राजनीति

राजीनामा नदिई ओली कुन मुखले संसद् जानुहुन्छ : रामचन्द्र पौडेल

इकागज |
फागुन १३, २०७७ बिहीबार १८:२ बजे

 काठमाडौँ  :  नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले नैतिकताको आधारमा राजीनामा दिएर मात्रै प्रतिनिधि सभाको बैठकमा आउन सक्ने बताएका छन् । कांग्रेसको पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता पौडेलले  यस्तो बताएका हुन् ।  

‘प्रधानमन्त्रीको राजीनामाबारे हामीले बोलिसकेका छौँ । मैले बोलिसकेको छु, सभापतिज्यूले बोलिसक्नु भएको छ,’ उनले भने, ‘नैतिकता हो भने आफैँले भंग गरेको संसद कसरी जानु हुन्छ ? कुन मुखले जानुहुन्छ ?’ उनले सर्वाेच्च अदालतले प्रतिनिधि सभा पुनस्थापना गरेर देशलाई ठूलो संकटबाट जोगाएको पनि बताए ।  


‘सर्वाेच्च अदालतले लोकतन्त्र र संसदीय प्रणालीलाई बचाएको छ यसमा सन्तोष मिलेको छ’ उनले भने । नेकपाको दाहाल-नेपाल समूह र ओली समूहले कांग्रेसलाई प्रधानमन्त्रीका लागि प्रस्ताव नगरेको पनि उनले दाबी गरे ।  

‘संसदीय प्रक्रिया केही सुरु भएको छैन । संसदीय प्रक्रिया सुरु नभएसम्म नेपाली कांग्रेसले गर्ने भूमिका केही छैन ।  त्यसकारण संसदीय प्रक्रिया सुरु भएपछि हाम्रो पार्टीले सल्लाह गरेर निर्णय गर्छ,’ उनले भने, ‘संसदीय प्रणालीको प्रक्रिया आएपछि कांग्रेसले के गर्ने भन्ने आउँछ । यहाँ छोरो नजन्मी कन्दनी बाट्ने कुरा गर्न त भएननि ।’   


Author

थप समाचार
x