राजनीति

स्वतन्त्रको सौम्य स्वर

सुरेन्द्र बजगाईं |
बैशाख २२, २०७९ बिहीबार १९:२४ बजे

काठमाडौँ – वैशाख ३० गते हुँदै गरेको चुनावमा ७५३ स्थानीय तहमा चुनावमा एक लाख ४५ हजार ९२ जनाले प्रतिस्पर्धा गर्दैछन् । जसमध्ये १२ हजार ७ सय ८९ जनाले त स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् ।

यसअघिको स्थानीय तह निर्वाचनमा १ करोड ४० लाख मतदाता थिए । आयोगले पछिल्लोपटक गत वर्षको पुसमा अद्यावधिक गरेको मतदाता नामावलीमा १ करोड ६२ लाख मतदाता पुगेका छन् ।


आसन्न स्थानीय चुनावका लागि काठमाडौँ, भरतपुर, पोखरा, धनगढीमा स्वतन्त्र उम्मेदवारीका कारण सर्वाधिक चर्चामा छन् । काठमाडौँ महानगरपालिकामा ​ र्‍यापर तथा इन्जिनियर बालेन शाह, पोखरामा लेखक गनेस पौडेलका कारण चर्चा चुलिएको छ भने भरतपुर महानगर चाहिँ नेपाली कांग्रेसका जगन्नाथ पौडेलको उम्मेदवारीका कारण चर्चा र चासोको केन्द्रमा छ । पौडेलले चितवनको भरतपुर महानगरपालिकामा स्वतन्त्र उम्मेदवारी दिए पछि उनको चर्चा चुलिएको हो । 

स्थानीय चुनावको मिति घोषणा हुनुपहिले नै काठमाडौँ महानगरपालिकाको मेयरको उम्मेदवारी दिने र्‍यापर तथा इन्जिनियर बालेनले घोषणा गरे । त्यसको केही समयपछि पोखरमा गनेस पौडेलले त ‘अब त अटेर गरौँ’ भन्दै ‘अटेरी अभियान’ नै चलाए । उक्त अभियान पोखरामा मात्रै सिमित नभएर देशका गाउँ–गाउँसम्म फैलियो । अर्कोतर्फ पार्टीहरूले गठबन्धन गरेर आफ्नो उम्मेदवार उठाउने निर्णय गर्‍यो । केन्द्रीय नेताहरूले गठबन्धनको सहमति गरेतापनि स्थानीय स्तरका नेताहरूले भने स्वतन्त्र उम्मेदवारी दिएका छन् । 

पहिले राजनीतिक दल छोडेर उम्मेदवारी दिएकाभन्दा बाहेकका उम्मेदवारहरूले पनि जनताको मन जित्न भने सफल देखिएका छन् । 

राजन कोइराला

राजन कोइरालाले नागार्जुन नगरपालिकामा स्वतन्त्र उम्मेदवारी दिएका छन् । अमेरिकाको टेक्सास राज्यको दुई उत्कृष्ट विश्वविद्यालयबाट पत्रकारितामा स्नातक र स्नातकोत्तर डिग्री हासिल गरेर स्थायी रूपमा नेपाल फर्के । उनले अमेरिका जानुअघि पिपल्स क्याम्पसबाट राजनीतिशास्त्र, अङ्ग्रेजी र पत्रकारितामा प्रवीणता प्रमाणपत्रको स्वर्ण पदक प्राप्त गरेका थिए । उनी पढेलेखेका मानिस राजनीतिमा आउनु पर्छ भनेर आफू मेयरको पदमा स्वतन्त्र उम्मेदवारी दिएको बताउँछन् । 

‘केवलपुर, धदिङ्गमा सामान्य कृषक परिवारमा जन्मेका कोइरालाको बाल्यकालको अर्ध–हिस्सा त्यहीँ बित्यो र पढाईको सिलसिलामा काठमाडाैं आइपुगें’ उनी भन्छन् । साविकको सीतापाइला गाविसमा आफ्नो बाल्यकाल बिताएका उनले साइरियस मावि पढे । त्यसपछि पिपल्स क्याम्पसमा अध्ययन गरेको उनी पढाइकै लागि अमेरिका पुगेका हुन् । त्यहाँबाट स्नातकोत्तर डिग्री हासिल गरेर स्थायी रूपमा नेपाल फर्किए । ‘नेपालमा नै केही गर्नु पर्छ र स्वतन्त्र भएर नै केही गर्न सकिन्छ भनेर उम्मेदवारी दिएको हुँ ।’ उनले भने ।

