राजनीति

मान्छेका बीचमा हुने विभेदको अन्त्य हुनुपर्छ : उपराष्ट्रपति पुन

इकागज |
चैत ६, २०७८ आइतबार १७:८ बजे

काठमाडौं– उपराष्ट्रपति नन्दबहादुर पुनले मान्छे–मान्छेका बीचमा हुने विभेदको अन्त्य हुनुपर्ने बताएका छन्।

आइतबार काठमाडौंमा आयोजित स्वर्णिम युग फाउन्डेशनको शुभारम्भ तथा खेम शर्मा द्वारा लिखित पुस्तक ‘स्वर्णिम रहस्य’ विमोचन समारोहमा बोल्दै हुँदै उपराष्ट्रपति पुनले मान्छे–मान्छेका बिचमा असमानता र विभेद हुन नहुने बताएका हुन् ।


समाजमा धनी र गरिबका बीचमा शिक्षा र स्वास्थ्यको क्षेत्रमा असमानता र विभेद रहेको भन्दै त्यस प्रकारको विभेदको अन्त्य हुनुपर्ने बताए। उपराष्ट्रपति पुनले विभेदको अन्त्यका लागि थुप्रै खालका राजनीतिक संघर्षहरु भएपनि जनताले अपेक्षा गरे अनुसारको परिवर्तन हुन नसकेको बताए

‘कसैको छोराछोरीले पढ्न पाउने, कसैको छोराछोरीहरुले पढ्न नपाउने भन्ने हुनुहुँदैन,’ उनले भने, ‘कोही व्यक्तिले चाहीँ लाखौँ करोडौँ खर्च गरेर उपचार गर्न पाउने, कोही व्यक्ति सिटामोल पनि नपाएर मर्नु पर्ने अवस्थाको अन्त्य हुनुपर्छ ।’

उपराष्ट्रपति पुनले देशले मलाई के दियो भनेर होइन देशलाई मैले के दिन सक्छु भनेर सोच्नुपर्ने बताए। उनले अनुशासित, नैतिकवान, पारदर्शी र अरुको हितका लागि सोच्ने व्यक्तिले मात्रै समाजका लागि राम्रो गर्नसक्ने बताए।       


Author

थप समाचार
x