राजनीति

सत्तारुढ दलको आन्तरिक किचिलो : प्रदेश-२ सभा बैठक अझै अन्योल

सुभाष कर्ण |
फागुन १९, २०७७ बुधबार २०:३१ बजे

जनकपुरधाम : पाँच महिनादेखि प्रदेश २ को प्रदेश सभा बैठक बस्‍न सकेको छैन । व्यक्तिगत स्वार्थका लागि प्रदेश सरकारका मन्त्रीहरुले प्रदेश सभालाई बन्धक बनाई बैठक बसाउन नसकेको सत्तारुढ दलकै सांसदहरुले आरोप लगाएका छन् । ‘पार्टी एकीकरण भएपछि महिनौदेखि संघीय समाजवादी पार्टी र राजपाबाट संसदीय दलको नेता र प्रमुख सचेतकको छुट्टाछुट्टै सुविधा पाइरहेका छन,’ इकागजसँग सत्तारुढ दल तात्कालिन राजपाका एक सांसदले भने । 

प्रदेश सभाको पछिल्लो अधिवेशन नसकिँदै संसदीय दलको नेता फेरबदलका विषयमा विवाद हुँदै आएको छ । संसदीय समिति चयन गर्न जिम्मेवारी पाएका समाजवादी पार्टीबाट मुख्मयन्त्री बनेका लालबाबु राउत र राजपाबाट भौतिक पुर्वाधार मन्त्री बनेका जितेन्द्र सोनलले आफ्नै पद जाने डरले यसलाई लम्ब्याइरहेका छन् । 
सत्तारुढ दलकै सांसदहरुले पटक-पटक ताकेता गर्दा प्रदेश सभाको आगामी बैठक बस्‍नु अगावै संसदीय समिति चयन गर्ने प्रतिबद्धता नेताहरुले जनाउंदै आएका छन् । तर, संसदीय समिति चयन हुँदा मन्त्रिपरिषदसमेत हेरफेर हुने डरले जिम्मेवारी पाएकाहरुले टार्दै आइरहेका छन् । पछिल्लो पटक चौँथो प्रदेश सभाको अधिवेशन कात्तिक ३ गते गते बसेर ४ गते अन्त्य भएको थियो । त्यस यता बैठक बस्‍न सकेको छैन । बैठक बोलाउन मुख्यमन्त्री लालबाबु राउतलाई प्रतिपक्षी दलसहित सत्तारुढका सांसदहरुले दबाब दिएपनि आनाकानी गर्दै आएको आरोप सांसदहरुको छ ।   


बैठक बस्‍न नसक्दा प्रदेश सभामा थन्किएका दर्जनौँ विधेयक अघि बढ्न सकेका छैनन् । प्रतिपक्षी दलहरुले औपचारिकता पूरा गर्न मौखिक रुपमा आग्रह मात्र गरेको छ । प्रतिपक्षी नेकपाका दुई समूहमध्ये दाहाल-नेपाल समूहका संसदीय दलका नेता शत्रुध्‍न महतोले भने,‘संघीय संसद विघटनले गर्दा हामी सबै दल आन्दोलनमा लागेका कारण बैठक तिर खासै ध्यान दिइएन । तर आन्दोलनकै क्रममा भेटघाटको क्रममा मुख्यमन्त्रीज्यूले फागुन महिनाभित्रै बैठक बसाउने भन्‍नु भएको छ । अरु थप कुराकानी भएको छैन ।’ 

त्यस्तै नेपाली कांग्रेस संसदीय दलका नेता रामसरोज यादवले संसद बैठक बोलाउने विषयमा सहमति भएपनि दलहरु आन्दोलनमा लागेकोले बस्‍न नसकेको बताउँछन् । उनले पनि मुख्यमन्त्रीले चाँडै नै संसद् अधिवेशन आह्वान गर्ने आश्वासन दिएको बताउँछन् । उता प्रदेश सरकार प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादव भन्छन्, ‘कोरोनाको जोखिमका कारण पनि बैठक बस्‍न सकेन । त्यसपछि प्रतिनिधि सभा विघटनले गर्दा उत्पन्न राजनीति उथल पुथलको कारण बस्‍न सकेन । तर, चैतको पहिलो सातामै प्रदेश सभाको बैठक बोलाउने गरी तयारी भइरहेको छ ।’ 

उनले कोरोना भाइरस संक्रमणको जोखिम कम भएको र प्रतिनिधि सभा पुनस्थापना भएकोले अब छिटै बैठक बस्‍ने बताए ।  संसदीय दलको नेता चयन सम्बन्धी पार्टीको आन्तरिक किचिलोको कारण बैठक बस्‍न नसकिरहेको प्रसंगमा उनले भने, ‘यो गलत आरोप हो, त्यस्तो केही छैन । संसदीय दलको नेता चयन र प्रदेश सभाको बैठकबीच कुनै सरोकारै छैन ।’   

यता सभामुख सरोजकुमार यादवले प्रदेश सभाको बैठक बोलाउने र अन्त्य गर्ने काम प्रदेश सरकारको भएकोले आफूले केही गर्न नसकेको बताउँछन् । ‘प्रदेश सभाको बैठक बोलाउने र अन्त्य गर्ने काम प्रदेश सरकारको हुन्छ,’ उनी भन्छन्, ‘हामी त्यसमा केही गर्न सक्दैनौँ ।’ एउटा अधिवेशन सकिएको बढीमा ६ महिनाभित्र अर्काे बैठक बोलाउने संवैधानिक प्रावधान छ । तत्कालिन सत्ता पक्षका समाजवादी पार्टी र राजपाबीच एकीकरण भएको झण्डै ११ महिना भइसक्दासमेत प्रदेश सभामा दुवै दलबाट छुट्टाछुट्टै दलको भूमिका नेता र प्रमुख सचेतक हुन र दुवै पार्टी सेवा सुविधा बुझ्दै आएका छन् । 


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x