आफ्ना माटो, आफ्ना नाता–कुटुम्ब, परिवेश र साथी–भाइ कोइरालाका मनमा अट्ने महत्वपूर्ण तत्व भएको बताउँछन् । अमेरिकामा ९ वर्षको प्रवासी जीवन बिताएर २०६९ मा नेपाल फर्केका कोइरालालाई धेरै कुरा गुमाई सकेको भान भयो ।  प्रदूषित माटो, भविष्यको खोजीमा विदेश पलायन भएका युवाहरू, पाश्चात्य संस्कृतिको हावी भएको समाज, बिल्कुल नयाँ थियो उनका लागि । राष्ट्र बदल्न आफू स्पष्ट हुनुपर्ने धारणा बोकेर युवाका समस्या नजिकबाट नियाल्न कोइराला अध्ययन गर्न थाले । 
रोजगारीको क्षेत्रमा स्थापित मेरो जब डट कम र इडियुसञ्जाल जस्ता संस्थासँग प्रत्यक्ष ८ वर्ष काम गर्ने क्रममा शिक्षा प्रणाली र रोजगारदाताबीचको अन्तर पत्ता लगाए उनले । अहिलेसम्म ५० हजार बढी युवाहरूलाई तालिम दिइसकेका कोइराला विभिन्न युवाहरूले सञ्चालन गरेका एक दर्जन संस्थामा सल्लाहकार, मेण्टर, अतिथि प्रशिक्षकका साथ–साथै अन्य स्वयंसेवी भूमिकामा छन् । सयौँ प्रतिस्पर्धात्मक कार्यक्रममा कतै निर्णायक त कतै सहजकर्ता भएका उनले नेपालमा अनवरत युवाको क्षेत्रमा काम गर्दै आएका छन् । 

गोपी हमाल 

गोपी हमाल सुदूरपश्चिमका स्थापित व्यवसायीमध्ये एक हुन् । उनको धनगढीका व्यापारी हमालको ‘दिनेश ग्रुप’ छातामा सबै प्रकारको व्यापार छ । हमालको दिनेश एग्रो, दिनेश होटेल, दिनेश एफएम र दिनेश मोटर्सजस्ता व्यापार छन् । उनका दाजु र भाइहरूको पनि व्यापार व्यवसायमा संलग्न छन् । 

उनले ०६३ सालदेखि धनगढीमा सुदूरपश्चिम महोत्सवका माध्यमबाट ‘सुन्दर सुदूरपश्चिम’लाई स्थापित गरेका थिए । उनले अहिले धनगढी उप–महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका छन् । जसका लागि उनले विवेकशील साझा पार्टीको सुदूरपश्चिम संयोजक भूमिका नै छोडेर चुनावी मैदानमा होमिएका हुन् । 
यसअघि २०७४ को स्थानीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएर नेपाली कांग्रेसका उम्मेदवारसँग पराजित भएका हमालले ११ हजार ५२७ मत ल्याएका थिए ।
हमालले त्यति वेला नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) लगायत दलका उम्मेदवारलाई पछि पारेका थिए ।

उनी समाज सेवामा पनि त्यतिकै सक्रिय छन् । उनले कोभिडको समयमा ‘महाप्रस्थान यान’को सुरुवात गर्दै निःशुल्क रूपमा शवबाहन प्रदान गरे । कपडा बैंकको स्थापना गर्दै गरिबहरुलाई सहयोग गरे । कोभिडका लागि अक्सिजन कन्सन्ट्रेटरहरु निर्माण मा सक्रिय भूमिका निर्वाह गरे । व्यवसाय र समाजसेवासँगै गर्दै आएका हमालले विगतमा स्थानीय उद्योग वाणिज्य क्षेत्रलाई पनि नेतृत्व गरेको अनुभव छ । यो निर्वाचनमा उनी अन्तिम पल्ट मैदानमा आएको बताउँछन् । यसअघि झिनो मतान्तरले पराजय व्यहोरेका हमाललाई त्यहाँको कडा प्रतिस्पर्धीको रूपमा हेरिन्छ । 

