किसुनजीले के गरे, ट्रम्पलाई के थाहा ?
काठमाडौं : दोस्रो पटक मुलुकमा प्रजातन्त्रको लहर छाएको थियो । मुलुकका अन्तरिम प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले २०४७ सालमा संविधान लागू गर्दै ०४८ मा संसदीय निर्वाचन गराए । निर्वाचनमा नेपाली कांग्रेसले बहुमत हासिल गर्यो । त्यही समयमा एक अन्तर्वार्ताकारले भट्टराईसँग ‘हल्का’ प्रश्न सोधेका थिए । निर्वाचन त धाँधली भएको सुनिन्छ नि ? उनको उत्तर थियो, ‘...बाबु पनि । मुलुकको प्रधानमन्त्री हारिरहेको छ । तपाईं निर्वाचन धाँधली भयो भन्नुहुन्छ ?’ अन्तर्वार्ताकार एकछिन अकमकिए । अनि प्रसंग अन्त लगेका थिए । त्यो स्मरण हिजो अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पत्रकार सम्मेलनले सम्झायो ।
हुन पनि ठूलो र बलियो लोकतन्त्र मानिएको अमेरिकी निर्वाचन अनि शक्तिशाली व्यक्तिको त्यो रोनाधोना शैली देखेर हाम्रा सन्त नेता सम्झेँ । अर्थात् त्यो बेलाको नेपालका प्रधानमन्त्रीको ठीक उल्टोझैँ लाग्यो । यहाँ अन्यले भन्थे, त्यहाँ मुलुकको कार्यकारीले निर्वाचन धाँधली भएको भनिरहेका छन् । उनी आफैँ अदालत जान्छु भनेर धम्की दिइरहेका छन् । राष्ट्रपति ट्रम्पले आफूलाई निर्वाचित हुन नदिन डेमोक्र्याटहरूले चुनावमा धाँधली गरेको आरोप लगाएर ठूलो लोकतन्त्रमाथि भद्दा मजाक गरेका छन् । बिहीबार साँझ ह्वाइट हाउसमा सञ्चार माध्यमहरूसामु उनले त्यस्तो आरोप लगाएका हुन् ।
उनले आफू नै अमेरिका वा अमेरिका नै आफ्नोझैँ कुरा गर्दै वैध मतले आफू विजयी हुने भन्दै लिडेढिपी गरिरहेका छन् । डोमोक्र्याटहरूले अवैध मतका आधारमा जित्न चाहेको आरोप उनको रोनाधोनाबाहेक अन्य केही होइन । अझ उनले सर्वोच्च अदालत जाने र विजय हुनेसमेत भन्न भ्याए । राजनीतिबाट उनी आएका थिएनन् । बिचौलिया व्यापारी पृष्ठभूमिबाट आएर एकैपटक राष्ट्रपति बनेकाले उनको त्यो बिचौलिया छवि छोपिएको थियो । उनी पुनः त्यही स्तरमा झरेको देखिन थालेको छ । पैसा र ठूलो सञ्चारमाध्यमको आडमा आफूबाट डेमोक्य्राटले नतिजा छिनेको मात्र भनेनन्, उनले मतगणनामा धाँधली भएको समेत भन्न भ्याए ।
उनले हुलाक र इमेलमार्फत गरिएका मतदान अवैध रहेको आरोप लगाउँदै आफू ती मतलाई नमान्ने भनिरहेका छन् । तर उनले जितेका ठाउँमा भने त्यसमा उनले प्रश्न गरेका छैनन् । हुन पनि उनको व्यवहारले गर्दा पुनः उनी त्यो पदमा नपुगून् भनेर नै होला, यसपटक अमेरिकीहरू बढी नै आएका थिए, मत दिन । एक सय २० वर्ष यता यति धेरै मत खसेको पहिलो पटक हो । ट्रम्पको भद्दा व्यवहार र छुच्चो बेलगाम बोली नै यसको कारण हो । उनको निर्वाचनसम्बन्धी अभिव्यक्तिले विश्वलाई चकित पारेको छ । अमेरिकी जनता लज्जित छन् । राष्ट्रपतिबाट नै यस प्रकारको धारणाको अपेक्षा अमेरिकीले पक्कै गरेका थिएनन् । ‘जो मुखिया उही बाटो ......’ भन्ने हाम्रो उक्ति जस्तै अवस्थामा अमेरिकीहरू छन् ।
