १५:२० बजे

फाइल तस्‍वीर

काठमाडौँ : नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले प्रतिनिधि सभा विघटनको विषयमा सर्वोच्च अदालतले सही फैसला गर्ने विश्वास व्यक्त गरेका छन् । मंगलबार काठमाडौंमा आयोजित ‘जनयुद्धको हस्ताक्षर’ पुस्तक विमोचन समारोहमा बोल्दै अध्यक्ष दाहालले प्रतिनिधि सभा विघटनसम्बन्धी अदालतमा रहेको मुद्दाको सही फैसला हुने विश्वास व्यक्तगरेका हुन् ।

७० वर्षको आन्दोलनबाट प्राप्त उपलब्धीको रक्षाका लागि अहिले विभिन्न ढंगले लडाइँ चलिरहेको अवस्थामा अदालतले सही फैसला गर्छ भन्ने विश्वास गर्नुपर्ने उनले बताए। उनले भने, ‘लडाइँ विभिन्न ढंगले चलिराखेकै छ । यसो भन्नुको तात्पर्य के होइन भने हाम्रो अदालत प्रति विश्वास छैन । मैले सबै सभामा भनेको छु । अदालतमा मुद्दा छ । अदालतले सही फैसला गर्छ भन्नेमा हामीलाई विश्वास छ ।’


संसद विघटनलाई प्रतिगमनको संज्ञा दिदै अध्यक्ष दाहालले अहिले भएको आन्दोलनलाई शान्तिपूर्ण युद्ध मान्नुपर्ने बताए । ‘पौष ५ गतेदेखि आज फागुन ११ गते सम्म हामी नयाँ युद्ध लडिराखेका छौं,' उनले भने, 'देशव्यापी युद्ध चलिराखेको छ । तपाई हामी सबै युद्धमै छौं । अर्को पक्ष जसले यसलाई अपहरण गर्न खोजेको छ।  ७०/७१ वर्षको आन्दोलनका उपलब्धीहरुलाई त्यो हतियार बन्द हुन खोज्छ । राज्यको शक्ति प्रयोग गरेर दबाउन बल गर्न खोजिदैछ । हामी रक्तपातहिन युद्ध, शान्तिपूर्ण युद्ध, नयाँ प्रकारको युद्धमा छौं ।’

धेरै दुःखले पार्टी एकताबद्ध गरिएको उल्लेख गर्दै अध्यक्ष दाहालले अहिले विभाजन गर्न ठूलो षडयन्त्र भइराखेको बताए । आफूहरू एकतावद्ध भएर देशमा नयाँ आयाम ल्याउन खोजेको भए पनि प्रधानमन्त्री ओलीले पार्टीलाई फुटाउने र व्यवस्थालाई विघटन गर्ने बाटो रोजेको बताए । उनले भने ‘पार्टी धेरै दुःखले एकतावद्ध गरिएको हो । धेरै मेहनत गरिएको हो । हामी सबैको समर्थन र योगदान त्यसमा छ । यसलाई विभाजन गर्ने निकै ठूलो षडयन्त्र र कसरत अहिले भइनै राखेको छ । भइनै सक्याछ ।’


Author

थप समाचार
x