सुशील थापा

काठमाडौँ महानगरका लागि उम्मेदवारी दिने अर्का स्वतन्त्र उम्मेदवार हुन्, सुशील थापा । 
थापाले सन् १९९६ मा डाइग्नोटेक सपोर्टको स्थापना गरेका थिए । त्यस बेलादेखि यसले नेपालमा स्वास्थ्य सेवाको स्तरोन्नतिका लागि सरकारी, निजी, अन्तर्राष्ट्रिय एजेन्सीहरू, सामुदायिक र परोपकारी संस्थाहरूसँग काम गरिरहेका छन् । थापा आफ्नो व्यवसायबाहेक विभिन्न शैक्षिक क्षेत्र र सामाजिक पहलमा संलग्न छन् ।

उनले आईएसओ लिड अडिटर र सिक्स सिग्मा ब्ल्याक बेल्टको प्रमाणित पाठ्यक्रमको साथ स्वास्थ्य सेवाको क्षेत्रमा मान्यता प्राप्त चिकित्सा प्रविधि विश्लेषक र क्युएमएस  विशेषज्ञहरू मध्ये एक हुन् । 

‘एसियाली उत्पादकत्व सङ्गठन जापानको सहयोगमा एनपीईडीसी नेपालसँग व्यावसायिक तालिम तथा अनुभव पाएको छु । केमिकल एन्ड मेडिकल सप्लायर्स एसोसिएसन (चेम्सान)का संस्थापक अध्यक्ष भएर पनि काम गर्ने अवसर पाएको छु । र अहिले पनि त्यो संस्थामा सल्लाहकारको रूपमा सेवा गरिरहेको छु’ उनले भने। 

महानगरको मेयर भएमा फोहोर नउठ्ने समस्या झेलिरहेको काठमाडौँ उपत्यकाबाट उत्पादन हुने फोहोरलाई गाउँमा लगेर विसर्जन नगर्ने र फोहोरलाई व्यवस्थापन गर्ने बताउँछन् उनी । प्राचीन काठमाडौँलाई पुरानो अवस्थामा फर्काउने थापाको संस्कृति र सम्पदाको संरक्षण गर्ने, यातायात व्यवस्थाको परिवर्तन र बस्न योग्य वातावरण बनाउने उनको योजना छ ।

राजानन्द माण्डव्य 

यस्तै काभ्रेपलान्चोक बनेपा नगरपालिकाको मेयर पदको लागि राजानन्द माण्डव्यले स्वतन्त्र उम्मेदवारी दिएका छन् । उनी सामाजिक अभियन्ता हुन् । यसका साथै स्मार्ट पालिका, राष्ट्रिय पोसाक घरका सञ्चालक हुन् । यसका साथै उनी विश्व हिन्दु युवा संघमा पनि आबद्ध छन् । 

पछिल्लो समय राष्ट्रिय पोसाक, राष्ट्रिय झन्डा तथा राष्ट्रिय धरोहर सरक्षणमा सक्रिय भएर लागेका छन् । यसका साथै उनी स्मार्ट पालिकासँग आवद्ध भएर नेपालका धेरै पालिकाहरूलाई डिजिटलाईज गर्न तल्लीन भएर लागेका छन् ।

‘हामीले काम गर्दा पुरानो ढर्रा अपनाएर काम गर्नु हुँदैन । सेवाग्राहीले सहज र सुलभ तरिकाले काम गर्न सकुन् भनेर स्मार्ट पालिका मार्फत विगत लामो समयदेखि लागेको छु’ उनी भन्छन्, ‘हामीले इतिहासमा पाएको अमूल्य सम्पत्तिको रक्षा गर्दै प्रविधिमैत्री पालिकाहरू बनाउनु पर्छ ।’
उनले आफ्नो २० बुँदे योजना अगाडि सारेका छन् । उनको योजनामा एक वडा एक स्वास्थ्य चौकी, एक घर ः एक रोजगारी, एकगाँउ ः एक उद्यम, एक घर एक

