राजनीति

पुस ५ गते मर्माहत भएको थिएँ, आज खुसी छु : सभामुख सापकोटा

इकागज |
फागुन ११, २०७७ मंगलबार २०:४४ बजे

फाइल तस्बिर

काठमाडौँ  : संघीय सभामुख अग्निप्रसाद सापकोटाले संसद् पुनर्स्थापना गर्ने सर्वाेच्च अदालतको फैसलाले आफू खुसी भएको प्रतिक्रिया दिएका छन् । उनले सर्वाेच्चले संवैधानिक सर्वाेच्चता कायम गरेको पनि बताए । 

‘संवैधानिक सर्वाेच्चता कायम गरेको छ । अदालतप्रति विश्वास बढेको छ । यो निकै महत्वपूर्ण परिघटना बनेको छ । नेपालका सर्वाेच्च अदालतले इतिहासका खासखास बेलामा यस्तै निर्णय गर्ने गरेको छ,’ उनले भने, ‘पुस ५ मा मर्माहत भएको थिएँ । प्रतिनिधि सभाको सभामुखको हैसियतले, नागरिकको हैसियतले । संविधानमाथि प्रहार हुँदा । आज पुनर्स्थापनाको पक्षमा निर्णय भएकोमा म आज असाध्यै खुसी भएको छु ।’ 


उनले अदालतले नेपाली जनतालाई पुन एकजुट बनाएको प्रतिक्रिया दिए । उनले प्रतिनिधि सभाको कार्यसूचीबारे भने फैसलाको पूर्ण पाठ अध्ययन गरेर मात्रै अघि बढ्ने बताए । ‘अदालतको निर्णय मात्रै आएको छ । फैसलाको पूर्ण पाठ अध्ययन गरेपछि मात्रै अघि बढ्छु,’ उनले भने, ‘संविधान जारीपछिको नयाँ घटना हो, मेरो लागि पनि नयाँ हो । राम्रोसँग अध्ययन गरेर संसद अगाडि बढाउनुपर्छ भन्ने सोचेको छु ।’  

पुस ५ पछि प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका निर्णयहरुका विषयमा सरोकारवालासँग छलफल गरेर निर्णय गर्ने सापकोटाले बताए ।  उनले संवैधानिक नियुक्तिको विषयमा टिप्पणी नगर्ने पनि बताए । उनले नेकपाको विवादको विषयमा सर्वाेच्चले स्पष्ट पारिसकेकोले संसदमा समस्या नहुने पनि बताए । ‘सर्वाेच्च अदालतले निकासको बाटो खोलेको छ । नेकपा विवादको विषयमा जटिलता आउँदैन । सर्वाेच्चको निर्णयले स्पष्ट ढंगले दिशानिर्देश गरेको छ’ उनले भने ।   
 


Author

थप समाचार
x