राजनीति

अघि बढ्ला त सार्क !

सार्क अघि बढाउन बाध्य हुँदै भारत

सार्क चार्टरका केही प्रावधानमा कटौतिसहित अघि बढ्ने तयारी

चन्द्रशेखर अधिकारी |
फागुन १५, २०७७ शनिबार २०:३२ बजे

काठमाडौँ : आफ्ना सबै छिमेकीले हरेक छलफलमा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को प्रसंग उठाउन थालेपछि भारत प्रक्रिया अघि बढाउन तम्सेको छ । सार्क प्रक्रियाको बाधक नै भारत हो भन्‍ने सन्देश जान थालेपछि सार्कलाई पुनः लिकमा ल्याउन लागेको हो ।

भारतकै अगुवाईमा २०१६ को नाेभेम्बरमा पाकिस्तानमा तय भएको १९ औँ  शिखर सम्‍मेलन अन्तिम समयमा स्थागित भएको थियो । स्थगनको झण्डै पाँच वर्षपछि शिखर सम्मेलन गराउने तर्फ भारतले हरियो बत्ती बालेको संकेत दिएको हो । 


भारत र पाकिस्तानबीचको आन्तरिक तनाबले स्थगन भएयता भारतले बिम्स्टेकलाई बढी प्रशय दिएको थियो । भारत र पाकिस्तानको कारण अघि बढ्न नसकेको सार्कलाई दुई देशबीच अहिले विभिन्‍न तहमा भइरहेका छलफलले नै टुंगोमा लैजाने विश्‍वास सदस्यराष्‍ट्रहरूको छ ।

सार्क अध्यक्षको रूपमा नेपालले सम्मेलन गने वातावरण निर्माण गर्न खासै भूमिका निर्वाह गर्न सकेको छैन । सार्कका वर्तमान अध्यक्ष केपी शर्मा ओलीले बेला बेलामा भारत र चीनको मध्यस्तता गरिदिनेसमेत भन्‍ने गरे पनि आफैं अध्यक्ष रहेको सार्कको नै सात वर्षदेखि शिखर सम्मेलन गराउने वातावरण निर्माण गर्न सकेका छैनन् । 

पछिल्लो समय भारत र पाकिस्तानबीच सीमामा युद्ध विरामको अवस्था छ । कूटनीति, राजनीति र सैन्य तहमा समेत छलफलहरू भइरहेका छन् । जसले गर्दा भारत र पाकिस्तानबीचको सम्बन्धमा केही सुधार आए शिखर सम्मेलन हुने बलियो सम्भावना रहेको परराष्ट्र मन्त्रालयका एक वरिष्ठ अधिकारीले बताए । उनले भने, ‘भारत र पाकिस्तानबीच गम्भीर छलफलहरू चलिरहेका छन् । सार्क अघि बढाउने विषयमा भारत पछिल्लो समय लचिलो पनि देखिएको छ ।’
 
सार्क सदस्य मुलुकले भारतसँग गर्ने हरेक छलफलमा सार्कको प्रशंग आउने भएपछि यसलाई अघि बढाउन भारत केही समयदेखि दबाबमा थियो । हुन पनि र्साक संरचना बनेदेखि नै हरेक गतिविधि सार्कमार्फत नै हुने गरेको छ । सानादेखि राष्ट्र प्रमुख तहसम्मका छलफलमा सार्कका विषय उठ्दै आएका छन् । 

सार्क स्थापनामा भारतले रूचि देखाएको थिएन तर छिमेकको दबाबमा परेर सार्कमा आउन सहमत भएको थियो । त्यसको ३६ वर्षपछि फेरि भारतले नचाहेर पनि सार्क प्रक्रिया अघि बढाउन बाध्य हुने अवस्था सृजना भएको छ । हुनत, बीच-बीचमा सार्क शिखर सम्मेलन हुन नसक्नुमा पनि भारत-पाकिस्तानको द्वन्द्व नै कारक बन्दै आइरहेको थियो । तर, अहिले जति लामो समय सार्कको शिखर सम्मेलन रोकिएको थिएन । 

अहिले अवरुद्ध सार्क प्रक्रिया अघि बढाउन भारतले केही मोडालिटि परिवर्तनको प्रस्ताव गर्नेबारे अनौपचारिक छलफल गरिरहेको परराष्ट्र उच्च अधिकारीले जानकारी दिए । सार्कमा गरिने सबै प्रकारको गतिविधिमा भारतले आफ्नो प्रमुख भूमिका खोज्दै शिखर सम्मेलनबाट पर्यवेक्षकको भूमिका थप कमजोर पार्ने कार्यमा सुझाव दिंदै आएको छ ।

सार्क यस्तो संगठन हो जहाँ सदस्यभन्दा बढी पर्यवेक्षक छन् । सार्कमा नेपाल, भारत, पाकिस्तान, बंगलादेश, भुटान, माल्दिभ्स, श्रीलंका र अफगानिस्तान सदस्य छन् भने चीन, जापान, दक्षिण कोरिया, अमेरिका, अस्ट्रेलिया, इरान, म्यानमार, युरोपेली महासंघ (इयू) र मौरिसस पर्यवेक्षक छन् । 