धारादेखि प्रविधिमैत्री डिजिटल सुशासन प्रणाली र किसानका लागि शीत भण्डारसम्म अटाएको छ । 

कुमार श्रेष्ठ

सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाको मेयर पदका लागि कुमार श्रेष्ठले स्वतन्त्रबाट उम्मेदवारी दिएका छन् । यो नगरपालिका सिन्धुपाल्चोकको सदरमुकाममा पर्ने भएकाले उनको उम्मेदवारीलाई चासोका रुपमा हेरिएको छ । उनी चौतारा बजारकै युवा समाजसेवी हुन् ।

व्यवस्थापन संकाय अध्ययन गरेका श्रेष्ठ कृषि अभियन्ता हुन् । उनको अगुवाईमा गाउँमा कृषि हाट बजार, कृषि उपज उत्पादन, टनेल निर्माण गरिएको थियो । उनको टोलमा एक घर एक टनेल अभियान चलाएका श्रेष्ठ चौतारामा चर्चित युवा हुन् । सूचना प्रविधिमासमेत दख्खल राख्ने कुमारले सिन्धुपाल्चोकमा मोबाइलबाट एमएमएस गरेर घरको ट्यांकीमा पानी भर्ने प्रविधि भित्र्याएका थिए ।

उनलाई राजनीतिमा रणनीति गर्न सक्ने खुबी भएका व्यक्तिसमेत मानिन्छ ।

गनेस पौडेल

सानै उमेरदेखि साहित्यमा रुचि राख्ने गनेस पौडेलले पोखरा महानगरपालिकामा मेयरको उम्मेदवारी दिएका छन् ।  लेखक पौडेल स्थानीय तहलाई स्वतन्त्र बनाउने उद्देश्य रहेको ‘अटेरी अभियान’ नै आह्वान गरेका छन् । उनको अभियान अहिले देशभर फैलिएको छ । 

नौ कक्षादेखि नै पत्रपत्रिकामा लेख लेख्न सुरु गरेका पौडेल अहिले पनि विभिन्न पत्रपत्रिकामा लेख्नुका साथै पुस्तक लेखनमा पनि व्यस्त छन् । उनले पढ्ने वातावरणको विकास गर्न २०६५ मा ‘र्यान्डम रिडर्स सोसाइटी’ सुरुवात गरेका थिए।

विद्यार्थी कालदेखि नै लेखनमा सक्रिय पौडेलले २०७३ सालमा ‘पैताला’ उपन्यास लेखे । यसका साथै उनले २०७६ सालमा ‘मुसा मानुष’ पुस्तकको अनुलेखन गरेका छन् । 

उनले बनाएको घोषणापत्र नभएर अटेरी अभियानले बनाएको पोखरा विकासको लक्ष्य भएको बताएका छन् । 

‘ती विकासका योजना बनाउनुअघि हामीले आम पोखरावासी र विभिन्न क्षेत्रका स्वतन्त्र विज्ञसँग राय सुझाव पनि लिएका थियौँ’ उनी थप्छन्, ‘जनतालाई चाहिएको विकास नदिने तर भ्यु टावर, स्वागत द्वार, अपारदर्शी अनुदान, वितरणमुखी कार्यक्रम लागू गर्ने; सम्भवै नहुने काल्पनिक योजना सुनाएर कथित ‘सपना’को रङ दिने राजनीतिक चरित्र विपरीत जनचासोका मूलभूत मुद्दाहरूमा केन्द्रित भई यो योजना पत्र बनाएका छौँ ।’

उनले पोखरा विकासको अटेरी मोडल तयार पारेका छन् । अभियानले पोखरा लक्ष्य २०७९ को लोगोमा विकास निर्माणको लक्ष्य राखेका छन् । लोगोको अर्थ दिएका छन्, निधारमा पर्यटन, आँखामा शिक्षा र स्वास्थ्य, नाकमा सुशासन, अर्थात् ‘भाग्य निर्माणमा पर्यटन, अर्जुन दृष्टिमा शिक्षा र स्वास्थ्य, पहिचानमा सुशासन’ । 

माया गुरुङ

सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकामा अध्यक्ष पदमा उम्मेदवारी दिएकी छन् माया गुरुङले । विश्वका सात वटै महादेशका हिमाल चढेर विश्व कीर्तिमान राख्न सफल उनले सर्वोच्च शिखर सगरमाथाको पनि सफल आरोहण गरेकी छन् ।  