आफूले नजित्दा चुनावी परिणाम अस्वीकार गर्ने उनको धारणाले बुझाउँछ । यसले अमेरिकाको नैतिक धरातल नै कमजोर भएको छ । अमेरिकी कूटनीतिज्ञहरू विदेशी भूमिमा ट्रम्पको कारण नै शिर झुकाउन परिरहेको अवस्था छ । यो धारणाले उनीहरू झनै लज्जित मात्र होइन, लोकतन्त्रबारे कसरी पाठ पढाउने भन्ने गहिरो सोचमा परेका छन् । यसै त अमेरिकी कूटनीतिज्ञहरू २०१६ सम्मका जस्तो हैसियतमा रहेका छैनन् । उनीहरू बोल्दा धक मान्न थालेको अवस्था छ । अहिलेको गतिविधिले झन् नैतिक धरातल गुमाएको अनुभव हुन्छ ।
आफूले जित्दा सही र आफू पराजित हुँदा धाँधली यो नै ट्रम्पको यथार्थझैँ देखिएको छ । ट्रम्पको उक्त शैलीले रिपब्लिकनका अगुवा नेताहरू नै हैरान छन् । हुनत उनले लामो समयदेखि यदि निर्वाचनमा कडा प्रतिस्पर्धा भए डेमोक्य्राटिक उम्मेदवारले आफूलाई हराउन धाँधली गरेको नै ठहरिने आरोप लगाउँदै आएका थिए । हुनत लाखौँ वैधानिक भोट गणना हुनै थियो । उनले भनिदिए, ‘मैले चुनाव जितिसकेँ ।’ हामीले यो चुनाव जित्ने सबै तयारी पूरा गरेको बताउँदै उनले भने, ‘वास्तवमा मैले यो निर्वाचन जितिसकेँ । यहाँ मतगणनामा धाँधली गरेर रोक्ने अनेक उपाय गरेका छन् ।’
ट्रम्पले ठोस प्रमाणविनै यस्तो आरोप लगाएपछि दंगासमेत हुन सक्ने आशंका बढेको छ । कतिपय स्थानमा दंगा हुन थालिसकेको छ । दुई पक्ष झडप मात्र होइन, ट्रम्पविरुद्ध नारा लाग्न थालेको छ । आफैँ राष्ट्रपति आफैँ धाँधली भएको बताउने उनी संसारमा अनौठौ नेतामा दर्ज भइसकेका छन् । ‘चुनावमा ठूलो धाँधली भयो । हामी उपयुक्त ढंगले कानुनको प्रयोग गरियोस् भन्ने चाहन्छौँ । त्यही भएर हामी सर्वोच्च अदालतमा जान्छौँ,’ ट्रम्पले यसो भन्दै सबै प्रक्रिया रोक्न जोड गरे । उनका यस्ता अभिव्यक्तिले अमेरिकीहरूको शिर झुकेको छ । उनीहरू भन्दैछन्, ‘यो अति रिसउठ्दो, अभूतपूर्व र असत्य छ ।’ यो धारणा बाइडनको निर्वाचन अभियानका व्यवस्थापक जेन ओमाली डिलनको हो । ती शान्त महिलाले ट्रम्पको धारणा आक्रोश उत्पन्न गराउने खालको भएको भन्दै अमेरिकी नागरिकको लोकतन्त्रको अधिकार खोस्ने प्रयास भनेकी छन् । हुन पनि अमेरिकी नागरिकहरूलाई ट्रम्पको दम्भ र भाषा भद्दा लागेकै थियो ।
