राजनीति

को–को छन्, ललितपुर महागनगरमा मेयर पदका कांग्रेस आकांक्षी ?

दुर्गा आचार्य |
चैत २५, २०७८ शुक्रबार १८:७ बजे

काठमाडौँ- स्थानीय तहको निर्वाचनको मिति तय भएसँगै ललितपुर महानगरपालिकामा चुनावी सरगर्मी ह्वातै बढेको छ । यतिखेरसम्म ललितपुर महानगरमा कांग्रेसबाट मेयरका लागि चार जनाले आकांक्षा देखाएका छन् । 

मेयर चिरिबाबु महर्जन, निवर्तमान नगर सभापति राजेश महर्जन, महाधिवेशन प्रतिनिधि प्रेमकृष्ण महर्जन र महासमिति सदस्य भरतलाल न्याछ्औँ छन् । 
निवर्तमान सभापति राजेश महर्जनलाई भने महानगरपालिकाको मेयरमा दाबेदार नगरुन् भनी बागमती प्रदेशको सदस्यमा मनोनीत गरिसकिएको स्रोतले बताएको छ । तर, पनि पछिल्लो समय उनी मेयरको दाबी प्रस्तुत गरिरहेका छन् ।  
 


काठमाडौँपछिको महत्वपूर्ण महानगर भएकाले ललितपुर महानगरले छुट्टै महत्व बोकेको छ । संस्कृति, सम्पदा, हिसाबले नेवार समुदायको बसोबास भएको यो महानगरपालिका महत्वपूर्ण पहिचान बोकेको महानगर हो । 

सबै पार्टीले उत्तिकै महत्व दिएको ललितपुरमा २०७४ को स्थानीय निर्वाचनमा कांग्रेसका चिरिबाबु महर्जनले जित हात पारेका थिए । अबको निर्वाचनमा पनि कांग्रेस ललितपुर महानगर गुमाउन चाहँदैन । जनतासँग नजिक रहेका र लोकप्रिय व्यक्ति छनौट गरी टिकट दिइनुपर्ने दबाबमा कांग्रेस देखिन्छ ।
गुटले ग्रस्त कांग्रेसमा ‘राम्रा’ भन्दा पनि ‘हाम्रा’ले टिकट पाउने गरेको आरोप लाग्ने गर्छ । त्यसमाथि पार्टीभित्र हुने अन्र्तघातले पनि कांग्रेसका धेरै उम्मेदवारहरु पराजित हुने गर्छन् । पार्टीको केन्द्रीय नेतृत्वदेखि जिल्ला, वडा तहसम्म मेल हुने र पार्टी एकता कायम छ भन्ने सन्देश नदिँदै चुनाव आएकाले धेरै उम्मेदवार अन्र्तघातको शिकार हुने निश्चित छ ।  बेमेलको असर निर्वाचनमा सहजै देखिन्छ । 

प्रेमकृष्ण महर्जन २०७४ मा प्रतिनिधिसभा–२ को प्रदेश सभामा पराजित भएका हुन् । २०५४ मा प्रेमकृष्ण ललितपुर उपमहानगरको उपमेयरमा पराजित भए । २०५४ सालको चुनावमा ७ हजार मतले हारेका उनी २०७४ को प्रदेससभा चुनावमा पनि २६ सय मत नपुग्दा पराजित भएका थिए । आठौँ महाधिवेशन देखि १४औँ महाधिवेशनसम्म महाधिवेशन प्रतिनिधिमा उनी निरन्तर विजयी हुँदै आएका छन् । उनी २०३८ देखि नै राजनितिमा सक्रिय छन् । 

प्रेमकृष्ण नेता कार्यकर्ता र सर्वसाधारणले अगाडि बढ्नुपर्यो भनेपछि आफू मेयरका लागि अगाडि बढेको बताउँछन् । उनी आफूलाई बाहेक अरु कसैलाई पार्टीले उम्मेदवार नदिने दाबीसमेत गर्छन् । ‘पार्टीमा २०३८ देखि निरन्तर लागेको हुँ, मेरो व्यक्तिगत सम्बन्ध (पीआर) पनि राम्रो छ, त्यसैले मलाई टिकट दिन्छ भन्ने विश्वास छ’, उनी भन्छन् । 

स्थानीय तहको निर्वाचनका लागि पार्टीले महामन्त्री गगनकुमार थापाको नेतृत्वमा घोषणापत्र बनाउँदैछ । स्थानीय तहमा पनि त्यसको तयारीे गरिरहेको उनले बताए। त्यो भन्दा पनि शिक्षा, स्वास्थ्य र आर्थिक कुरामा सधैँ उनको जोेड रहने छ । 

