राजनीति

विकास विरोधीहरूले जनता उचाले : अर्थमन्त्री पौडेल

रुपन्देहीमा जनप्रतिनिधिहरु विकासका वाधक देखिए :  भट्ट

विक्रम खड्का |
फागुन २१, २०७७ शुक्रबार २०:८ बजे

बुटवल  : स्थानीयबासीको चर्को विरोध भएपछि मोतिपुर औद्योगिक क्षेत्रको शिलान्यासका क्रममा बोल्दा बोल्दै सम्बोधनलाई बीचमै छाडेर हिँडेका अर्थमन्त्री विष्णु पौडेलले बुटवलमा पुगेर पर्दा पछाडिबाट उचालिएकाहरुले कार्यक्रम भाँड्न खोजेको बताएका छन् ।  उनले त्यस्ता विकास विरोधीहरुलाई पर्दा खोलेर मैदानमा आउन चुनौती दिए । 

प्रदेशको उद्योग तथा पर्यटन मन्त्रालयमा पुगेर पत्रकार सम्मेलन गर्दै अर्थमन्त्री पौडेलले पर्दा पछाडिका पात्रले स्थानीयलाई भ्रम छरेर विकासको बाटोमा अवरोध पु–याउन खोजेको बताएका हुन् । उनले अव्यवस्थित बसोबास गरिरहेका सबै स्थानीयलाई लालपुर्जा प्रदान गर्न सरकार प्रतिबद्ध भएको पनि बताए । मोतिपुरको ओद्योगिक क्षेत्र कुनै व्यक्तिको जग्गामा स्थापना हुन नलागेको अर्थमन्त्री पौडेलको दाबी छ । उनले विधि प्रक्रिया पुरा गरेर औद्योगिक क्षेत्र स्थापना हुन लागेको स्पष्ट पारे । ‘मोतिपुर आसपासमा बस्ने स्थानीय भूमिहिनहरुलाई जमिनको मालिक यहि सरकारले बनाउँछ, पर्दा पछाडिबाट भ्रम छर्नेहरुले लालपुर्जा दिने होईन,’ उनले भने, ‘सबैको जिम्मा हामी लिन्छौँ । सबैलाई जमिनको मालिक बनाउछौँ ।’


 त्यस्तै उद्योग, बाणिज्य तथा आपुर्ति मन्त्री लेखराज भट्टले विकास विरोधी जनप्रतिनिधिहरुबाटै उचालिएर कार्यक्रममा अवरोध पु–याउन स्थानीय आएको आरोप लगाए । उनले विकासको अभियानमा अवरुद्ध गर्ने तत्वकाविरुद्ध लाग्न सबैलाई आग्रह गरे । विकासको विरोध गर्ने तर विकास भएन भनेर गुनासो गर्नेले स्थानीयलाई उचालेर भ्रम छरेको भट्टको भनाइ  छ । 

भट्टले कार्यक्रममा अवरोध गर्नेहरु दाहाल–नेपाल पक्षतर्फ संकेत गर्दै राजनीतिक आग्रह र पूर्वाग्रह राखेर कार्यक्रम बिथोल्न खोजिएको आरोप लगाए । ‘कार्यक्रम नगर भनेर सामान्य फोनसम्म आएको थियो, सामान्यविरोध होला भन्ने लागेको थियो, तर रुपन्देहीमा जनप्रतिनिधिका नाममा विकास नगर्ने तर विकास भएन भन्ने प्रवृतिले काम गरेको देखियो,’ उनले भने, ‘विकास विरोधीहरुको अब जनताले प्रतिकार गर्नु पर्छ ।’ मोतिपुर औधोगिक कोरिडोरको शिलान्यास गरेर भाषण गरिरहँदा स्थानीयले माइकको लाइन काटिदिएपछि पौडेल बिचमै सम्बोधन छाडेर निस्केका थिए । 

स्थानीयको ज्ञापन पत्र, अवरोध गर्ने चेतावनी र बैकल्पिक व्यवस्थाको मागलाई पन्छाएर अर्थमन्त्री पौडेलले शिलान्यास गरेपछि कोरिडोर क्षेत्रमा भएको झडपमा कम्तीमा आधादर्जन  स्थानीय प्रदर्शनकारी र १ जना शसस्त्र प्रहरीसहित केहि प्रहरी घाइते भएका छन् । बिहीबार शिलान्यासका लागि तयार गरिएको मञ्च स्थानीयले भत्काएपछि रातारात शसस्त्र प्रहरीले मञ्च खडा गरेर अर्थमन्त्री पौडेल शिलान्यास गर्न मोतिपुर पुगेका थिए । बिहानैदेखि बालबच्चा र जेष्ठ नागरिकसहित कार्यक्रमस्थल घेर्न आएका स्थानीयलाई प्रहरीले हटाउन खोज्दा झडप भएको हो ।

शिलान्यास सकेर मन्त्रीहरु फर्के लगत्तै स्थानीयहरुले शिलान्यासको शिलालेख भत्काउनुका साथै शिलान्यासस्थलमा तोडफोड गरेका छन् । मोतिपुर औधोगिक कोरिडोरका लागि अतिक्रमण गरेको ८१३ बिगाहा जमिनमध्ये २५० बिगाहा जमिनमा विगत ५५ वर्ष देखि ३ हजार घर परिवार बस्दै आएका छन् । 


Author

विक्रम खड्का

खड्का इकागजका लुम्बिनी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x