राजनीति

प्रधानमन्त्री ओलीले मेलम्चीको पानीलाई काठमाडौँमा स्वागत गर्ने

इकागज |
फागुन २१, २०७७ शुक्रबार १९:३५ बजे

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले मेलम्चीको पानीलाई काठमाडौँमा स्वागत गर्ने भएका छन् ।  उनले सुन्दरीजल पुगेर मेलम्चीबाट फागुन १० मा सुरुङमार्फत पठाइएको पानी बागमतीमा खसाल्ने स्वीच थिचेर स्वागत गर्न लागेका हुन् ।  प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्री ओलीले शिवरात्रीसम्म मेलम्चीबाट ल्याइएको पानी बागमतीमा बगाउन निर्देशन दिइसकेका छन् । शिवरात्रीमा पशुपति आउने  हिन्दु धर्मावलम्बीहरुलाई मध्यनजर गर्दै पानी बगाउन निर्देशन दिएका हुन् । सोही अबसरमा प्रधानमन्त्रीले विकास निर्माण सम्बन्धी केही महत्वपूर्ण घोषणा गर्ने पनि थापाले जानकारी दिए ।  

मेलम्ची खानेपानी आयोजनाको सुरुङ परीक्षणपछि त्यहाँ जम्मा भएका पानीलाई वागमतीमा शनिबार बिहान बागमतीमा छोडिनेछ । खानेपानी मन्त्री मणिचन्द्र थापा र सचिव माधव बेल्वासेसहितको टोलीले आयोजनास्थल मेलम्ची पुगेर फागुन १० मा सुरुङमा पानी भर्ने कार्यको थालनी गरेका थिए । त्यसयता सुरुङमा जम्मा भएको पानी वागमतीमा छोड्न लागिएको हो ।


साढे २६ किलोमिटर लामो सुरुङमा पानी भरिएर सफल परिक्षणपछि उक्त पानी वागमतीमा छोड्न लागिएको हो । यो सफल परीक्षणपछि अब तीन महिना नकटाई काठमाडौँ बासीलाई मेलम्चीको पानी उपलब्ध गराउने योजना सरकारको छ । सुरुङमा पानी पठाउने काम सफल भएकाले त्यहाँ आएका फोहोरसहितको पानी वागमतीमा छोड्न लागिएको हो । 

वागमतीमा छोडेपछि दोस्रो चरणमा सुन्दरीजलको प्रशोधन केन्द्रमा पानी पठाइने र उक्त पानी त्यहाँबाट उपत्यकाबासीको धारामा वितरण गर्ने काम हुनेछ । सुरुवाती चरण भएकाले सुरुङको क्षमता भन्दा कम पानी छाडिएको छ । सुरुङमा प्रति सेकेन्ड २ सय ५० लिटर देखि ३ सय लिटरसम्म पानी पठाउने काम भएको थियो । सुरुङमा १३ करोड लिटर पानी भरेपछि दुई सातासम्म परीक्षणका लागि राखिएको हो । अब सबै पानी बागमतीमा छोडेपछि एक पटक पुन परीक्षण गरेर पानी छोड्दै प्रशोधन केन्द्रमा पठाइने जानकारी खानेपानी मन्त्रालयले दिएको छ ।  

मेलम्चीको पानी सुन्दरीजलमा तयार गरिएको दुई प्रशोधन केन्द्रबाट वितरण प्रणालीमा पठाइने छ । मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी काठमाडौंमा आउनेछ । गत असारमा सुरुङमा पानी भरेर परीक्षण गरिएको थियो । तर हेलम्बु गाउँपालिका अम्बाथानमा रहेको अडिटको १७ नम्बर गेट फुटेर पानी निस्किएको थियो । गेट फुट्दा आयोजनाका एक इन्जिनियर र चालकलाई बगाएको थियो । जसका कारण सुरुङ, मुहान स्थल र संरचनाको पुनः जाँच गर्दै अहिले पुन पानी पठाइएको हो । आज रातीसम्म भरिने हुनाले शनिबार छोड्ने र त्यसले फोहोर सफा हुनेछ ।  मन्त्रालयले बागमतीमा पानीको सतह बढ्ने भन्दै नदि आसपासका बासिन्दालाई सतर्क रहन पनि भनेको छ।  


Author

थप समाचार
x