राष्ट्रपति ट्रम्पले आफूलाई निर्वाचित हुन नदिन डेमोक्य्राटहरूले चुनावमा धाँधली गरेको आरोप लगाएर ठूलो लोकतन्त्रमाथि भद्दा मजाक गरेका छन् ।
तानाशाहले समेत नबोल्ने भाषा अवैध रूपमा ट्रम्पले बोलिरहेको भन्दै यो लोकतन्त्रमाथिको हमला हो, यसलाई घातक भन्दै जनता नै सडकमा आउन थालेका छन्, ‘झुटो नबोल मतगणनामा अवरोध नगर जनताको परिणामलाई सम्मान गर ।’ ट्रम्पको टिप्पणीले अमेरिकीहरू निकै चिन्तित बनेका छन् र राष्ट्रपतिको प्रतिक्रियालाई गैरजिम्मेवारीको पराकाष्ठा भनिरहेका छन् । ट्रम्पले बोलेपछि धारणा राखेका उपराष्ट्रपति माइक पेन्सले अवस्था सामान्य पार्ने प्रयास गरेको देखिए पनि उनले विजय भएको स्थानमा घोषणा गरिसकेका छैनन् । यद्यपि उनले सबै वैधानिक रूपमा हालिएका मतको गणना हुने बताएका छन् । यसबाट अमेरिकीलाई झस्काएको मात्र छैन, निर्वाचनलाई नै धमिलो बनाइदिएको छ । अमेरिकी लोकतन्त्रको आधारभूत संयन्त्रमाथि नै प्रश्न उठाएर ट्रम्प सायद यही निर्वाचनपछि ह्वाइटहाउसबाट बिदा हुँदैछन । अमेरिकीले आउँदा दिनमा यो खस्कँदो उनीहरूको धारलाई माथि उठाउन धेरै नै मेहनत गर्नपर्ने देखिन्छ ।
सबैभन्दा माथिल्लो तहको सुरक्षा घेरामा रहेका ट्रम्पलाई उनै सुरक्षाकर्मीेले बल प्रयोग गर्नपर्ने आवस्था आउन सक्ने देखिएको छ । निर्वाचनको परिणाम अब एरिजोना, विस्कन्सिन, पेन्सिल्भेनिया र जर्जियाबाट निर्धारित हुनेछ । हुनत अन्तिम मतदानको दिन पनि त्यस्ता झडप भएका थिए । अहिले पनि ट्रम्पविरुद्ध आवाज निस्कँदै झडप हुन थालेका छन् । बाइडनले आफू विजयोन्मुख भएको र ट्रम्पले आधारहीन रूपमा मतदानमा धाँधली गरेको बताइरहनुले दुःखी बनेको बताएका छन् । अवस्थालाई स्वीकार गर्न नसक्ने व्यक्तिको अधैर्यले अमेरिका कहाँ पुगेको भन्दै यो अवस्था निम्त्याउन ट्रम्पको भूमिका रहेको भन्दै रिपब्लिकनका बौद्धिकहरू नै असन्तुष्ट छन् ।
विश्वमा नै अतिवाद/लोकरिझ्याइँवाद र उदारवादबीच संघर्ष उत्कर्षमा छ । अमेरिकाको निर्वाचन र खसेको मत त्यसकै एक परिणामको अध्याय हो । अतिवाद र उदारवादको फरक अहिले देखिएको निर्वाचनलाई स्वीकार गर्ने विधिलाई नियाल्नुपर्छ । शक्ति मुलुक अमेरिकाको नेतृत्व आगामी चार वर्ष कसले लिने भन्ने विषय जनताले टुंगो लगाइसकेका छन् । उनीहरूले आफ्नो मत दिइसकेको मतको पूर्ण परिणाम अझै आएको छैन । नतिजा आउने क्रममा छ । नतिजा अन्तिम चरणमा पुग्दै गर्दा डेमोक्र्याटिक उम्मेदवार ७८ वर्षीय जो बाइडन जितको नजिक पुगिसकेका छन् । २ सय ६४ स्थानमा बाइडनले बाजी मारिसकेका छन् । वर्तमान राष्ट्रपति तथा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प २ सय १४ स्थानमा चित्त बुझाउँदै अन्य स्थानमा आफूले बाजी मार्ने र विजयी हुने दाबी गर्दैछन् ।
