कोशी

प्रदेश १ बजेटमा कांग्रेसकै असन्तुष्टि, माओवादीको एकल सरकारले ल्याएजस्तो भयो : कोइराला

बाबुराम भण्डारी |
असार १, २०७९ बुधबार १९:२८ बजे

फाइल फोटो

विराटनगर- आफ्नै गठबन्धनको सरकारले बुधबार प्रदेशसभामा प्रस्तुत गरेको आर्थिक बर्ष २०७९(८० को बार्षिक बजेट माओवादीकरण भएको कांग्रेसले आरोप लगाएको छ । पाँच दलीय सत्ता गठबन्धनको सबैभन्दा ठुलो दल नेपाली कांग्रेसका संसदीय दलका नेता राजीव कोइरालाले बजेट एउटामात्रै पार्टीको वक्तव्यका रुपमा आएको बताए ।

‘एकल सरकारले बजेट ल्याएजस्तो देखिन्छ’ कोइरालाले भने, ‘लोकप्रियताका लागि बजेटले सबै कुरालाई समेट्न खोजेको देखिएको छ ।’
उनले संविधानमै नभएको जनयुद्धलाई बजेटमा जबरजस्ती रुपमा उल्लेख गरिएको बताए । 


गठबन्धनमा रहेको माओवादी केन्द्रका नेता समेत रहेका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र बहादुर आङ्बोले संविधानमै नभएको जनयुद्धलाई बजेट वक्तव्यमा उल्लेख गरेको कांग्रेसका नेता कोइरालाले आरोप लगाए ।

संविधानमा सशस्त्र द्वन्द्व लेखिएपनि बजेटमा जनयुद्ध भनेर उल्लेख गरिएको उनले बताए । बजेटले सुनसरी र मोरङ जिल्लामा कुनैपनि खालका ठुला योजनाहरु नपरेको उनले दाबी गरे । 

सत्ता गठबन्धनको ठुलो दल भएकोले कांग्रेसले प्रदेश १ को १३ वटा मन्त्रालयमध्ये कांग्रेस एक्लैले पाँच वटा मन्त्रालयको नेतृत्व गरिरहेको छ । सबैभन्दा धेरै मन्त्रीसहित सरकारमा बसिरहेको कांग्रेसले नै बजेट विनियोजनप्रति असन्तुष्टि पोखेपछि बजेट निर्माणमा कांग्रेसतर्फबाट मन्त्रीहरुको भूमिकानै गौण देखिएको अनुमान छ । सरकारको मुख्यमन्त्री भने नेकपा एकीकृत समाजवादीका राजेन्द्र कुमार राई रहेका छन् ।


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x