ललितपुर संस्कार र संस्कृतिले धपक्क बलेको शहर हो । तर, यहाँ पर्यटक आउँदा एकरात पनि राख्न नसकेकामा उनी चिन्ता व्यक्त गर्छन् । ‘मैले आर्थिक समृद्धिमा जोड दिने हो, यहाँ आएका पर्यटकलाई एक रात बिताउने (वान नाइट स्टे) कसरी बनाउने भन्नेमा छलफलमा छु’, उनले भने ।
हस्तकला सम्बन्धी मूर्ति निर्माण र सुन चाँदीको गहना बनाउने कुरालाई अन्तराष्ट्रिस्तरसम्म पुर्‍याउने प्रत्येक ६÷६ महिनामा प्रदर्शनी गर्ने उनको योजना छ । बिरामी भएकाहरुलाई पैसाको कारण उपचार गर्न नपाएको अवस्था छ । उनी भन्छन्, ‘पैसाका कारण मान्छे मर्ने अवस्था आउन दिइँदैन ।त्यसका लागि स्वास्थ्य बीमा योजना अगाडि बढाइनेछ ।’

कांग्रेसको १४औँ महाधिवेशन एकताको महाधिवेशन भएकाले कांग्रेसका गुट उपगुट नरहेकाले राम्रोलाई उम्मेदवार दिनेमा उनी निश्चिन्त छन् । उनी अहिलेको समयमा आफूजति पीआर राम्रो रहेको अन्य उम्मेदवार नभएकाले आफूले टिकट पाए चुनाव जित्ने दाबी गर्छन् । उनले अहिलेको स्थानीय चुनावमा ४० हजार मत आफूले ल्याउने दाबी गरे ।
 

भरतलाल न्याछ्औँ ४२ वर्षदेखि कांग्रेसको राजनितिमा सक्रिय छन् । उनी दुइ पटक नगरको सभापति भएका छन् । एक पटक जिल्लाको सहसचिव भएका छन् । दुइ पटक महाधिवेशन प्रतिनिधि भएका छन् ।
उनी हाल महासमिति सदस्य छन् ।पार्टी एकताका लागि सधैँ आफ्नो योगदान रहेको उनी बताउँछन् । ‘पार्टी विभाजनको अवस्थामा पनि पार्टी एकता हुनुपर्छ भनेर कुनै गुटमा नलागी हिडेँ’ उनले भने । 

उनले व्यवस्थापनमा स्नातकोतर गरेका छन् । उनी ‘यस पटक एकै पटक’को नारा दिएर चुनावी दौडमा हिडेका छन् । उनी भन्छन्, ‘अवसर आएपछि एकपटक काम गर्ने हो यसपटक सकिएन अर्को पटक पनि अवसर दिनुस्न भन्न म जाँदिन् ।’
भरतले २०५४ सालमै मेयरमा दाबी गरेकाथिए । त्यसपछि पनि पटक पटक उनले विभिन्न पदमा दाबी गरे । तर, उनले पार्टीलाई योगदान दिन सकेनन् वा पार्टीले उनलाई पत्याएन उनले कहिल्यै लाभको पद पाउन सकेनन् । यो आफनो राजनीतिक यात्राको अन्तिम मौका भएको उनी बताउँछन् ।

२०३६ सालको जनमत संग्रहदेखि निरन्तर रुपमा कांग्रेसमा लागेका भरत २०७४ सालको जस्तो ठूला ठूला गफाडी योजना लिएर जनतामा नजाने बताउँछन् ।  ‘मोनोरेल र फास्टट्रयाकको कुरा गरेर हुँदैन’्,भरतलाल न्याछ्औँले भने, ‘अब ललितपुरलाई विश्वमा चिनाउने पहिचानको आवश्यकता छ ।’

ललितपुर २५ सयदेखि ३ हजार वर्ष पुरानो नगर रहेको भरतको दाबी छ । ललितपुर आफ्नै संस्कृति र सम्पदाको धनी पनि छ । लिच्छविकालीन किँरातकालीन संस्कृति र सभ्यता भएको नगर भएकाले सबैलाई संरक्षण सम्बर्धन गरेर विश्वव्यापी पहिचान बनाउने भरतको योजना छ । जस्तो जेरुसेलम, बनारस, रोम, ग्रीस भन्ने बित्तिकै मानिसले चिन्छ, त्यस्तै ललितपुरको पहिचान बनाउने योजना न्याछ्औँको छ । 
उनी अहिलेका नेताहरुमाथि व्यङग्य गर्दै भन्छन्, ‘स्मार्ट सिटी भनेर बकम्फुसे कुरा गरेर बत्ती बालेर स्मार्ट सिटी हुँदैन्, बती भनेको अतिआवश्यक कुरा हो, त्यसलाई चुनावी नारा कसरी बनाउन सकिन्छ ?’

