राजनीति

सत्ता समीकरणको छलफल सुरु भएपछि भारत र चीनका राजदूत सक्रिय

इकागज |
फागुन १३, २०७७ बिहीबार २०:५३ बजे

काठमाडौँ : प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णय सर्वोच्च अदालतले बदर गरिदिएपछि छिमेकी चासो र सक्रियता बढेको छ । उनीहरू यतिबेला यहाँको राजनीतिक सहकार्य र समिकरण कस्तो हुन्छ होला भन्दै आफ्ना निकटसँग छलफल गरिरहेका छन् । भारतीय राजदूत विनयमोहन क्‍वात्रा र चिनियाँ राजदूत होउ यान्छी भेटघाटमा सक्रिय भएका छन् ।

नेपालको राजनीति नयाँ तरिकाले अघि बढ्ने भएपछि चिनियाँ राजदूत यान्छी नेकपालाई एक गर्न लागि परेकी छन् । अहिले सत्तारुढ नेकपा विभाजित भएर एउटा सत्तामा र अर्को सडकमा छ । दुवै समूहलाई मिलाएर सत्तामा ल्याउने चाहना चीनको रहेको चिनियाँ राजदूत यान्छीको भेटघाटले पुष्टि गर्छ ।


चीनले नेकपासँग वैचारिक सहकार्य र प्रशिक्षणसमेत आदन-प्रदान गरेकाले फुट्न हुँदैन भन्दै आएको छ । चिनियाँ टोलीले प्रधानमन्त्री केपी शर्मा ओलीसँगको एक भेटमा पदभन्दा पार्टी मुख्य कुरा भएको सम्झाउँदै त्यसमा ध्यान दिन सुझाव दिएको थियो ।  

सत्ता समिकरणका लागि दलीय छलफल सुरु भएको छ । नेकपा फुट्ने या नफुट्ने भन्‍ने अन्यौलबीच चिनियाँ राजदूत यान्छीले ओली समूहका महासचिव तथा अर्थमन्त्री विष्णु पौडेलसँग भेटवार्ता गरेकी हुन् । चिनियाँ राजदूतले यस्ता अन्य भेटहरू गरिरहेकी भएपनि त्यसलाई दूतावासले बाहिर ल्याएको छैन ।

पौडेलसँगको भेटलाई चिनियाँ खोप नेपाल ल्याउने विषय र दुई पक्षीय हितका विविध पक्षबारे छलफल भएको अर्थमन्त्रालय उच्चस्रोतले जानकारी दियो । यस्तो समयमा दुई मुलुकका राजदूतहरु भेटमा सक्रिय हुन्छन् । कतिपय अवस्थामा पश्‍चिमा राजदूत पनि भेटमा सक्रिय रहने र आपसी छलफल पनि गर्ने गर्छन् ।

भारतीय राजदूत क्‍वात्राले बुधबार नै राजनीतिक दलका प्रभावशाली नेताहरूसँग भेटघाट गरिरहेका छन् । उनले काँग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति विमलेन्द्र निधि र अन्य नेताहरूसँग भेट गरेका हुन् । देउवाले प्रायः राजदूतसँगको भेटलाई बाहिर ल्याउँदैनन् । देउवाले एक प्रशंगमा भनेका थिए, ‘राजदूतहरु आउँछन् कुरा हुन्छ । के बाहिर भन्‍ने राजदूतसँगको भेटलाई । अरुले भने ठिकै छ म यस्ता भेटबारे भन्‍न आवश्यक ठान्दिन ।’

अदालतको फैसलासँगै सत्ता गठजोडबारे छलफल हुन थालेकाले पनि राजदूतको सक्रियता बढ्नु स्वभाविक हो । नेपालको भूराजनीति नै यस्तो छ कि यहाँ सामान्य घटना हुने वित्तिकै राजदूतहरू को सक्रियता बढिहाल्छ । यसको कारण नेपालको राजनीतिक दलका नेतृत्वको कारण पनि हो ।

क्‍वात्राले जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र अन्य नेतासँग पनि भेट वार्ता गरेका थिए । क्‍वात्रामात्र होइन अन्य राजदूतले पनि सबै राजनीतिक दलका नेताहरू भेट्ने र राजनीतिक छलफल गर्ने गर्छन् । राजदूतहरूलाई यसरी घर धाउन दिन नहुने भनिए पनि परराष्ट्र मन्त्रालयले त्यसमा जोड दिन सकेको छैन । 


Author

थप समाचार
x