२ सय ७० स्थानमा इलेक्टोरल मत जसकोमा हुन्छ उसैले आगामी चार वर्षका लागि ह्वाइटहाउस यात्रा तय गर्छन् । तर, ट्रम्पले शक्ति नछोड्न आफू नै विजयी भएको तर धाँधली भएको भन्न समेत पछि परेका छैनन् । उनी आफैँ राष्ट्रपति रहेर निर्वाचन गराउने र आफँै धाँधली भयो भन्ने व्यक्ति हुन् । यसले नै अतिवादीहरूको चरित्र स्पष्ट पार्छ । लोकतन्त्रमा कहिलेकाहीँ उतारचढाव आउँछ, धैर्यको खाँचो पर्छ भन्दै बाइडनले जनतालाई सान्त्वना दिइरहेका छन् ।
बाइडन निकै ब्याटलग्राउन्ड मानिएका नेभाडा र एरिजोनामा अगाडि छन् । नेभडामा ६ र एरिजोनामा ११ इलेक्टोरल मत प्राप्त हुनेछ । यसमध्ये एउटामा विजयी हुनेबित्तिकै बाइडनको ह्वाइटहाउस यात्र तय हुनेछ । उनको ह्वाइटहाउस यात्राले पपुलिस्ट र अतिवादी बन्न खोज्ने नेतृत्व पाखा लाग्ने समय रहेको संकेत पनि गर्नेछ । बाइडन ५८ औँ निर्वाचनबाट ४६ औँ राष्ट्रपति बन्नेछन् । यसपटक हुलाक र इमेल भोटका कारण केही मत गणना ढिलाइ भएको र परिणाम आउन ढिलाइ भएको हो । अमेरिकी राष्ट्रपति चुनावको नतिजा आउन ढिलाइसँगै अमेरिका पहिलो भन्ने नारा लिएर हिँडेका वर्तमान राष्ट्रपति ट्रम्प नै दोहोरिने कि डेमोक्र्याटिकका बाइडन हुने भन्ने खुल्दुली थियो ।
राष्ट्रपति को भन्ने अबको केही घण्टामा टुंगो लाग्ला तर धेरैको आशा र परिणामले उदारवादीहरू नै हाबी हुने देखिएको छ । आत्मसम्मान र उदारवादको मुख्य भूमिकामा अमेरिका छ । ५० राज्यमध्ये अब केही राज्यको मात्र परिणाम आउन बाँकी छ । बाइडनको काँधमा नेतृत्व पुग्दा उदाउँदो शक्ति चीनसँगको सहकार्य बढ्ने धारणा छ । तर, चीनसँग ट्रम्पले किन सहकार्य गरेनन् भन्ने विषय बुझ्न जरुरी छ । रसिया फ्याक्टरको एकोहोरो ढंगले हेरिएको र उनको बोलीको कारण पनि यस्तो अवस्था आएको धारणा छ ।
कोरोना महामारीको बीचमा सम्पन्न अमेरिकी निर्वाचन र आउने नेतृत्वले लिने निर्णयले नै अबको विश्व 'वासिंटन कन्सेन्सस' अन्तर्गत चल्छ कि अर्को शक्तिमा विभाजन हुने भन्ने तय हुनेछ । यसैले बाइडनले भनेझैँ लोकतन्त्रवादीहरूले धैर्यको बाँध बिर्सनुहुन्न । अतिवादी र लोकरिझ्याइँवादीहरू आफैँ निर्वाचन गराएर आफैँ हारेपछि धाँधली भएको भन्न समेत लाज मान्दैनन् भन्ने पछिल्लो उदाहरणले उनै प्रिय र सन्त नेताको उत्तर सम्झनुबाहेक के गर्न सकिन्छ र ?
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया