राजनीति

टिप्पणी

फेरि पनि राजनीतिको मियोमा पुष्पकमल दाहाल

दाहालले देउवालाई आम निर्वाचनमा उल्याए, ओलीलाई फूल दिएर फुल्याए, नेपाललाई लड्‌डू खुवाएर भुल्याए

पुष्पराज आचार्य |
फागुन १३, २०७७ बिहिवार ८:१६ बजे

काठमाडौँ : संसदीय राजनीतिको केन्द्रमा पुनः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल आइपुगेका छन् । २०७४ सालको आम निर्वाचनमा तत्कालीन नेकपा एमालेसँग पार्टी एकता गरेपछि दाहालको राजनीतिक भूमिका खुम्चिएको थियो । दाहालले प्रधानमन्त्री बनाउने त टाढाको कुरा, ओलीको सरकारमा पार्टीको अध्यक्ष भएर मन्त्री फेर्ने सामान्य हैसियत पनि ओलीले उनलाई दिएनन् । 

बरु दाहाल पक्षबाट सरकारमा प्रतिनिधित्व गरेका गृहमन्त्री रामबहादुर थापालाई त ओलीले कुरा लगाइदिए, ‘प्रचण्डले मसँग आएर तपाईंलाई फेर्नुपर्‍यो भन्छन्, सरकारको स्थिरताका लागि म यो पक्षमा छैन ।’ चलाखीपूर्ण ढंगले दाहालसँग थापालाई चिढ्याउन सफल भएका ओलीका बठ्याइँ त्यसपछि भने सफल भएनन् । 


कुनै बेला तत्कालीन राजा ज्ञानेन्द्रको शैलीमा ओलीले आफ्ना विपक्षीजति सबैलाई मिल्न दिएर आफू एक्लिने गल्ती गरे । अन्ततः २०७२ को भारतीय नाकाबन्दीपछि ओलीले निर्माण गरेको राष्ट्रवादी छवि पतन हुँदै गयो भने राजनीतिक अवसानको स्थितिमा उनी पुगे ।

हुन त ओलीले सबै दलहरूको सहमतिमा लिपुलेक र कालापानी सहितको नक्सा राखेर संविधान संशोधन गरेको विषयलाई पनि आफ्नो पहलमा भएको भनेर भजाउन नखोजेका होइनन् । तर बारम्बार एउटै विषयमा दलील गर्दै भनिरहेपछि जनतामा उनका कुरा बिकेनन् ।

‘राष्ट्रवाद’लाई सस्तो विषय बनाएर आफ्नो राजनीतिक उन्नयनमा प्रयोग गर्न खोजेका ओली यसपटक नराम्ररी पछारिएका छन् । उठ्नै नसक्ने गरी र राजनीतिमा ओलीको ठाउँ लिए पुष्पकमल दाहालले । 

शान्ति प्रक्रियापछि जसरी नेपाली राजनीतिको केन्द्रमा गिरिजाप्रसाद कोइराला रहे । उनले शान्ति सम्झौताको ट्रयाक बाहिर जान लागेका तत्कालीन माओवादीलाई रोकेको मात्र होइन, कसलाई प्रधानमन्त्री बनाउने उनैले तय गर्थे । गिरिजाप्रसाद कोइरालाको निधनपछि दाहाल कुनै न कुनै रूपमा राजनीतिको मियोमा रहे । उनी चलेपछि मात्र अरु राजनीतिक खेलाडीहरू चल्न सक्ने अवस्था थियो ।

अब मियोमा रहेर दाहालले नेपाली राजनीति र राजनीतिक खेलाडीहरूलाई आफू अनुकुल घुमाउनेछन् ।

यसबीचमा दाहालले झलनाथ खनालदेखि संविधान जारी भएपछि केपी शर्मा ओलीलाई नै प्रधानमन्त्री बनाउन महत्वपूर्ण भूमिका खेले । बाह्य शक्ति (भारत) को चाहानामा संविधानसभाको दोस्रो निर्वाचन गराउन तत्कालीन सर्वोच्च अदालतका प्रधान न्यायाधीश खिलराज रेग्मीको अध्यक्षतामा पूर्व प्रशाशकहरुको सरकार बनाउने डिजाइन बन्यो ।

