राजनीति

भोलि संसदमा आमने–सामने हुँदै दुईथरी नेकपा, यस्तो छ संसदको कार्यसूची

पुष्पराज आचार्य |
फागुन २२, २०७७ शनिवार १८:४५ बजे

काठमाडौँः सरकारको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले असार १८ गते नै संसद् अधिवेशन स्थगित गरिदिएपछि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र ठूलो कलह हुँदै पार्टी विभाजनको स्थितिसम्म पुग्यो । हिउँदे अधिवेश बोलाउनुको साटो प्रधानमन्त्री र राष्ट्रपतिको मिलिभगतमा पुस ५ गते प्रतिनिधिसभा विघटन भयो । 
आफैंले विघटन गरेको प्रतिनिधि सभा सर्वोच्च अदालतले पुनर्स्थापना गरेर १३ दिन भित्र संसद् बैठक बोलाउन दिएको आदेशको अन्तिम मिति फागुन २४ भन्दा एक दिन अघि सरकारको सिफारिशमा राष्ट्रपतिले प्रतिनिधि सभा बैठक बोलाएकी छिन् ।  फागुन २३, आइतबार अपराह्न ४ बजे प्रतिनिधि सभाको बैठक बस्दैछ । 

आफैंले विघटन गरेको संसद् पुनःस्थापना भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको नैतिक पराजय भैसकेको छ । तर उनी पराजय स्वीकार गरेर राजीनामा नदिने र संसदमा कसैले अविश्वासको प्रस्ताव ल्याए डटेर सामना गर्ने बताउँदै आएका छन् । 
प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध अविश्वासको प्रस्ताव ल्याउने कामको नेतृत्व गरिरहेका पुष्पकमल दाहाल र माधव कुमार नेपालले अविश्वासको प्रस्ताव ल्याउने काम ‘भ्यागुताको धार्नी’ पुर्‍याए जस्तो भैरहेको छ । 


निर्वाचन आयोगको अनिर्णयले प्राविधिक रूपमा एउटै दल रहेका दुई थरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेतृत्व र सांसदहरू भोलि संसदमा आमने सामने हुने भएका छन् । 

यसअघि वर्षे अधिवेशनको अर्को बैठक असार २२ गते सोमबार १ बजे बस्नेछ भनेर सभामुख अग्निप्रसाद सापकोटाले जारी गरेको सूचनालाई सरकारको सिफारिशमा संसदको वर्षे अधिवेशन अन्त्य गरेर राष्ट्रपतिले ‘डिफंक्ट’ गराइदिएकी थिइन् । 

 

यद्यपि संसदमा सरकारले दर्ता गरेका धेरै विधेयकहरूमा छलफल गर्ने विजनेश थियो । तर सरकारले संसदलाई विजनेश भएन भनेर वर्षे अधिवेशन अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिश गरेको थियो । 

यसको भित्री कारण भने प्रधानमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव आउने हो कि भन्ने हतास मनस्थितिमा सरकारले वर्षे अधिवेशन अन्त्य गरेको थियो । त्यही क्रम र सत्तारुढ पार्टीभित्रको विवाद बढ्दै प्रधानमन्त्री ओलीले हिउँदे अधिवेशन बोलाउन सिफारिश गर्नुका साटो पुस ५ मा प्रतिनिधि सभा नै विघटन गरिदिएपछि केपी शर्मा ओली समूह र दाहाल–नेपाल समूहबीच विवाद चरमोत्कर्षमा पुग्यो । एक–अर्काबीच घोचपेच र तुच्छ गालीगलौज हुँदै अहिले दुवै पक्षका आ–आफ्ना संसदीय दलका नेता र आ–आफ्ना सचेतक चयन भैसकेका छन् । 

संसदमा दुवै आ–आफ्नो तयारी सहित जान आफ्नो पक्षमा सांसदको संख्या बढाउनुपर्ने दबाबमा छन् । 

दाहाल–नेपालका सामु ‘गर या मर’को स्थिति छ । प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन कस्सिएका उनीहरूको संसद्मा बस्ने व्यवस्था (सिटीङ एरेन्जमेन्ट) सत्तारुढ दलको रूपमा एकै लहरमा गरिएको छ । 

‘राजपा र संघीय समाजवादी फोमको पार्टी एकता भैसकेको पत्र निर्वाचन आयोगले पठाइसकेकाले उक्त दलका सांसदहरू बस्ने एकै लहर मिलाइएको छ,’ प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले भने, ‘सत्तारुढ नेकपाका सम्बन्धमा निर्वाचन आयोगबाट हामीलाई कुनै जानकारी आएको छैन ।’
दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले भने प्रधानमन्त्री ओलीसँग कित्ताकाट भैसकेकाले संसद् बैठकमा पनि आफूहरू सत्ता पक्षको लहरमा नबसेर प्रतिपक्षीको लहरमा बस्ने बताएका छन् । 

प्रतिनिधि सभा विघटन गरेर सडक संघर्षबाट एकअर्का विरुद्ध घम्साघम्सी गरिरहेका दुई थरी नेपाल कम्युनिष्ट पार्टी अन्ततः संसदमा आमने–सामने हुने भएका छन् । तर निर्वाचन आयोगले दलको आधिकारिकता सम्बन्धी विवादमा निर्णय नदिएकाले विवादको गाँठो भने फुक्न सकेको छैन ।

भोलिको प्रतिनिधि सभा बैठकका एजेण्डा:


Author

पुष्पराज आचार्य

अर्थराजनीति विषयमा कलम चलाउने आचार्य समाचार प्रमुख हुन् ।


थप समाचार
x