राजनीति

गठबन्धनमा टिकट वितरण : जो सुकै फुटुन् तर आफन्त नछुटुन्

कमल धिताल |
बैशाख १३, २०७९ मंगलबार १६:४१ बजे

काठमाडौँ– स्थानीय तहका उम्मेदवारलाई स्वस्तिक चिन्ह लगाउन अब १७ दिन मात्र बाँकी छ । प्रमुख पार्टीहरूले आफ्ना उम्मेदवार छनोट गरिसकेका छन् । पार्टीमा टिकट पाउन दलका नेता तथा कार्यकर्ता मरिहत्ते गर्ने गरेका छन् । आफ्नै पार्टीमा टिकट नपाएपछि अर्को पार्टी प्रवेश गर्नेहरूको लहर पनि राम्रैसँग चल्यो । 
त्यस्तै टिकट नपाउँदा रूनेदेखि टिकट पाएपछि उम्मेदवारका विगत क्रियाकलाप र हत्कन्डाहरू सार्वजनिक भएसँगै  टिकट खोसिएका घटनाहरू समेत बाहिर आए ।  
सँगै पार्टीमा प्रभावशालीका नेताहरूले आफन्तवाद, नातावाद तथा कृपावादमा रमेका दृश्य पनि राम्रैसँग मञ्चन भएका छन् । अर्थात्, ‘आफ्नै हात जगन्नाथ’कै शैलीमा नेतृत्व गण देखिए । वर्षौसम्म पार्टीमा सङ्घर्ष गरेका सदस्यले टिकट नपाउँदा प्रमुख नेताका आफन्तहरूले भने सजिलै टिकट पाए । श्रीमानको प्रभावले श्रीमतीले टिकट पाउनेदेखि बाबुको प्रभावले छोरा–छोरी–बुहारीले टिकट पाएको नेपाली राजनीतिको नौलो घटना होइन । यस स्थानीय तहको चुनावमा पनि सो घटना दोहोरिएको छ ।
त्यस्तै चुनावको मुखमा स्वार्थका लागि पार्टी फेर्ने तथा पार्टी प्रवेश गर्नेहरूमा कलाकार पनि अग्र पंक्तिमै देखिए । दलीय नेताहरुले पनि वर्षौै पार्टीका लागि सङ्घर्ष गरेका भन्दा फलोअर्स तथा धनीमानीलाई निम्ति चुनावी टिकट बेचिदिए ।  

पार्टीहरूले गठबन्धन गरेर आफ्नै पार्टीका कार्यकर्ताहरूलाई अन्य पार्टीमा भोट हाल्न लगाइरहेका छन्। एक्लै चुनावमा जान डराउने पार्टीहरू मिलेर गठबन्धन गरी आफ्नै कार्यकर्ताहरूलाई अर्को पार्टीमा भोटमा हाल्न लगाएका छन्। कार्यकर्ताहरू पनि नेतृत्वले जे आदेश ग¥यो त्यसलाई ‘हस, हजुर’ गर्नाले दलीय ‘सिण्डिकेट’ भएको छ। स्थानीय तहको चुनाव २०७९ मा पनि नातावाद–कृपावाद हाबी हुँदा राजधानीबाट आफन्तलाई चुनाव उठाउने घटना दोहोरिएको छ। यसमा कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी, नेकपा एमाले लगायतका पार्टीले नेताका आफन्त समेत उठाएका छन्। 


सिर्जना सिंह– काठमाडौँ मेयर उम्मेद्वार प्रकाशमान सिंह पत्नी

आफ्नालाई काखा च्याप्ने क्रममा देशको राजधानी काठमाडौँको मेयरमा नेपाली कांग्रेसले पार्टीका प्रभावशाली नेता प्रकाशमान सिंहकी पत्नी सिर्जना सिंहलाई टिकट दियो । कांग्रेसले गठबन्धनमा निकै ठूलो रस्साकस्सीपश्चात सिंहलाई उठाएको हो। प्रकाशमानले देउवालई १४ औं महाधिवेसनमा सभापति बन्न सघाए बापत उनकी पत्नी सिंहलाई टिकट उपाहार दिएको आरोप छ। सिंहलाई काठमाडौँ मेयरमा उठाएपछि कतिपय कांग्रेस नेता तथा कार्यकर्ता भने पार्टी नेतृत्वबाट रुष्ट भएका छन् ।