सबैलाई प्रधानमन्त्री अफर गर्ने दाहालको सोखलाई बुझेर उनैमार्फत् यसको घोषणा गराइयो । दाहालले हेटौंडामा आयोजित आफ्नो दलको महाधिवेशनका क्रममा दाहालले नै पहिलोपटक दलबिनाको सरकार बनाएर देशलाई निकास दिने घोषणा गरे । 

२०७२ पछि आम निर्वाचनसम्म आलोपालो प्रधानमन्त्री बन्ने सहमतिलाई ओलीले तोडेपछि पुनः नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग सत्ता साझेदारी गरेर पहिले आफू प्रधानमन्त्री बने, त्यसपछि देउवालाई बनाए । त्यसो त प्रचण्डलाई राजनीतिक फाइदाका लागि कहिले उत्तर त कहिले दक्षिणतिर पुग्न सक्ने माहिर खेलाडीका रूपमा लिइन्छ । 

देउवासँग सत्ता साझेदारी गर्दागर्दै निर्वाचनमा उनी तत्कालीन नेकपा एमालेसँग पार्टी एकता गर्न पुगे । यो पार्टी एकताले निर्वाचनमा उनलाई केही सफलता दिएको भएपनि अन्ततः उनी ओलीविरुद्ध नै लड्नुपर्ने सस्थतिमा पुगे । देउवासँग सत्ता साझेदारीको क्रममा ओलीसँग नजिकिएर फूल साटासाट गरेका दाहाललाई समयक्रममा ओलीले फूलको जवाफ पत्थरले दिए । 

ओलीबाट चिढिएर दाहालले नेकपामा माधव कुमार नेपालसँग मोर्चाबन्दी कसे । दाहाल र नेपालको सम्बन्धको उतारचढाव भने पुरानै हो । पहिलो संविधानसभा निर्वाचनमा तत्कालीन एमालेका नेता माधवकुमार नेपाललाई दुवै निर्वाचन क्षेत्रबाट हराउन सफल भएपछि तत्कालीन अवस्थामा दाहालले उनलाई कहिले राष्ट्रपति त कहिले के पद दिने भनेर फकाउन खोजिरहे । तर नेपाली कांग्रेसको समर्थनमा नेपाल प्रधानमन्त्री बनेपछि भने दाहालले उनलाई हटाउन ठूलै कसरत गरे ।

नेपाललाई तत्कालीन भारतीय प्रधानमन्त्री मनमोहन सिंहले भुटानको थिम्पूमा भएको सार्क शिखर सम्मेलनको क्रममा दूषित हावा भरेर पठाएकाले नेपालले राजीनामा दिन नमानेको भन्दै दाहालले काठमाडौंका सडकमा दिल्ली विरुद्ध आन्दोलन पनि गरे । नेपालले पनि दाहालको विकल्पमा अरु कोही प्रधानमन्त्री बन्ने हो भने सत्ता छाड्ने तर दाहालका लागि भने सत्ता नछाड्ने अडान राखेका थिए । 

दाहाल-नेपाल सम्बन्धको उतारचढाव लामो भएपनि अहिले उनीहरू ओलीविरुद्धको मोर्चामा एक भएका छन् । सर्वोच्च अदालतले प्रधानमन्त्री ओलीको प्रतिनिधि सभा विघटन गर्ने कदमलाई बदर गरिदिएपछि भने दाहाल–नेपालले यो परिस्थितिलाई विजयको हर्षोल्लासका रूपमा लिएका छन् । प्रधानमन्त्री ओलीले भनेजस्तो ‘लड्‌डू खुवाई-खुवाई’ गरेर खुसी साटेका छन् । 

फेरि पनि दाहाल अरु दलका नेताहरूलाई प्रधानमन्त्री अफर गर्न सक्ने अवस्थामा आइपुगेका छन् । उनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई यो लोभ देखाएका छन् । 

राजनीतिमा अत्यन्त गतिशील रहने दाहालको राजनीतिक करिअरमा प्रतिकुलता र ग्रहण अब हटेको छ । संविधान निर्माणपछि देउवालाई उल्याउने, ओलीलाई फुल्याउने र नेपाललाई भुल्याउने शैलीको दाहालको राजनीति अब कसरी अघि बढ्ने हो, त्यसका लागि आगामी दिनहरू पर्खनैपर्छ । 
 


Author

पुष्पराज आचार्य

अर्थराजनीति विषयमा कलम चलाउने आचार्य समाचार प्रमुख हुन् ।


थप समाचार
x