बत्ती बालेर ललितपुरको पहिचान नबन्ने उनको दाबी छ । ‘यसलाई छुट्टै पहिचानको शहर बनाउनुपर्दछ, विश्वव्यापी रुपमा धार्मिक, सांस्कृतिक र हस्तकलायुक्त शहरको रुपमा पहिचान बनाउनुपर्छ ।’

भरतलाई बाटो बनाउने,  ढल बनाउने भन्ने कुरा अति आवश्यक कुरा भन्ने लाग्छ । त्यो गर्नैपर्ने कुरा हुन् । ‘बाटो बनाउने, खानेपानी दिने कुरा नगरको अभिभावकले लिनैपर्छ’, उनले भने । तर, नगरको विशिष्ठ पहिचानलाई विश्वसामु चिनाउन सक्नु नै ठूलो कुरा भएको उनी बताउँछन् । 
ललितपुरको शहरी गरीबी साढे ७ प्रतिशत छ । उनीहरुको स्वास्थ्य शिक्षामा सुविधा पुर्‍याउने योजना ल्याउने पनि उनको योजना छ  । भरतलाई ललितपुर भनेको काठमाडौँको कारण छाँयामा परेको जस्तो लाग्छ । काठमाडौँका कारण छाँयामा पर्न नदिइ यसलाई आफ्नै पहिचान बनाएर अगाडि बढ्ने आफ्नो योजना भएको न्याछ्औले बताए ।

मेयरका अर्का दाबेदार हुन् हालका मेयर चिरिबाबु महर्जन । उनी आफ्नो कार्यकाल एकदमै राम्रो काम भएको दाबी गर्छन् । उनले ५ वर्षको कामको पत्रकार सम्मेलन गरी ९० प्रतिशत काम पुरा गरेको जानकारी दिए । योजनामा राखिएका र घोषणा गरिएका महत्वाकांक्षी योजनाहरु पूरा गर्न बाँकी रहेकाले यसपटक मेयरमा दोहोर्‍याउने मनस्थितिमा उनी छन् । 

ललितपुरका निवर्तमान सभापति तथा केन्दीय सदस्य मदन अमात्यले चिरिबाबुलाई मेयरमा पुनः दोहोर्‍याउन जोड दिएका छन् । 
चिरिबाबुले पाँच वर्षको कार्यकालमा धेरै राम्रा काम गरे । उनले ललितपुरलाई हरियाली बनाए । कुपण्डोलदेखि जावलाखेलसम्मका सडक हरियाली बनाए । बल्खुदेखि बालकुमारीसम्मका सडकका दायाँबायाँ वृक्षरोपण र हरियाली पार्क बनाए । यस्तै, सडक व्यवस्थित गरे । जाउलाखेल, मंगलबजार र लगनखेलका अव्यवस्थित बजार हटाए ।

लगनखेलमा २५ वर्ष भन्दा लामो समयदेखि टेण्डरविना लगाइएको सटरहरु व्यवस्थित तरिकाले भाडामा लगाए । नगर प्रहरी बनाएर सन्तोषजनक रुपमा काम गराए । पाटनको भीमसेन मन्दिर, पुल्चोकका समय फाल्चालगायत विभिन्न पाटी तथा सम्पदाहरु निर्माण गरे । बुगतीको मछिन्द्र मन्दिर निर्माणको काम पनि सम्पन्न गरेका छन् । साइकल लेन बनाए । त्यस्तै शताब्दी पुरुष सत्यमोहन जोशीको सय वर्ष पुरा भएको अवसरमा विभिन्न पार्कहरु निर्माण गरे। वर्षभरि नै शताब्दी पुरुषको सम्झनामा विभिन्न कार्यक्रम गर्ने घोषणा गरे ।

यस्तै पाँच वर्षमा चिरिबाबुलाई आफैँले बोलेको बोलीमा अडिग नरहेको पनि आरोप छ । दुई वर्षसम्म सरकारी गाडी नचढ्ने र नकिन्ने भनेर सर्वसाधारणको मन जितेका उनले दुई वर्षपछि सरकारी बजेटको महँगै गाडी प्रयोग गरे । फ्लाइ ओभरको महत्वाकांक्षी योजना लिएर २०७४ को चुनाव जितेका उनले त्यो पूरा गर्न सकेनन् ।

साइकल लेन त बनाए तर साइकलमैत्री वातावरण निर्माण गर्ने कुनै योजना ल्याउन सकेनन् । विपक्षीहरुले हरेक नगर परिषद् अवरुद्ध गरेको इतिहास छ । प्रशासकीय भवन अपुग छ । विभिन्न शाखाहरु विभिन्न ठाउँमा छरिएर रहेका छन् त्यसलाई एकत्रित गर्न भवन बनाउन उनले अग्रसरता देखाएनन् ।कार्यकालको पाँच वर्षको अन्तिम अवस्थामा उनले महानगरको प्रशासनिक भवन शिलान्यास गरेका छन् । सँगै जोडिएको गोदावरी नगरपालिकाले प्रशासनिक भवन बनाइसकेको छ । 
 


Author

थप समाचार
x