राजनीति

ओलीले संसदीय दलको नेतामा नेम्वाङलाई अघि सार्दै

‘दुई पक्षबीच विवाद भए सभामुखले टाउका गनेर टुङ्गो लगाउनुपर्ने हुनसक्छ’

पुष्पराज आचार्य |
फागुन १३, २०७७ बिहिवार २२:२६ बजे

काठमाडौँः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नेतृत्व गरिरहेको पुष्पकमल दाहाल र माधव नेपाल समूहले केपी शर्मा ओलीलाई पार्टीबाट कारबाहीस्वरूप निलम्बन गरिसकेकाले उनीहरूले संसद् अधिवेशन अघि नै संसदीय दलको नेता चयन गर्दैछन् । दाहाल–नेपाल समूहले आफ्ना पक्षका सांसदहरूसँग यसबारेमा छलफल गरिसकेको छ । संसदीय दलको नेता नै प्रधानमन्त्री बन्ने अभ्यास भएकाले दाहाल–नेपाल समूहले संसदीय दलभित्र छलफल गरी दाहाल वा नेपालमध्ये एकजनालाई संसदीय दलको नेता चयन गर्ने अध्यक्ष माधवकुमार नेपाल निकट एक नेताले बताए । 

दाहाल–नेपाल समूहले बोलाएको संसदीय दलको बैठकमा सबै सांसदलाई स्वागत गर्ने र सबैलाई सम्मान दिन अध्यक्ष माधवकुमार नेपालले आफ्नो पक्षका नेताहरूलाई आग्रह गरिसकेका छन् । 


सर्वोच्च अदालतको आदेश अनुसार पनि फागुन २४ सम्म संसदको बैठक बोलाइसक्नुपर्ने हुन्छ । संसदमा दाहाल–नेपाल समूहले अविश्वासको प्रस्ताव ल्याए सामना गर्न तयार भएका प्रधानमन्त्री ओलीले भने ओली समूहको संसदीय दलको नेतामा अहिले संसदीय दलको उपनेता रहेका सुवास नेम्वाङलाई अघि सार्न लागेका छन् । 
प्रधानमन्त्री ओली र दाहाल–नेपाल समूहसँग क्रमशः ८४ र ८८ सांसद रहेको बताइएको छ । संसदमा दाहाल–नेपालले अविश्वासको प्रस्ताव ल्याए ओलीले डटेर सामना गर्ने बताउँदै आएका छन् । ओली समूहका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीका अनुसार अब बन्ने सरकारको आकृति स्पष्ट नभएसम्म प्रधानमन्त्री ओलीले राजीनामा दिने छैनन् । 

ओलीले आफूले नेतृत्व गरेको दल नै आधिकारिक नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रहेको बताएका छन् भने दाहाल–नेपाल समूहले ओलीलाई कारबाही गरेर नेपाललाई अध्यक्ष बनाएको छ । यद्यपि निर्वाचन आयोगले भने ओली र दाहाल अध्यक्ष भएको पार्टी नै आधिकारिक नेकपा भएको जनाएको छ । 

निर्वाचन आयोगबाट नसुल्झिएको नेकपाको विवाद अब प्रतिनिधि सभामा प्रवेश गर्दैछ । 

दाहाल–नेपाल समूहबाट चयन हुने संसदीय दलको नेताले आफूलाई नेकपाको संसदीय दलको नेताका रूपमा प्रस्तुत गर्नेछन् भने ओली समूहले छिट्टै नै सुवास नेम्वाङलाई संसदीय दलको नेता बनाउनेछ । ‘अब दोस्रो पुस्ताका नेताहरू नेतृत्वमा आउनुपर्छ भन्ने प्रधानमन्त्रीको मत रहेकाले उहाँले संसदीय दलको नेतामा नेम्वाङलाई अघि सार्न लाग्नुभएको हो,’ प्रधानमन्त्री ओली निकट स्रोतले भन्यो । 

नेकपाभित्र सहमति भएर सोही दलको नेतृत्वमा सरकार बन्ने अवस्थामा बाहेक ओली समूहले पनि सरकार बनाउन नेम्वाङको अगुवाइमा समीकरण बनाउने प्रस्ताव अघि सार्नेछ । ‘दाहाल–नेपालले गैर कम्युनिष्ट नेतृत्वमा सरकार बनाउने कसरत गरेका छन् । हाम्रोतर्फबाट पनि स्वभाविक रूपमा नेपाली कांग्रेस र जनता समाजवादी दलसँग वार्ता अघि बढ्छ,’ त्यी नेताले भने । 

नेकपामा औपचारिक विभाजन नभइ कुनै पक्षमा नखुल्ने बताएका नेपाली कांग्रेस र जनता समाजवादी दल लगायतका कारण दाहाल–नेपाललाई बहुमत पुर्‍याउन सहज छैन । बुधबार नयाँ सत्ता समीकरणका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठ पुगेका दाहाल र नेपाललाई देउवाले पहिले तपाईंहरू आफ्नै ‘छुट्टै चिनारी’ बनाएर मात्र छलफलमा आउन भनेका थिए ।

जनता समाजवादी दलका वरिष्ठ नेता राजेन्द्र महतोले पनि नेकपा औपचारिक रूपमा विभाजन भैनसकेकाले अरु दलको अंकगणितको अहिले कुरा गर्नु हतारो हुने बताएका छन् । 

नेकपा औपचारिक रूपमा विभाजन पनि नहुने, संसदीय दलमा दुई जना नेता रहने अवस्थामा संसदभित्र पनि नेकपाको आधिकारिकताको विवाद हुने स्पष्ट छ । यस्तो अवस्थामा के हुन्छ ? राष्ट्रिय सभाका सांसद् एवं पुष्पकमल दाहाल निकट कानुन व्यवसायी रामनारायण बिडारीले भन्छन्, ‘त्यस्तो अवस्था जुन समूहमा बढी सांसद छन् र तिनले जसलाई संसदीय दलको नेता मानेका छन्, प्रतिनिधिसभामा सभामुखले सांसदका टाउको गनेर बहुमत सांसदको समर्थनमा चुनिएका दलका नेतालाई संसदीय दलको नेताका रूपमा आधिकारिकता दिनेछन् ।’ 

बिडारीका अनुसार सभामुखले आधिकारिकता दिएको व्यक्ति नै संसदीय दलको नेताको रूपमा काम गर्नेछ । 
 


Author

पुष्पराज आचार्य

अर्थराजनीति विषयमा कलम चलाउने आचार्य समाचार प्रमुख हुन् ।


थप समाचार
x