कोशी

प्रदेश १ सरकारको नीति तथा कार्यक्रमः

कृषिमा उच्च प्राथमिकता, प्रदेशको बजेटले नै नभ्याउने कार्यक्रम पनि समेटिए (पूर्ण पाठ)

बाबुराम भण्डारी |
जेठ २५, २०७९ बुधबार १७:५० बजे

विराटनगर - प्रदेश १ सरकारको आर्थिक बर्ष २०७९/८० को बार्षिक नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गरिएको छ । प्रदेश प्रमुख पर्शुराम खापुङले बुधबार सरकारको बार्षिक नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गरेका हुन् ।

प्रदेश १ मा पाँच दलीय गठबन्धनको सरकारले प्रदेशसभाको पहिलो कार्यकालको अन्तिम नीति तथा कार्यक्रम ल्याएको छ । चुनावी वर्षसमेत भएकोले प्रदेश सरकारले नीति तथा कार्यक्रमलाई कृषि क्षेत्रमा केन्द्रित गर्न खोजेको देखाएर सबैतिर बजेट छर्ने गरी नीति कार्यक्रम ल्याएको हो ।


सरकारले बेरोजगार हटाउने भन्दै प्रदेश नमूना स्वरोजगार कार्यक्रम नीति तथा कार्यक्रम  मार्फत अघि सारेको छ । त्यस्तै प्रदेश सरकारको सबै बजेट खर्चिंदा पनि बनाउन नसकिने विराटनगर विमानस्थलको स्तरोन्नति गर्ने कुरा समेत नीति कार्यक्रममा उल्लेख छ । 

नीति तथा कार्यक्रमको १६५ वटा बुँदाहरु मध्ये सरकारले १४० बुँदामा प्रदेशको विकासका लागि प्राथमिकतामा राखिएका मन्त्रालयगत क्षेत्रलाई समेट्न खोजेको देखिन्छ । 

नीति तथा कार्यक्रमले आम नागरिकको विकास र सम्बृद्धिको आकांक्षा पुरा गर्ने र समाजवाद उन्मुख अर्थतन्त्रको आधार तयार गर्नेतर्फ केन्द्रित रहेको सरकारको दाबी छ । त्यस्तै रुपान्तरणकारी भौतिक पूर्वाधारको विकास, सार्वजनिक सेवा प्रवाहको प्रभावकारिता अभिबृद्धि र समतामुलक समाज स्थापनाका लागि सामाजिक एवं आर्थिक क्षेत्रमा लगानी विस्तार गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।

सरकारले कोभिड–१९ विरुद्ध रोकथाम, नियन्त्रण र उपचारमा महत्वपूर्ण उपलब्धि हाँसिल गरेको दाबी गरेको छ । हालसम्म प्रदेशको कुल जनसंख्याको ६३ दशमलव ८ प्रतिशतलाई कोभिड विरुद्धको पूर्ण मात्रा खोप र ११ दशमलव २ प्रतिशतलाई अतिरिक्त मात्रा लगाइसकिएको भन्दै प्रगति देखाउन खोजिएको छ ।
प्रदेश सरकारले आगामी आर्थिक बर्षको बजेटलाई कृषि क्षेत्रमा केन्द्रित गर्ने गरी नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।  साथै पशुपंक्षी र माछामा नश्ल सुधार, उन्नत विउ विजनमा किसानको पहुँच वृद्धि, प्राङ्गारिक र जैविक विषादी उत्पादन, माटो सुधार, कृषि तथा पशु धन बीमा, किसान सूचिकरण लगायतका कार्यक्रम सरकारको नीति तथा कार्यक्रममा समेटिएका छन् । 

सरकारले एक पालिका एक उत्पादनको अवधारणा अघि सारेको छ । कृषि तथा पशुपक्षीको व्यवसाय विस्तारका लागि युवा लक्षित कार्यक्रम ल्याएको छ । बढि आयात हुने कृषि उपजहरु धान, मकै, आलु, प्याज, लसुन र फलफूलको उत्पादन वृद्धि गरी आयात प्रतिस्थापनका लागि विशेष कार्यक्रम संचालन गरिने जनाइएको छ ।

साथै प्रदेश सरकारले गौरवको आयोजनामा रुपमा निर्माण गरिरहेको घिनाघाट–विराटचोक सडकलाई चालु आर्थिक बर्षभित्र सम्पन्न गर्ने उल्लेख गरेको छ । मुन्धुम पद मार्गको ८७ किलोमिटर निर्माण सकिएकोले बाँकी काम आगामी बर्षमा अघि बढाइने जनाइएको छ ।
प्रदेश सरकारका मन्त्रालय र कार्यालयलाई अटोमेशन गर्ने, सवारी चालक अनुमति पत्र प्राप्तिको प्रक्रियालाई सहज बनाइने लगायतका बिषय नीति तथा कार्यक्रममा उल्लेख छन् ।

प्रदेशसभामा प्रस्तुत नीति तथा कार्यक्रम भने गोलमटोल कार्यक्रम भएको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले टिप्पणी गरेको छ । पूर्व मुख्यमन्त्री एवं एमाले संसदीय दलका नेता भीम आचार्यले ठोस कार्यक्रम नीति तथा कार्यक्रमले केहिपनि समेट्न नसकेको आरोप लगाए । उनले सवै कुरा गोलमटोल पारेर ल्याइएको बताए । 


‘एक बर्षभित्र कृषिका क्षेत्रमा के गर्ने भन्ने कुरा उल्लेख छैनन्, किसानलाई परेको मार के हो, बाढी पीडितको समस्या के हो भन्ने कुरा कतै देखिदैन’ उनले भने,  ‘पर्यटन विकासका क्षेत्रमा, स्वास्थ्य क्षेत्रमा नीति तथा कार्यक्रमको फोकस नै देखिएको छैन ।’

नेता आचार्यले प्राविधिक शिक्षालाई अघि बढाउनका लागि पनि नीति तथा कार्यक्रम मौन देखिएको दाबी गरे । पहाडी क्षेत्रको विकासमा फलफुल उत्पादन, सिंचाई, नदी नियन्त्रणको बिषय गौण रहेको बताए ।
उनले भने, ‘आकासै हाम्रै हो भन्नेजस्तो गरी नीति तथा कार्यक्रम आएको छ, सबै हामी गर्छौं भन्ने छ तर केहीपनि नगर्ने खालेको आएको छ, युवा परिचालन कार्यक्रम कार्यकर्ता पोस्न र राजश्वलाई अनावश्यक रुपमा खर्च गर्नका लागि ल्याइएको छ, यसले प्रदेशको नोक्सानबाहेक केही गर्दैन ।’

आचार्यले नीति तथा कार्यक्रमले समेटेका क्षेत्रका कार्यक्रम कार्यन्वयन गर्न खर्बौंको बजेटले पनि नपुग्ने बताए । उनले भने, ‘बजेटको स्रोत बढाउने एउटा पनि कार्यक्रम ल्याएको छैन, न आयात प्रतिस्थापनको कार्यक्रम छ, न निर्यात बढाउने कार्यक्रम छ, कही केही पनि छैन ।’


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x