रेणु दाहाल– भरतपुर मेयर उम्मेद्वार पुष्पकमल दाहालकी छोरी 

माओवादीबाट २०७४ सालमा भएको स्थानीय चुनावदेखि नै चर्चामा रहेको भरतपुरको मेयरमा पुन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकी छोरी रेणु दाहाललाई टिकट दिएको छ। दाहाल प्रचण्डपत्री भएकै कारण पनि टिकटमा पहिलो प्राथामिकतामा परेकी उम्मेद्वार हुन्। प्रचण्ड पुत्री भएकै कारण पटक पटक टिकट पाउँदा माओवादीकै कतिपय नेता तथा कार्यकर्ता नेतृत्वप्रति वितृष्णा जागेको बताउँछन्।

अमरेन्द्र यादव – उप–मेयर उम्मेद्वार उपेन्द्र यादवका छोरा 

आफ्नालाई काख राख्ने क्रममा जनता समाजवादी पार्टी अध्यक्ष उपेन्द्र यादवका छोरा अमरेन्द्र यादवलाई सत्ता गठबन्धनको तर्फबाट विराटनगर महानगरपालिका उप–मेयर पदको टिकट दिएको छ। बाबुको छाँयामा राजनीति सुरु गरेका अमरेन्द्रले टिकट पाउनमा पनि बाबुकै प्रभाव रहेको पार्टीका असन्तुष्टहरूको आरोप छ।

 रामकृष्ण खाँण– मेयर उम्मेद्वार बालकृष्ण खाँणका भाइ 

रूपन्देहीको तिलोत्तमा नगरपालिकामा कांग्रेसबाट गृहमन्त्री बनेका बालकृष्ण खाँणका भाइ रामकृष्ण खाँणले टिकट पाएका छन् । रूपन्देही कांग्रेसका सभापति समेत रहेका खाँण दाजु बालकृष्णको कृपापात्र बन्दा मेयरको टिकट पाउन सफल भएको जिकिर कांग्रेसीजनहरु नै गर्छन् ।

कृष्णप्रसाद सापकोटा मेयर उम्मेद्वार अग्निप्रसाद सापकोटाका भाइ

सभामुख अग्निप्रसाद सापकोटको कृपाप्राप्त हुँदा माओवादी केन्द्रबाट सिन्धुपाल्चोकको साँगाचोकगढी नगरपालिकाको मेयरको टिकट पाउन सफल भए । माओवादी केन्द्रबाट सभामुख रहेका अग्निप्रसादको उक्त पार्टीमा दरिलो प्रभाव छ । उनकै प्रभावले पनि कृष्णप्रसादले मेयरको टिकट पाएको माओवादी कार्यकर्ताहरू बताउँछन् । माओवादी रुष्ट कार्यकर्ता र सापकोटा पक्षधरबीच हिजो उम्मेदवारी दर्ता गर्दाकै बखत झडप हुन पुग्यो । 

बालकृष्ण बस्नेत मेयर उम्मेद्वार मोहन बस्नेतका भाइ 

कांग्रेस केन्द्रीय सदस्य मोहन बस्नेतको कृपा प्राप्त हुँदा उनका काकाका छोरा बालकृष्ण बस्नेतले बाह्रबिसे नगरपालिकाको टिकट प्राप्त गरे । २०७४ को स्थानीय तहको निर्वाचनमा पनि मेयरको उम्मेदवार बनेका बस्नेत एमालेका उम्मेद्वारसँग पराजित भएका थिए ।

जलेखा खातुन उपाध्यक्ष उम्मेद्वार( लालबाबु राउतकी श्रीमती

मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले आफ्नी पत्नी जलेखा खातुनलाई पर्साको जगरनथपुर गाउँपालिकाको उपाध्यक्षको उम्मेदवार बनाएका छन् । जनता समाजवादी पार्टी (जसपा)बाट मुख्यमन्त्री बनेका राउतको प्रभावले पत्नी जलेखालाई टिकट दिलाएका हुन् ।

लक्ष्मीदेवी शाह– गाँउपालिका अध्यक्ष उम्मेद्वार विनोदकुमार शाहकी पत्नी

नेकपा एमालेका कर्णाली प्रदेश अध्यक्ष विनोदकुमार शाहको कृपाप्राप्त हुँदा दैलेखको ठाटीकाँधको अध्यक्षमा उम्मेदवारको श्रीमती लक्ष्मीदेवी शाहले टिकट पाएकी छिन् । एमाले कर्णाली प्रदेश टिकट समन्वय समिति बैठकबाट शाहले आफ्नो श्रीमती शाहलाई अध्यक्षमा उम्मेदवार बनाएका हुन् ।


 


Author

कमल धिताल

धिताल अर्थ/वाणिज्य क्षेत्रमा रिपोर्टिङ गर्छन् ।


थप समाचार
x