सार्क स्थापनामा भारतले रूचि देखाएको थिएन तर छिमेकको दबाबमा परेर सार्कमा आउन सहमत भएको थियो । त्यसको ३६ वर्षपछि फेरि भारतले नचाहेर पनि सार्क प्रक्रिया अघि बढाउन बाध्य हुने अवस्था सृजना भएको छ ।

जसरी सार्क चार्टरलाई वेवास्ता गर्दै हरेक वर्ष हुने सार्क शिखर सम्मेलन दुई वर्षमा एक पटक गरिने बनाइएको छ । त्यसैगरी पर्यवेक्षकको भूमिकासहित अन्य केही प्रावधानको बारेमा पनि छलफल अघि बढाएको कूटनीतिक स्रोतले बतायो । यसैबीच, दुई दिन अघि पाकिस्तान र श्रीलंकाले सार्क उद्देश्य र सिद्धान्तप्रति प्रतिबद्धता दोहोर्‍याउँदै यसलाई अघि बढाउन आ-आफ्नो तर्फबाट प्रयास गर्ने बताएका छन् ।

पाकिस्तानमा शिखर सम्मेलन नहुने अवस्था आए आफूले शिखर सम्मेलन गर्ने प्रस्ताव चार वर्ष अघि श्रीलंकाले राखेको थियो । तर आफ्नो पालोमा आफूले नै गर्ने भन्दै पाकिस्तानले शिखर सम्मेलनमा जोड दिँदै आएको हो । 

त्यो प्रसंग बाहिर नआए पनि श्रीलंका र पाकिस्तानका प्रधानमन्त्रीद्वय क्रमशः महिन्दा राजपाक्ष र इमरान खानले यस क्षेत्रका जनताको भलाइका लागि सार्क राष्ट्रहरूबीच सहकार्य अपरिहार्य रहेको बताएका हुन् । श्रीलंका भ्रमण सकिएपछि जारी संयुक्त वक्तव्यमै समेटिएको छ, ‘दुवै पक्षले सार्क बडापत्रको उद्देश्य र सिद्धान्त अनुरुप सहकार्यमा जोड दिँदै सार्क सदस्य मुलुकहरूबीच यो क्षेत्रका जनताको बृहत् भलाइका लागि निकटता बढाउन आवश्यक छ ।’ 

श्रीलंका र पाकिस्तानबीच यस्तो छलफल भइरहँदा यता भारत र पाकिस्तानबीच पनि दुई पक्षीय सम्बन्ध सुधारको कार्य अघि बढेको छ । कूटनीतिक, नागरिक र सुरक्षा निकायका विभिन्न च्यानलहरूबाट छलफल अघि बढेको हो । श्रीलंका र पाकिस्तानमा मात्र होइन भारत र अन्य मुलुकमा होस वा अन्य सदस्य मुलुक एक अर्काबीच उच्चस्तरको भ्रमण हुँदा सार्कलाई अघि बढाउने विषयमा छलफल हुने गरेको छ । उनीहरूले यो क्षेत्रको शान्ति, सुरक्षा र स्थायित्वका लागि सहकार्य गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्दै आएका छन् ।
 
हुनत, कोभिड-१९ को महामारी सुरु भए लगत्तै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सार्क क्षेत्रका शीर्ष नेताहरूको बैठक आयोजना गरे । त्यतीबेला लाग्थ्यो भारत नै सार्कको अध्यक्ष हो । त्यसपछि सार्क शिखर सम्मेलनको ढोका खुलेको हो कि झै थियो । तर अघि बढेन् । सार्क परराष्ट्र मन्त्रीहरूको अनौपचारिक बैठक राष्ट्रसंघीय महासभाको क्रममा भर्चुअल माध्यमबाट भयो । तर, त्यस बैठकले पनि शिखर सम्मेलनका लागि वातावरण बनाउन सकेन । 

जम्मु-कश्मीरका विषयमा भारत र पाकिस्तानबीच विवाद अझै घटेको छैन । तर, केही समययता दुवै पक्षका सेना सीमा क्षेत्रमा शान्त नै छन् । भारत र पाकिस्तानबीच द्वन्द्व भए पनि जनस्तरको सम्बन्धमा आत्मियता छ । हरेक वर्ष आठ लाख बढी पाकिस्तानीले भारत भ्रमणको भिसा लिएका हुन्छन, त्यो पनि इस्लामाबादबाट मात्र । त्यस्तै भारतबाट पाकिस्तान जानेले पनि त्यो भन्दा बढी भिसा लिइरहेका हुन्छन् । यस्तो अवस्थामा सहकार्य अघि बढाउन दुवै मुलुक उत्तिकै गम्भीर भएर लाग्न पर्ने सुझाव सार्क अध्यक्ष मुलुक नेपालले दिँदै आएको छ ।
 


Author

चन्द्रशेखर अधिकारी

अन्तर्राष्ट्रिय राजनीति र रक्षा मामलामा कलम चलाउने अधिकारी प्रबन्ध सम्पादक हुन् ।


थप समाचार
x