‘मेरो पहिलो प्राथमिकता, सबैलाई रोजगारी’ नारा लिएर मेयरको पदमा उम्मेदवारी दिएकी गुरुङ पर्यटन र समाजसेवामा सक्रिय छिन् । उनले मानव बेचबिखनमा परेर उद्धार भएका मानिसहरूले पर्यटन व्यवसाय सम्बन्धी तालिम दिनुका साथै केहीलाई त आफ्नै कम्पनीमा रोजगारीसमेत दिएकी छन् । 

गुरुङ आफू अध्यक्ष भएमा आफ्नो पालिकाका १०० प्रतिशत नै युवालाई रोजगारीको अवसर प्रदान गर्ने बताउँछिन् । ‘मेरो पालिकामा भएका विभिन्न प्राकृतिक सम्पदा पर्यटकमाझ चिनाउन सकियो भने यहाँका धेरै मानिसले रोजगारीको अवसर पाउँछन् । म यहाँको मेयर नै नहुँदा पनि यहाँको पर्यटनको लागि काम गरेको थिएँ’ उनी भन्छिन्, ‘म ५ वर्षमा ५ लाख पर्यटक आफ्नो गाउँपालिकामा भित्र्याउनका लागि काम गर्छु ।’

डा. प्रकाश भट्टराई 

पछिल्लोसमय पढेलेखेका मानिस राजनीतिमा आउँदैनन भन्ने सोच व्याप्त छ । तर यो भनाईकन भन्दा फरक छन् मोरङको सुन्दरहरैचा नगरपालिकाको मेयर पदका लागि स्वतन्त्र उम्मेदवारी दिएका डा. प्रकाश भट्टराई । उनी विश्वका राम्रो नाम चलेका विश्वविद्यालय पढेका युवा हुन् । 

उनले अन्तर्राष्ट्रिय द्वन्द्व व्यवस्थापन विषयमा अमेरिकाको नोट्रेडाम विश्वविद्यालयबाट स्नातकोत्तर, शान्ति तथा द्वन्द्व विषयमा न्यूजील्याण्डको ओटागो विश्वविद्यालयबाट विद्यावारिधि गरेका छन् ।

डा. भट्टराईले लामो समयदेखि नीति विश्लेषक र अनुसन्धानकर्ताका रूपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा क्रियाशील थिए । उनले सार्वजनिक नीति, सामाजिक विकास, सङ्घीयता, स्थानीय शासन प्रणाली, द्वन्द्व व्यवस्थापन, मानव अधिकार, सुशासन, लोकतन्त्र, वैदेशिक रोजगारी, लैङ्गिकताजस्ता विधाका साथै सामाजिक–राजनीतिक सवालमा प्राज्ञ, अनुसन्धानकर्ता, नीति विश्लेशक, तथा परियोजना व्यवस्थापकका रूपमा कार्य गरेको २० वर्षभन्दा लामो समय भइसकेको छ ।

उनी विकास योजना मात्र लागु गर्ने प्रणालीलाई बढावा दिने थलोका रूपमा विकास हुँदै गएको गैरहेको बताउँछन् । यी सबै विसंगतिहरूको अन्त्यको लागि सङ्घीयता, लोकतन्त्र, र नेपालको विकास आयामलाई र राम्रोसँग बुझेका व्यक्ति स्थानीय सरकारको नेतृत्वमा आउनु आजको अपरिहार्य आवश्यकता देखिएको छ ।’

जगन्नाथ पौडेल 

जगन्नाथ पौडेल कांग्रेसका पुराना नेता हुन् । उनले काठमाडौँस्थित ल क्याम्पसमा प्राध्यापन गरेका छन् । पूर्व सांसदसमेत रहेका पौडेल भरतपुर महानगरको रूपान्तरणका लागि आफू चुनावी मैदानमा आएको बताउँछन् ।   
 


Author

सुरेन्द्र बजगाईं

अर्थतन्त्र र सामाजिक विषयमा कलम चलाउने बजगाईं संवाददाता हुन् ।


थप समाचार
x